जेरुसेलम । इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन कमजोर देखिएको छ । एक्जिट पोलले उनका प्रतिद्वन्द्वीलाई तुलनात्मक रूपमा बलियो देखाए पनि कुनै पक्षले स्पष्ट बहुमत प्राप्त गर्ने संकेत नदेखिएकाले नयाँ सरकार गठनमा अन्योल बढेको छ ।
नेतान्याहुको लिकुड पार्टीले सबैभन्दा बढी मत प्राप्त गरेको देखिए पनि उनको धार्मिक तथा राष्ट्रवादी गठबन्धनले संसदमा ५० देखि ५१ सिट मात्र जित्ने अनुमान छ । पूर्वसेना प्रमुख गदी आइसेनकोटको नेतृत्वमा रहेको विपक्षी समूहले ५१ देखि ५२ सिट प्राप्त गर्न सक्ने एक्जिट पोलको आकलन छ । संसदमा बहुमतका लागि १२० मध्ये ६१ सिट आवश्यक पर्छ । अरब नेतृत्वका दलहरूले १९ सिट प्राप्त गर्न सक्ने अनुमान गरिएकाले सरकार गठनमा उनीहरूको भूमिका निर्णायक हुनसक्छ ।
निर्वाचन समितिका अनुसार लिकुडले २३.३६ प्रतिशत र आइसेनकोटको याशर पार्टीले १५.७४ प्रतिशत मत प्राप्त गरेका छन् । अन्तिम आधिकारिक परिणाम यसै साताको अन्त्यसम्म आउने अपेक्षा छ । नेतान्याहुले अरब दलहरूको समर्थनमा सरकार नबनाउने अडान दोहो¥याएका छन् भने आइसेनकोटले निश्चित सर्तमा सहकार्य गर्न सकिने संकेत दिएको छ । सहमति नजुटे लामो राजनीतिक वार्ता वा पुनः निर्वाचनको अवस्था आउनसक्छ ।
निर्वाचन अभियानमा प्यालेस्टिनी राज्यको विषयले कम प्राथमिकता पाएको थियो । प्रमुख उम्मेदवारहरूले अवरुद्ध शान्ति प्रक्रिया अघि बढाउने प्रस्ताव गरेनन् । सन् २०२१ मा इजरायली सरकारको गठबन्धनमा सहभागी हुने पहिलो अरब नेतृत्वको दल रामका नेता मन्सुर अब्बासले पनि अरब समुदायमा बढ्दो अपराध र सुरक्षालाई चुनावी मुद्दा बनाएका थिए ।
सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणमा एक हजार दुई सय जनाको मृत्यु हुनु र २५१ जना बन्धक बनाइनुले पनि निर्वाचनलाई प्रभावित गरेको छ । नेतान्याहुका आलोचकहरूले सुरक्षा विफलताको जिम्मेवारी लिनुपर्ने र स्वतन्त्र छानबिन आयोग गठन गर्नुपर्ने माग गरेका छन् । उनका समर्थकहरूले भने गाजा, लेबनान र इरानसँगका युद्धमा हासिल उपलब्धिको प्रशंसा गरेका छन् ।
अति परम्परावादी यहुदी पुरुषलाई सैनिक सेवाबाट दिइँदै आएको छुट पनि प्रमुख चुनावी मुद्दा बनेको छ । तीन वर्षदेखि जारी युद्धका कारण यस्तो छुटप्रति असन्तुष्टि बढेको छ । गाजाको युद्धमा छोरा र दुई भतिजा गुमाएका आइसेनकोटले सैनिक सेवासम्बन्धी छुट अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् । एक्जिट पोलले अति परम्परावादी यहुदी दलहरूको समर्थन घटेको देखाएको छ ।
इजरायलको केन्द्रीय निर्वाचन समितिका अनुसार यसपटक ७७.७ प्रतिशत योग्य मतदाताले मतदान गरेका छन् । यो सन् १९९९ यताकै उच्च सहभागिता हो र सन् २०२२ को निर्वाचनको तुलनामा सात प्रतिशतभन्दा बढी हो ।
सम्बन्धित समाचार
पाकिस्तानमा विद्यालयको छाना खस्दा कम्तीमा ३३ विद्यार्थी र एक शिक्षकको मृत्यु
मंगल ग्रहको माटो’bout नयाँ अध्ययन, विस्तृत नक्सा तयार
शरद ऋतुमा बगैँचा सफा गर्दा के राख्ने, के हटाउने ?
अमेरिकाले युक्रेनका लागि मिसाइल रोकेको जेलेन्स्कीको आरोप
साउदी अरबमा भएको ड्रोन आक्रमणमा एक नेपाली कामदारसहित दुई जनाको मृत्यु
इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण
फ्रान्समा आजको प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन गरिने
ब्राजिलमा चौथो कार्यकालका लागि लुलाको जित, प्रतिद्वन्द्वी बोल्सोनारोद्वारा पराजय अस्वीकार






