इलाम । त्रिभुवन आर्मी फुटबल क्लब दोस्रो झापा महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । चन्द्रा भण्डारी र हेमा चौधरीको ह्याट्रिकसहित आर्मीले भारतीय टोली गयेसपुर वुमन फुटबल एकेडेमीलाई १०–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो ।
आर्मीको सानदार जितमा चन्द्रा भण्डारी र हेमा चौधरीले समान तीन तथा सुक्रिया मियाले दुई गोल गरिन् । जेनिफर राना मगर र दिपा शाहीले एक–एक गोल थपे । खेलको पाँचौँ मिनेटमा चन्द्रा भण्डारीले गोल गर्दै आर्मीलाई अग्रता दिलाइन् । १६औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेकी चन्द्राले ४३औँ मिनेटमा ह्याट्रिक पूरा गरिन् ।
१८औँ मिनेटमा हेमा चौधरीले गोल गर्दै आर्मीको अग्रता बढाइन् । ३३औँ मिनेटमा सुक्रिया मियाले गोल गरिन् । ४४औँ मिनेटमा हेमाले व्यक्तिगत दोस्रो गोल थपिन् । पहिलो हाफको अतिरिक्त समयमा सुक्रियाले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई ७–० को अग्रता दिलाइन् ।
दोस्रो हाफको पहिलो मिनेटमै गोल गर्दै हेमाले पनि ह्याट्रिक पूरा गरिन् । ७९औँ मिनेटमा जेनिफर राना मगर र ८९औँ मिनेटमा दिपा शाहीले गोल गरेपछि आर्मीले १०–० को फराकिलो जित निकाल्यो । प्रतियोगितामा यो दोस्रो ह्याट्रिक हो । यसअघि पहिलो खेलमा झापाकी सजिना स्याङ्ताङले ह्याट्रिकसहित चार गोल गरेकी थिइन् ।
खेलको प्लेयर अफ द म्याच आर्मीकी चन्द्रा भण्डारी घोषित भइन् । उनले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् । शनिबार भएको पहिलो खेलमा पनिे झापा–११ फुटबल क्लबले आरएस पोखरा फुटबल क्लबलाई १०–० ले हराउँदै सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
सोमबार हुने तेस्रो क्वार्टरफाइनलमा सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लब र भुटानको थिम्पु राभेन वुमन एफसीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले पाँच लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
त्यस्तै, उत्कृष्ट खेलाडीले एक लाख ५० हजार तथा उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्डर, सर्वाधिक गोलकर्ता र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पाउनेछन् ।
सम्बन्धित समाचार
एनपीएलमा पोखरा एभेन्जर्सको पहिलो जित
सुर्खेतमा दसौँ राष्ट्रिय खेलकुदका २३ खेल हुने
यु-१९ एसिया कप क्रिकेट: नेपाल पाकिस्तानसँग पराजित
एनपीएल : आज पोखरा एभेन्जर्स र विराटनगर किङ्स तथा कर्णाली याक्स र लुम्बिनी लायन्स भिड्दै
एनपीएल : प्लेअफ रेसबाट बाहिरियो पोखरा, विराटनगरको जित
सुदूरपश्चिम रोयल्स प्लेअफमा पुग्ने दोस्रो टोली
चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो
काठमान्डुलाई ६१ रनले हराउँदै चितवन दोस्रो क्वालिफायरमा, अब सुदूरपश्चिमसँग खेल्ने






