धनगढीमा चैतन्य पाठ्शाला जिल्लास्तरीय अन्तरविद्यालय फुटबल हुने

धनगढी । कैलालीको धनगढीस्थित चैतन्य पाठशालाले ‘फुटबल फर स्कुल : रोड टु वर्ल्ड कप’ कार्यक्रमअन्तर्गत जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

प्रतियोगिता आगामी मंसिर २५ देखि पुस ८ गतेसम्म धनगढी रंगशालामा सञ्चालन हुनेछ ।

पाठशालाले मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिता’bout जानकारी गराएको हो । पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीले बालबालिकामा फुटबलप्रतिको रुचि बढाउने, प्रतिभावान् खेलाडी पहिचान गर्ने तथा विद्यालयस्तरबाटै फुटबलको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।

प्रतियोगिता सञ्चालनका लागि कैलाली जिल्ला फुटबल संघ र चैतन्य पाठशालाबीच १४ वर्षमुनिका छात्रछात्राको जिल्लास्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने सम्बन्धमा सम्झौतापत्रमा हस्ताक्षरसमेत भएको छ । सम्झौतापत्रमा पाठशालाका तर्फबाट प्राचार्य प्रेमनिधि ओझा र संघका अध्यक्ष अनिल मल्लले हस्ताक्षर गरेका छन् ।

दुवै संस्थाबीचको सहकार्यले जिल्लामा विद्यालयस्तरीय फुटबलको विकास र छात्रछात्राको खेल सहभागिता बढाउन सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ ।

प्रतियोगितामा छात्र र छात्रातर्फ १६/१६ गरी कुल ३२ टोली सहभागी हुनेछन् । प्रत्येक टोलीमा अतिरिक्त खेलाडीसहित २० खेलाडी रहनेछन् भने प्रशिक्षक, व्यवस्थापक र फिजियोथेरापिस्टसहित एक टोलीमा २३ जना रहने आयोजकले जनाएको छ ।

प्रतियोगितामा ३२ टोलीका अफिसियलसहित ७३६ जनाको प्रत्यक्ष सहभागिता रहनेछ । प्राविधिक तथा व्यवस्थापनतर्फका जनशक्तिसमेत जोड्दा खेलाडी, अफिसियल र रेफ्री गरी ७५० भन्दा बढीको सहभागिता रहने आयोजकको भनाइ छ ।

प्रतियोगितामा प्रथम हुने टोलीले एक लाख रुपैयाँ र द्वितीय हुने टोलीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्रसमेत प्रदान गरिनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 16 times, 1 visits today)

epaper

ताजा समाचार

रसुवा बाढी प्रभावित १ हजार ५० जना अझै होल्डिङ सेन्टरमा