साविक विजेता पुलिसलाई हराउँदै आर्मी फाइनलमा

इलाम । साविक विजेता नेपाल पुलिस क्लबलाई पाखा लगाउँदै त्रिभुवन आर्मी फुटबल क्लब झापा महिला गोल्डकपको फाइनलमा पुगेको छ । चन्द्रा भण्डारीको निर्णायक गोलमा पुलिसलाई १–० ले पराजित गर्दै आर्मीले उपाधि भिडन्त पक्का गरेको हो । दुधे रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा दुवै टोलीले जितका लागि कडा संघर्ष गरे ।

तर, गोल गर्ने अवसर सदुपयोग गर्न नसक्दा उपाधिको दाबेदार मानिएको पुलिस निराश बन्दै प्रतियोगिताबाट बाहिरियो । खेलको ५१औँ मिनेट आर्मीका लागि निर्णायक बन्यो । बिमला चौधरीले गरेको प्रहार पुलिसकी गोलकिपर उषा नाथले पूर्ण रूपमा नियन्त्रणमा लिन नसक्दा रिबाउन्ड भएको बललाई चन्द्राले जाली चुमाइन् । त्यही गोल आर्मीको फाइनल यात्राका लागि पर्याप्त बन्यो ।

गोल हुनुअघि पनि दुवै टोलीले एकअर्काको पोस्टमा निरन्तर दबाब बनाएका थिए । ४४औँ मिनेटमा आर्मीकी चन्द्राको प्रहारलाई पुलिसकी गोलकिपर उषाले बचाइन् । त्यसको पाँच मिनेटपछि बिमला चौधरीको प्रहार पनि उषाले विफल पारिन् । उता, खेलको आठौँ मिनेटमा पुलिसकी रेखा पौडेलले गरेको प्रहारलाई आर्मीकी गोलरक्षक कविता विकले पञ्च गरेर बचाएकी थिइन् ।

एक गोलको अग्रता लिएपछि आर्मीले त्यसलाई अन्तिमसम्म जोगाउँदै उपाधी यात्रा तय गर्यो । खेलका प्लेयर अफ द म्याच आर्मीकी बिमला विक घोषित भइन् । उनले नगद १५ हजार रुपैयाँ प्राप्त गरिन् । अब आर्मीले शनिबार हुने फाइनलमा एपिएफ फुटबल क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

नेपाल, भारत र भुटानका आठ टोली सहभागी प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले पाँच लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख ५० हजार रुपैयाँ पाउनेछिन् ।

त्यस्तै उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्डर, सर्वाधिक गोलकर्ता र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

साविक विजेता पुलिसलाई हराउँदै आर्मी फाइनलमा