कोरोना महामारीको संक्रमण बढ्दै गइरहेको छ । तर देशभर अपनाउनुपर्ने संक्रमण सतर्कतामा निकै लापर्बाही हुँदै गएको देखिन्छ । मानिस स्वेच्छाले चल्न र गतिविधि गर्न चाहेको देखिन्छ । तर, महामारीले भने सिंगो समाजलाई गाँज्दै लगिरहेको छ । सरकार र सरकारी संयन्त्रहरूले अपनाउन चाहेको सुरक्षा सतर्कता र व्यवस्थापन आमजनताको चाहना र भोगाइभन्दा फरक अनुभूत हुन थालेको देखिन्छ । त्यसैले पनि संक्रमणविरुद्ध चालिएका राज्यका नीति र विधि जनताका लागि वस्तुसंगत र सुपाच्य हुन नसकी उल्टै अन्तरविरोधी बनिरहेका छन् । कतै महामारीले भन्दा पनि सरकारले नै जनतामाथि महामारी संक्रमण रोक्ने नाममा केही जबर्जस्ती लाद्न पो खोजेको हो कि भन्नेजस्तो भान हुनु निकै दुःखद र अबुझ कुरा हो । कोरोना महामारी आफैंमा हामी सबैको साझा दुस्मन हो । यसले विश्वको सिंगो मानव जातिमाथि नै आक्रमण गर्दै आएको छ । अणु–परमाणु शस्त्रास्त्रले हल्लाउन नसकेको विश्व आज कोरोना महामारीले हल्लाइरहेको छ । यसले मानव जातिको सुखद भविष्यलाई गम्भीर चुनौती दिइरहेको छ । हरेक देश र महादेशमा भिन्नभिन्न स्वरूपमा देखापरिरहेको यो महामारी आफैंमा बहुरंगी र बहुविशिष्ट बनिरहेको छ ।
विकसित देशहरू यो संक्रामक रोगबाट त्राहिमाम् बनिरहेका छन् । उपचारका राम्रा विधि र औषधि पनि पत्ता लागेको छैन । यसले पनि अबका दिन यो महामारीसँग संघर्ष र सहकार्य गर्दै अघि बढ्नुपर्ने देखाएको छ । यो महामारीसँग लड्न र बच्न सकिने एउटै मात्र उपाय हो, यसविरुद्ध प्रतिरोधात्मक शक्तिको विकास गर्नु साथै यसको संक्रमणको चरणलाई हेरेर रोकथामका लागि तदनुुरूपको उपाय अबलम्बन गर्नु । हाम्रो देशमा यो महारोग क्रमशः फैलने प्रक्रियामा छ । छिमेकी देश भारत यो महामारीको भुंग्रोमा परिरहेको छ । महामारीको संक्रमणबाट हजारौंको संख्यामा मृत्यु भइरहेको छ । दिनहुँ लाखौं संक्रमित भइरहेका छन् । रोजगारीमा भारत गएका नेपाली स्वदेश फर्किएसँगै नेपालमा पनि महामारीको चाप पूर्वआँकलन गरेभन्दा निकै वृद्धि भएको छ । संघीयदेखि स्थानीय सरकारसम्मले आआफ्ना गच्छेअनुसार क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था गरिरहेका छन् । संक्रमितको संख्या पनि बढ्दै गइरहेको छ । तीनै तहका सरकारले आवश्यकताअनुसार परीक्षण किट उपलब्ध गराउने र द्रुत गतिमा परीक्षण गर्ने प्रक्रियालाई अघि बढाउन सकिरहेका छैनन् । जनताको सबैभन्दा ठूलो गुनासो र असन्तुष्टि यसैमा रहेको छ ।
गुणस्तरीय परीक्षण किटको संख्यामा वृद्धि गरी आयातित रूपमा रहेको कोरोना संक्रमणलाई समय छँदै संक्रमित र असंक्रमित गरी छुट्याउन पाए यसबाट बचाउन सकिने थियो । बेलैमा चामल र बियाँजस्तै छुट्याउन सकिए संक्रमितको उपचार पनि निकै प्रभावकारी हुने थियो । अहिले त रोकथामका उपाय अवलम्बन गर्नेभन्दा पनि लकडाउन उल्लंघन हुने र गरिने क्रम बढेर गएको छ । यसले महामारीको संक्रमणलाई थप भयावह बनाउने दिशातिर अग्रसर गराइरहेको छ । नेपालीको जीविकोपार्जनमुखी जीवनपद्धतिका कारण पनि दिनहुँ केही न केही काम नगरी मुखमा माड पर्नसक्ने अवस्था छैन । अर्कोतिर क्रमशः सहरीकरणको प्रक्रियाले पनि मजदुरी र अर्धमजदुरीतिर नेपाली जनजीवनलाई डो¥याइरहेको छ । यसले पनि मानिसलाई दैनिक गुजारामुखी बनाएर केही लामो स्वास्थ्य लकडाउन धान्न र सहन नसक्ने बनाएको देखिन्छ । तर जे होस्, लापर्बाहीका कारण कोरोना महामारीलाई भयावह हुन दिनबाट भने हरतरहले रोक्नैपर्छ । यो सबैको जिम्मेवारी हो ।






