उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

सियोल । उत्तर कोरियाले बुधबार आफ्नो पूर्वी तटबाट समुद्रतर्फ अज्ञात क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । अमेरिकासँगको सम्भावित कूटनीतिक संवाद र ह्याकिङसम्बन्धी आरोपबीच प्योङयाङले हतियार परीक्षणलाई निरन्तरता दिएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग संवाद पुनः सुरु गर्ने इच्छा व्यक्त गनरेपछि प्योङयाङले अमेरिकासँगको सम्भावित वार्तामा आफ्नो प्रभाव बढाउन हतियार परीक्षण तीव्र पारेको विश्लेषण गरिएको छ ।

विश्वकै ठूलो क्रिप्टोकरेन्सी विनिमय मञ्च बाइनान्समा छ अर्ब अमेरिकी डलरभन्दा बढीको चोरीमा उत्तर कोरियाली ह्याकर संलग्न रहेको अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) को आरोपलाई उत्तर कोरियाले अस्वीकार गरेको छ । एफबीआईले उक्त आक्रमणलाई गत वर्ष बाइबिटमा एक अर्ब ५० करोड अमेरिकी डलर चोरी गरेको आरोप लागेको ‘ट्रेडरट्रेटर’ समूहसँग जोडेको छ ।

उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले अमेरिकी आरोपलाई वासिङ्टनको शत्रुतापूर्ण नीतिको निरन्तरताका रूपमा आलोचना गरेकी छिन् । उनले त्यस्ता व्यक्तिसँग वार्ता गर्न आवश्यक नरहेको बताउँदै संवादले राष्ट्रिय हित पूरा नगर्ने धारणा व्यक्त गरेकी छिन् ।

उत्तर कोरियाले पछिल्लो समय ब्यालेस्टिक तथा हाइपरसोनिक क्षेप्यास्त्र, आक्रमणकारी ड्रोन र क्लस्टर बम परीक्षण गरेको छ । मंगलबार परीक्षण गरिएको नयाँ क्लस्टर वारहेडले पाँचदेखि छ हेक्टर क्षेत्र नष्ट गर्न सक्ने प्योङयाङको दाबी छ ।

यसैबीच, सेप्टेम्बरमा सीमाक्षेत्रमा बारुदी सुरुङ विस्फोट हुँदा दक्षिण कोरियाका तीन सैनिक घाइते भएपछि दुई कोरियाबीचको तनाव पनि बढेको छ । सियोलले उत्तर कोरियामाथि सैन्य सीमांकन रेखाको दक्षिणतर्फ सुरुङ बिछ्याएको आरोप लगाउँदै माफी माग्नुपर्ने बताएको छ । प्योङयाङले भने जिम्मेवारी अस्वीकार गर्दै प्रतिकारको चेतावनी दिएको छ । उसले सीमामा प्रचारात्मक लाउडस्पीकर प्रसारण पुनः सुरु गर्ने र नयाँ हतियार तैनाथ गर्ने धम्कीसमेत दिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 22 times, 1 visits today)

epaper

ताजा समाचार

मन्त्रिपरिषद बैठक सुरु