हिमशिखर सहकारीको १८औँ साधारणसभा सम्पन्न, सम्पत्ति एक अर्बभन्दा बढी पुग्ने अनुमान

धनगढी । कैलालीको धनगढीमा मुख्य कार्यालय रहेको हिमशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार धनगढीमा आयोजित साधारणसभामा संस्थाको आर्थिक अवस्था, प्रगति, भावी योजना तथा सदस्यकेन्द्रित सेवा प्रवाहका विषयमा समीक्षा गरिएको छ ।

साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष रोशन सिंहले स्थापनाकालदेखि नै सहकारीले सदस्यहरूको आर्थिक, सामाजिक तथा व्यावसायिक विकासमा योगदान पुर्‍याउँदै आएको बताए । सदस्यकेन्द्रित वित्तीय तथा गैरवित्तीय सेवा प्रवाहका कारण संस्थाप्रति सदस्यहरूको विश्वास र आकर्षण बढ्दै गएको उनको भनाइ थियो ।

अध्यक्ष सिंहले आगामी चार वर्षका लागि प्राप्त नेतृत्वको जिम्मेवारीलाई सम्मान गर्दै संस्थाको हित र दिगो विकासका लागि इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे । सहकारीलाई सुशासित, पारदर्शी, जवाफदेही र विश्वासिलो संस्थाका रूपमा स्थापित गर्नु वर्तमान सञ्चालक समितिको मुख्य लक्ष्य रहेको उनले बताए ।

सभामा संस्थाका व्यवस्थापक महेन्द्र शाहीले आर्थिक वर्ष २०८२/०८३ को वित्तीय विवरण र आगामी आर्थिक वर्ष २०८३/०८४ को अनुमानित विवरण प्रस्तुत गरेका थिए ।
उनका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा संस्थाको कुल सम्पत्ति ९७ करोड ८३ लाख ३६ हजार रुपैयाँ रहेको छ । आगामी आर्थिक वर्षमा उक्त सम्पत्ति बढेर एक अर्ब पाँच करोड ४१ लाख ११ हजार रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।

त्यस्तै, संस्थाको शेयर पुँजी अघिल्लो आर्थिक वर्षको तुलनामा ४५ लाख ५३ हजार ९५८ रुपैयाँले वृद्धि भई पाँच करोड ११ लाख ८८ हजार २५८ रुपैयाँ पुगेको छ । सोही अवधिमा संस्थाको कुल बचत निक्षेप ७० करोड २९ लाख ४६ हजार रुपैयाँ र कुल आम्दानी एक करोड २० लाख ४६ हजार रुपैयाँ रहेको व्यवस्थापक शाहीले जानकारी दिए ।

साधारणसभाका अवसरमा सहकारीको विकास, व्यवस्थापन र प्रवर्द्धनमा योगदान पुर्‍याउने कर्मचारी, पत्रकार तथा उत्कृष्ट सदस्यहरूलाई सम्मान गरिएको छ ।

उत्कृष्ट कर्मचारीका रूपमा अत्तरिया शाखामा कार्यरत कर्जा सहायक लव शाहलाई पाँच हजार १५५ रुपैयाँ नगदसहित प्रशंसापत्र प्रदान गरिएको छ । त्यस्तै, सहकारी क्षेत्रको प्रवर्द्धनमा पत्रकारितामार्फत योगदान पुर्‍याएको भन्दै पत्रकार हरिप्रसाद जोशीलाई पनि नगदसहित सम्मान गरिएको संस्थाले जनाएको छ ।

ज्येष्ठ सदस्य सम्मानअन्तर्गत धनगढी उपमहानगरपालिका–४ का खेमबहादुर देउवा, गौरीगंगा नगरपालिका–८ का डमरबहादुर देउवा र कैलारी गाउँपालिका–४ का ठागुराम थारु सम्मानित भएका छन् ।

त्यसैगरी, उत्कृष्ट बचतकर्ताका रूपमा धनगढी उपमहानगरपालिका–४ का राजेन्द्र वनजाडे, गोदावरी नगरपालिका–१ का डबल चौधरी, गौरीगंगा नगरपालिका–८ की झुपा खत्री र कैलारी गाउँपालिका–५ का कालुराम चौधरीलाई सम्मान गरिएको छ ।

असल ऋणी सदस्यका रूपमा धनगढी उपमहानगरपालिका–१ का प्रकाश नेपाली, गोदावरी नगरपालिका–२ का विवेक ढुंगेल, गौरीगंगा नगरपालिका–८ की बजारी कुमारी चौधरी र कैलारी गाउँपालिका–५ की फिरुदेवी चौधरी सम्मानित भएका छन् । कार्यक्रममा संस्थाका उपाध्यक्ष विमल जोशीले स्वागत मन्तव्य राखेका थिए भने सचिव वसन्ती भण्डारीले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

साधारणसभामा संस्थाका विभिन्न शाखामा कार्यरत कर्मचारी, शेयर सदस्य, ऋणी तथा सहकारीसँग आबद्ध सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 15 times, 1 visits today)

epaper

ताजा समाचार

एक–दुई न्यायाधीशलाई महाभियोग लगाउँदैमा न्यायालयमा सुधार आउँदैनः राजेन्द्र लिङ्देन