दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं । आज विजयादशमी । निधारमा रातो टीका र शिरमा पहेँलो जमरा सिउरिएर आफन्तको हातबाट आशीर्वाद थाप्ने दिन । घरआँगन आफन्तले भरिएका छन् । कोही टीका र जमरा लगाएर तस्बिर खिचिरहेका छन्, कोही सामाजिक सञ्जालमा खुसी साटिरहेका छन् । कतै पिङको मच्चाइ छ । धेरैका लागि दशैँ उमंग, भेटघाट र मीठोमसिनो खाने पर्व बनेको छ । गाउँबस्ती र सहरका टोल टोलमा दशैँका गीत गुञ्जिरहेका छन् ।

‘आउँथ्यो दशैँ आउन त पहिला नि,
यस्तो मज्जा भा’थे’न कहिल्यै नि…’

गायक हेमन्त शर्मा र गायिका मेलिना राईको स्वरमा रहेको यो गीतमा ‘लिपसिङ’ मिलाउँदै टिकटकमा रमाउनेहरू पनि कम छैनन् । तर ठीक यसको उल्टो, ‘यस्तो नमज्जा कहिल्यै भएको थिएन’ भन्ने अवस्था यसपाली भोटेकोशी बाढीपीडितले भोग्नुप¥यो । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण घरबार गुमाएका र आफन्त गुमाउनेहरूका लागि यस वर्षको दशैँजस्तो पीडादायी दशैँ सायद पहिला कहिल्यै भएन होला ।

आज दशैँको टिका, कसैका निधारमा रातो टीका टल्किएको छ, कतै प्रियजनको सम्झनाले आँखा रसाएका छन् । कतै आफन्तको हातबाट टिका जमरा लगाउँदै आशिर्वाद लिन भ्याईनभ्याई छ होला । तर कतिको आशिर्वाद दिने आफन्त नै बाढीले बगायो । बाढीका कारण वेपत्ता हुने आफन्तको कहिकतैबाट फर्कि पो आउने हुन् कि भन्ने प्रतिक्षा गर्न पनि छाडेको छैन मन । कतै घरमा दशैँको रौनक छ, कसैको घर नै छैन । कतै गाउँमा रमझम बढिरहेको बेलामा कतै गाउँ नै बगर बनेको छ ।

विनाशकारी बाढीले घरबार र सम्पत्ति मात्र बगाएन । त्योभन्दा पिडादायी परिवारका सदस्य र आफन्त गुमादा भयो । बाढी गएदेखि नै कयाँै प्रभावित परिवारलाई पीडा बिर्सन मुस्किल भएको छ । वर्षदिनमा एकपटक आउने दशैँले समेत उनीहरूको मनमा खुसी फर्काउन सकेन ।

नुवाकोटको विदुर नगरपालिका–१० का वडाध्यक्ष गणेशकुमार नेपाललाई यस वर्षको दशैँले विगतका वर्षभन्दा बढी पीडा दिएको छ । बाढीले प्रभावित परिवारका घर, सम्पत्ति र आफन्त खोसिएका छन् । यस्तो अवस्थामा टीका लगाउने र उत्सव मनाउने कुरा उनीहरूका लागि निकै परको विषय बनेको छ ।

‘यहाँ न बस्ने घर छ, न अलिअलि गरेर जोडेको सम्पत्ति छ, न आफ्ना प्रियजन छन् । दशैँमा टीका लगाउने त कुरै भएन,’ उनी भन्छन्, ‘टीका लगाउन मिल्नेहरूलाई पनि खुसी छैन । सामाजिक सञ्जालमा देखिने तस्बिरले मात्रै दशैँ आएछ भन्ने थाहा हुन्छ । यहाँ त केही छैन् । दशैँ आएको हो कि होइन भन्ने पत्तै हुँदैन ।’

दशैँमा घर फर्किने, आफन्तसँग भेटघाट गर्ने र मीठोमसिनो खाने चाहना सबैको हुन्छ । तर, घर नै नरहेपछि र आफ्ना मान्छे नै गुमाएपछि पर्वको अर्थसमेत फेरिएको महसुस भएको छ वडाअध्यक्ष नेपाललाई । अरूका घरमा टीका र जमराको रौनक देख्दा आफ्नै विगत सम्झिएर मन भक्कानिएको छ उनको ।

विदुर नगरपालिकाकै वडा नं ११ मा बाढीको प्रत्यक्ष प्रभाव खासै परेन । तर, छिमेकी वडाका बासिन्दाले भोगेको पीडाले त्यहाँका स्थानीयको मन पनि दुखाएको छ । आफ्नो घर सुरक्षित रहेपनि छिमेकीको घर उजाडिएको र आफन्त गुमाएको दृश्यले दशैँको उत्साह घटाएको वडाध्यक्ष बाबुराम तामाङ बताउँछन् ।

‘गत वर्ष पिङ खेल्ने, बाजा बजाउने, नाचगान गर्ने, आफन्त भेट्ने, मिठा खाने र राम्रा लुगा लगाउने गरिन्थ्यो । दशैँको रौनक नै अर्कै हुन्थ्यो,’ उनी भन्छन्, ‘यस वर्ष त छिमेकीलाई परेको पीडा देखेर हाम्रोमा पनि दशैँको उत्साह छैन ।’

दशैँ आफन्तसँगको भेटघाट र आपसी सद्भावको पर्व हो । त्यसैले आफ्नो छिमेकीको आँसु देखेर रमाउन सकिँदैन । यस वर्ष विदुर–११ का बासिन्दाले पनि त्यही अनुभूति गरिरहेका छन् । बाढीले प्रत्यक्ष क्षति नपु¥याएको बस्तीमा समेत दशैँको उल्लास पहिले झैँ फर्किन सकेको छैन ।

रसुवाको उत्तरगया गाउँपालिका–५ का बासिन्दा बासुदेव लामिछानेले जीवनका छ दशक पार गरिसक्दा पनि अहिलेको जस्तो पीडादायी दशैँ कहिल्यै अनुभव गरेका थिएनन् । बाढीले आफन्त र गाउँले गुम्यो । उनको सम्पत्ति बगायो । गाउँले र आफन्तसँगको पुरानो सामीप्य पनि बाढीसँगै हराएको छ ।

‘आफ्नो सम्पत्ति सबै बगायो । आफन्त छैनन्, गाउँले छैनन् । दुई महिना बित्न लाग्दा पनि हामी शोकमै छौँ,’ उनी भन्छन्, ‘ओहो, आज टीका पो रहेछ भन्ने लाग्छ । दशैँ आएको हो कि गएको हो, त्यसको महत्व नै छैन ।’

विगतका वर्षमा दशैँ नजिकिँदै गर्दा घरआँगन सफा गर्ने, नयाँ लुगा किन्ने, आफन्तलाई बोलाउने र टीकाको तयारी गर्ने चटारो हुन्थ्यो । यस वर्ष भने लामिछानेका लागि ती सबै सम्झनामा सीमित भयो । उनलाई आफ्नो ठाउँमा फेरि पहिलेजस्तै रमझमसहित दशैँ फर्किएला कि नफर्किएला भन्ने चिन्ताले पनि सताएको छ ।

उत्तरगया गाउँपालिकाकै अर्का स्थानीय सपना तामाङलाई पनि यसपटक दशैँ आएको अनुभूतिसमेत हुन सकेको छैन । विगतमा खुसी र उल्लास बोकेर घरभित्रिने दशैँ यस वर्ष पीडा र विछोडका सम्झना लिएर आएको उनको अनुभव छ । चाडपर्वले विगतका सुखद क्षण सम्झाउँछन्, तर त्यही सम्झनाले प्रियजन गुमाएकाहरूको घाउ थप बल्झाउँछ ।

बाढीको प्रत्यक्ष मारमा परेका परिवारको पीडा आफ्नै ठाउँमा छ । तर, घर सुरक्षित रहेकाहरूका लागि पनि यस वर्षको दशैँ सहज छैन । कुनै समय सँगै चाडपर्व मनाएका छिमेकी नहुँदा गाउँबस्ती नै सुनसान बनेको छ । एकै ठाउँमा हुर्किएका, दुःखसुख साटेका र वर्षौंदेखि दशैँमा भेटघाट गर्दै आएका मानिसहरू नहुँदा चाडको रौनक हराएको छ ।

गोरखाको पालुङटार नगरपालिका–५ मा पनि यस वर्ष विगतका दशैँमा जस्तो चहलपहल छैन । घरआँगनमा आफन्त भेला हुने र गाउँमा चाडपर्वको उल्लास छाउने क्रम कमजोर बनेको छ । गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले यहाँका ३० जना छिमेकीको ज्यान लिएपछि गाउँलेहरू अझै शोकबाट बाहिर निस्कन सकेका छैनन् ।

रसुवाको गोसाइँकुण्ड यात्राका लागि ३६ यात्रु बोकेर गएको ग २ ख ११५२ नम्बरको पृथ्वी यातायातको बस बाढीमा बग्दा छ जना मात्रै सकुशल रहेका थिए । एउटै घटनामा ठूलो संख्यामा छिमेकी गुमाउनुपर्दाको पीडा पालुङटार–५ का बासिन्दाका लागि अझै ताजा छ ।

यस वर्ष गाउँमा दशैँको टीका थाप्ने, जमरा लगाउने र आफन्तसँग भेटघाट गर्ने चहलपहल नभएको बताउँछन् सोही वडाका वडाध्यक्ष दीपक पाण्डे । ‘यसपटक पहिलाको जस्तो दशैँको टीका थाप्ने, जमरा लगाउने र आफन्त भेटघाटको चहलपहल नै छैन,’ उनी भन्छन् ।

दशैँमा गाउँ फर्किनेहरूका लागि घर मात्र गन्तव्य हुँदैन, त्यहाँ भेटिने आफन्त, छिमेकी र साथीभाइ पनि उत्तिकै प्रिय हुन्छन् । तर, यसपटक पालुङटारका धेरै बासिन्दाका लागि घरमै बसेर पनि आफ्ना मान्छे भेट्न पाउने अवस्था छैन । सँगै दशैँ मनाउनेहरू नै नरहेपछि चाडपर्वको खुसी नै छैन ।

दशैँको टीका निधारमा लगाइने रङ मात्रै नभएर आफन्तबीचको सम्बन्ध, माया र आशिर्वादको प्रतीक पनि हो । त्यसैले प्रियजन गुमाएका परिवारका लागि टीका र जमराभन्दा उनीहरूसँग बिताएका पुराना क्षणको सम्झना बढी गहिरो बनेको छ ।

एकातिर देशभर दशैँको रौनक छ । सामाजिक सञ्जालमा टीका र जमराका तस्बिर छरिएका छन् । अर्कातिर, बाढी प्रभावित बस्तीका धेरै घरमा शोकको सन्नाटा छ । उनीहरूका लागि यसपटक दशैँ आएको छ, तर दशैँको खुसी आएको छैन । यस वर्षको दशैँले यही फरक फरक अनुभूति उजागर गरेको छ– कतै रौनक छ, कतै सुनसान ।
(रासस)

तपाइको प्रतिक्रिया
(Visited 6 times, 1 visits today)

epaper

ताजा समाचार

दशैँको टीका : कतै रौनक, कतै सुनसान