सहिदकी छोरीको जन्मदिनमा घरमै पुग्यो गोल्याण फाउण्डेशन

काठमाडौं । स्कुलबाट घर फर्किएकी सलोनी सुवेदी आफ्नो कोठामा पस्दा अचम्ममा परिन् । जन्मदिनको अवसरमा बेलुनले सजिएको कोठा, बर्थडे ब्यानर र केकले उनलाई पर्खिरहेका थिए । अझ सरप्राइज त त्यतिबेला भयो, जब उनले आफ्नो जन्मदिनको शुभकामना दिन गोल्याण ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्याण र गोल्याण फाउण्डेशनकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति गैह्रेसहितको टोलीलाई आफ्नै कोठामा देखिन् ।

शिक्षाको जिम्मेवारीसँगै सुख–दुःखमा पनि साथ

‘ह्याप्पी बर्थडे सलोनी !’

शुभकामनासँगै कोठा हाँसो र खुसीले भरियो । सलोनीका लागि यो जन्मदिनको सामान्य उत्सव थिएन । उनको पढाइको जिम्मेवारी लिएको गोल्याण फाउण्डेशनले उनको व्यक्तिगत खुसीमा समेत आफूलाई जोडेको थियो । जन्मदिनमा उनलाई नयाँ स्टडी टेबल पनि उपहार दिइयो ।

सलोनी जेनजी आन्दोलनका सहिद देवकुमार सुवेदीकी छोरी हुन् । गोल्याण फाउण्डेशनले उनीसहित सहिदका ३१ सन्तानको शिक्षाको जिम्मेवारी लिएको छ । फाउण्डेशनले शैक्षिक सहयोगमा मात्र सीमित नरही उनीहरूका जीवनका विशेष अवसरमा पनि साथ दिँदै आएको छ ।

सलोनीले फाउण्डेशनकी सीईओ गैह्रेलाई ‘दिदी’ भनेर बोलाउँछिन् । यसअघि घर र विद्यालयमा उनीहरूको भेट भए पनि हरेकपटक पूर्वजानकारी हुने गरेको थियो । यसपटक भने फाउण्डेशनको टोलीले कुनै जानकारी नदिई जन्मदिनको सरप्राइज दिएको थियो ।

‘दिदी, मलाई थाहै नदिई किन आउनुभएको ?’ सलोनीले सोधिन् ।

गैह्रेले हाँस्दै भनिन्, ‘पहिल्यै भनेर आएको भए त सरप्राइज नै हुँदैनथ्यो नि !’

सलोनीकी आमा पार्वती अधिकारी कामको सिलसिलामा सर्लाही गएकाले जन्मदिनमा उपस्थित हुन सकिनन् । तर, ठूलीआमा मुना अधिकारीले घरमा आएको खुसीलाई नजिकबाट नियालिरहेकी थिइन् । ‘यसअघि नानीको जन्मदिन यति राम्रोसँग मनाएकै थिएनौं,’ उनले भनिन्, ‘आज साह्रै खुसी लाग्यो ।’

फाउण्डेशनले यसअघि पनि सहिदका सन्तानको जन्मदिनमा घरमै पुगेर खुसी साटेको थियो । गत जेठमा सलोनीका साथी सोनिया विश्वकर्मा र सुवोध भट्टको जन्मदिन पनि उनीहरूकै घरमा पुगेर मनाइएको थियो ।

फाउण्डेशनका अनुसार सहिदका ३१ सन्तानलाई कक्षा १२ सम्मको शिक्षाका लागि शैक्षिकवृत्ति उपलब्ध गराइएको छ । उनीहरूको शिक्षामा फाउण्डेशनले वार्षिक ४ लाख ८० हजार रुपैयाँसम्म खर्च व्यहोर्छ । यसबाहेक सहिदका ४४ बुवाआमालाई वार्षिक १० लाख रुपैयाँको स्वास्थ्य बीमा पनि उपलब्ध गराइएको छ ।

‘सहिदका सन्तानको शिक्षा र अभिभावकको स्वास्थ्यमा गरेको सहकार्यले हामीलाई एउटै परिवार बनाएको छ,’ गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याण भन्छन्, ‘त्यसैले उहाँहरूको सुख–दुःखमा सँगै हुन चाहन्छौं ।’

फाउण्डेशनकी सीईओ गैह्रे शिक्षा सहयोगलाई शैक्षिक खर्चमा मात्र सीमित नराखी सहिदका सन्तानको सुख–दुःखमा समेत साथ दिने प्रयास भइरहेको बताउँछिन् । ‘उनीहरूले आफूलाई एक्लो महसुस नगरून् र हरेक विशेष क्षणमा हामीलाई आफ्नो परिवारको सदस्यका रूपमा सम्झिऊन् भन्ने हाम्रो चाहना हो,’ उनले भनिन्, ‘सलोनीको जन्मदिनमा घरमै पुगेर खुसी साट्नु पनि त्यही आत्मीयताको एउटा सानो प्रयास हो ।’

तपाइको प्रतिक्रिया
(Visited 8 times, 1 visits today)

epaper

ताजा समाचार

पक्राउको जानकारी गृहमन्त्रीको फेसबुकबाट