शिक्षणसँगै कृषि कर्ममा कृष्ण

गुल्मी । दिउँसो स्कूल । बिहान–बेलुका खेतबारीमा । गुल्मीको धुर्कोट गाउँपालिका–३ हाडहाडेका कृष्ण विष्णको दैनिकी निकै व्यस्तताका साथ कट्ने गरेको छ । किनकी उनी शिक्षणसँगै कृषि कर्ममा लागेका छन् । निन्युखर्क माध्यमिक विद्यालयको प्रधानाध्यापक समेत रहेका विष्टले जागिरसँगै कृषि कर्मलाई पनि अगाडी बढाएपछि उनी आजकाल खासै फुर्सदमा छैनन् ।

२०७२ सालबाट शिक्षण पेशा सुरु गरेका विष्टले ०७५ सालमा स्थायी शिक्षकको नियुक्ती बुझे । विगत तीन बर्षदेखि उनी निन्युखर्क माविको प्रधानाध्यापकको जिम्मेवारीमा छन् । तर उनले शिक्षण पेशासँगै गाउँमा उत्पादन पनि गरिरहेका छन् ।

असफलतापछि सफलतातर्फ
भनिन्छ, ‘असफलता नै सफलताको सुरुवात हो ।’ विष्टको जीवनमा यो भनाई लागु भएको छ । उनले साथिहरुसँगको सहकार्यमा २०७६ सालमै हाडहाडेमा खुकुरापालनको सुरुवात गरेका थिए । तर त्यो व्यवसाय सफल भएन् । त्यसपछि उनले २०७९÷८० बाट व्यक्तिगत लगानीमा कुखुरापालन सुरु गरे । त्यसपछि उनले बाख्रापालन पनि सुरु गरे । बाख्रा र कुखुराको मललाई उपयोग गरी टमाटर र खुर्सानी खेती गर्ने सोच बनाए । हाल उनीसँग ५५० बोइलर कुखुरा छन् ।

विष्टले प्रति ४५ देखि ५० दिनमा ५५० कुखुरा बिक्री गर्छन । अहिले प्रतिकेजी २५० रुपैँयामा कुखुरा बिक्री भइरहेका छन् । बार्षिक चार–पटक उनले यसरी कुखुरा बिक्री गरेका छन् । उनीसँग हाल सिरोही, जमुनापारी र खरी जातका गरी ४० वटा बाख्रा छन् । जसमध्ये नौ वटा बोका, पाँचवटा पाठी र अन्य माउँ बाख्रा लगायत साना पाठापाठी रहेका छन् । हाल बोकाको मासु जिउँदो ५५० देखि ६०० रुपँैया प्रतिकेजीमा बिक्री भइरहेको छ । बार्षिक दुई लाखसम्मका बोका उनले बिक्री गरिरहेका छन् । बोकाहरु स्थानीय बजारदेखि बुटबलसम्म बिक्री भइरहेका छन् ।

बाख्रा र कुखुरापालनबाट प्राप्त मललाई उपयोग गर्नको लागि उनले टमाटर र खुर्सानी खेती गरेका छन् । विष्टसँग तीनवटा टनेलमा ३५० टमाटरका बिरुवा छन् । उनले एक हप्तामा प्रतिकेजी सय रुपैँयाका दरले २५ देखि ३० केजीसम्म टमाटर बिक्री गर्दै आएका छन् ।

विष्टले गरेको खुर्सानी खेती पनि हेर्नलायक छ । गत बर्ष उनले एक हजार पाँच सय अकबरे खुर्सानीका बिरुवा लगाएका थिए । जसबाट ४० हजारका खुर्सानी बिक्री गरे । यो बर्ष थप पाँच हजार खुर्सानीका बिरुवाले उत्पादन दिइरहेको छ । खुर्सानी प्रति केजी दुई रुपैँयामा बिक्री भइरहेको छ । उनले स्थानीय बजारका साथै बुटबलसम्म पुगेर खुर्सानी बिक्री गरिरहेका छन् ।

यसरी एकमुष्ट बार्षिक पाँच लाखसम्म बचत हुने विष्ट बताउछन् । ‘सबै काम बराबर हो भन्ने ढंगले सोच्नुपर्छ ।’ उनले भने, ‘कर्ममा बुवाआमा, श्रीमती र छोरीको पनि सहयोग छ ।’ उनलाई कृषि कर्ममा लाग्न जग्गाले पनि साथ दिएको छ । किनकी बसाइसराई गरेका छिमेकीको करिब ५.५ रोपनी जग्गा निःशुल्क पाएको विष्ट बताउछन् ।

उनले विद्यालयमा पनि ‘पढ्दै कमाउदैँ’ कार्यक्रम सुरु गरेका छन् । आफुले गरेको कृषि कर्म र विद्यालयमा सुरु गरेको कृषि कार्यक्रम मिल्दोजुल्दो हुँदा विद्यालयको उत्पादनमा पनि बृद्धि भएको उनको अनुभव छ । ‘स्कूलको बारिमा पनि हामीले मुला, अदुवा लगायतका तरकारी लगाएका छौँ ।’ उनले भने, ‘यो बर्ष च्याउ खेती गर्ने योजना छ ।’ शिक्षक समेत रहेका विष्टले कुनै पनि काम सानो–ठूलो नहुने बताए । ‘काम सबै बराबर हो भन्ने सोचेमा अवश्य सफल भइन्छ ।’ उनले भने ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

शिक्षणसँगै कृषि कर्ममा कृष्ण