सेती अस्पतालको ३०० मिटरभित्रका निजी स्वास्थ्य संस्थामाथि कडाइ

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाको ३०० मिटर वरिपरि सञ्चालनमा रहेका निजी स्वास्थ्य संस्थामाथि कडाइ गर्ने भएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य सेवा ऐन, २०७६ को व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य निर्देशनालयलाई तत्काल प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ ।

ऐनअनुसार सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाको परिसरबाट ३०० मिटरभित्र निजी अस्पताल, क्लिनिक, पोलिक्लिनिक, नर्सिङ होम, प्रयोगशालालगायत स्वास्थ्यसम्बन्धी निजी व्यवसाय सञ्चालन गर्न पाइँदैन ।

तर धनगढीस्थित सेती प्रादेशिक अस्पताल आसपासमै दर्जनौँ निजी स्वास्थ्य संस्था सञ्चालनमा छन् । तीमध्ये कतिपयले आवश्यक अनुमति नलिएको पाइएको छ ।

स्वास्थ्य कार्यालय कैलालीले यसअघि पनि अस्पताल आसपास अनुमति नलिई सञ्चालनमा रहेका स्वास्थ्य संस्थालाई कानुनी दायरामा ल्याउन पहल गरेको थियो । तर ऐनको व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेपछि मन्त्रालयले पुनः कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

अब सेती अस्पताल आसपासमा मात्रै नभई कैलालीसहित सुदूरपश्चिमका अन्य सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाको ३०० मिटर क्षेत्रभित्र सञ्चालनमा रहेका निजी स्वास्थ्य संस्थाको वैधानिकता जाँच र अनुगमन गरिने भएको छ ।

अनुगमनका क्रममा अनुमति नलिई सञ्चालनमा रहेका वा कानुनविपरीत सञ्चालन भएका स्वास्थ्य संस्थामाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

सेती अस्पतालको ३०० मिटरभित्रका निजी स्वास्थ्य संस्थामाथि कडाइ