बायोग्यासमा अर्बौंको अनुदान, तर पनि आधाभन्दा बढी प्लान्ट बन्द


काठमाडौं । वैकल्पिक ऊर्जा प्रवद्र्धनका नाममा सरकार र दातृ निकायले अर्बौं रुपैयाँ लगानी गरे पनि त्यसबाट बनेका आयोजना नियमित सञ्चालनमा आउन सकेका छैनन् ।

बायोग्यासका धेरै आयोजना निर्माणपछि अलपत्र परेका छन् । अनुदान लिएर आयोजना निर्माण नै नगरेको भन्दै अनुसन्धान गर्ने निकायमा उजुरीसमेत परेका छन् । अनुदानमा बनेका ६० प्रतिशतभन्दा बढी बायोग्यास आयोजना सञ्चालनमा नरहेको दाबी गरिएको छ ।

बायोग्यास प्लान्ट निर्माणमा ठूलो रकम खर्च भए पनि सञ्चालन, मर्मतसम्भार र अनुगमनमा पर्याप्त ध्यान नदिँदा लगानीको प्रतिफल कमजोर देखिएको छ । बायोग्यास प्लान्टको अवस्था’bout गरिएको एक अध्ययनले पनि निर्माण भएका आधाभन्दा बढी प्लान्ट सञ्चालनमा नरहेको देखाएको छ ।

सन् २०२५ डिसेम्बरमा प्रकाशित अध्ययनका लागि १० जिल्लाका २ हजार ५ सय ५९ घरधुरीमा रहेका बायोग्यास प्लान्टको सर्वेक्षण गरिएको थियो । सर्वेक्षणमा जाँच गरिएका प्लान्टमध्ये ५४ प्रतिशत सञ्चालनमा नरहेको पाइएको छ ।

अध्ययनअनुसार एउटा प्लान्ट निर्माणको औसत लागत ८० हजार रुपैयाँ थियो । सञ्चालनमा नरहेका १ हजार ३ सय ८० प्लान्टको मूल्य ११ करोड रुपैयाँभन्दा बढी हुन्छ । यो तथ्यांक १० जिल्लामा गरिएको नमुना सर्वेक्षणमा आधारित हो ।

……………………………………………………………………………………………………………
–१० वर्षअघि बनेको टेकुको प्लान्ट चलाउन फेरि विश्व बैंकको सहयोग
–वैकल्पिक ऊर्जामा अनुदान, सञ्चालन र अनुगमनमा बेवास्ता

………………………………………………………………………………………………………………

वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र (एईपीसी) ले आर्थिक वर्ष २०४९/५० देखि २०६९/७० सम्म २ लाख ९० हजार ५ सय ९ वटा घरेलु बायोग्यास प्लान्ट निर्माणका लागि ३ अर्ब रुपैयाँभन्दा बढी अनुदान दिएको थियो । तर, अनुदानपछि प्राविधिक सहयोग, मर्मतसम्भार र ऋणको अनुगमनमा कमजोरी रहेको एईपीसीकै पुराना अध्ययनले औंल्याएका छन् । सहुलियतपूर्ण कर्जामा निर्माण भएका केही आयोजना खराब कर्जामा परिणत भएको विषय पनि केन्द्र र मन्त्रालयका प्रतिवेदनमा उल्लेख छ ।

बायोग्यास प्लान्टको अवस्था सुधार गर्न एईपीसीले सन् २०१३ मा नौ जिल्लाका ४१ हजार ३२ पुराना प्लान्टको पुनःस्थापना तथा क्षमता सुधार कार्यक्रम अघि बढाएको थियो । तर, लक्षित संख्याअनुसार कति प्लान्ट पुनःस्थापना भए र अहिले तीमध्ये कति सञ्चालनमा छन् भन्ने स्पष्ट विवरण छैन ।

काठमाडौं महानगरपालिकाको एकीकृत दिगो फोहोर व्यवस्थापन परियोजनाअन्तर्गत टेकुमा निर्माण गरिएको बायोग्यास प्लान्ट यसको उदाहरण हो । २०७२ सालमा निर्माण सुरु भएको प्लान्ट २०७५ सालदेखि सञ्चालनमा आएको थियो । दैनिक तीन मेट्रिक टन जैविक फोहोर प्रशोधन गरी १४ किलोवाट विद्युत् उत्पादन गर्ने, जैविक मल बनाउने र प्रशोधित पानी उपयोग गर्ने लक्ष्यसहित प्लान्ट निर्माण गरिएको थियो ।

युरोपेली संघको ४ करोड ६० लाख रुपैयाँ र काठमाडौं महानगरपालिकाको १ करोड ८ लाख २ हजार रुपैयाँ लगानीमा निर्माण भएको प्लान्ट प्राविधिक जनशक्तिको अभावलगायत कारणले नियमित सञ्चालनमा रहन सकेन । लोडसेडिङका बेला विद्युत् उत्पादन गर्ने उद्देश्यले बनाइएको प्लान्टको अपेक्षित उपयोग हुन सकेन ।

अहिले विश्व बैंकको सहयोगमा सञ्चालित मिनी ग्रिड ऊर्जा पहुँच कार्यक्रमअन्तर्गत एईपीसी र काठमाडौं महानगरपालिकाले प्लान्ट पुनः सञ्चालन तथा परीक्षणको काम अघि बढाएका छन् । यसपटक दैनिक तीन टन जैविक फोहोरबाट १ सय ५० घनमिटर बायोग्यास उत्पादन गरी पाइपलाइनमार्फत करिब १ सय घरधुरीमा पु¥याउने लक्ष्य राखिएको छ ।

प्राविधिक अध्ययनले विद्युत् उत्पादनभन्दा पाइपलाइनबाट घरघरमा ग्यास पु¥याउनु उपयुक्त हुने निष्कर्ष निकालेपछि प्लान्टको उपयोगको ढाँचा परिवर्तन गर्न लागिएको हो । आयोजना सञ्चालनका लागि सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा जाने तयारी छ । निजी क्षेत्रले प्लान्ट सञ्चालन गर्ने भए पनि यसको स्वामित्व भने महानगरपालिकामै रहनेछ ।

विश्व बैंककी सञ्चालन प्रबन्धक रिता ढकालले जैविक फोहोरबाट ग्यास उत्पादन गर्दा फोहोर व्यवस्थापन र स्वच्छ ऊर्जाको उपयोग दुवैमा सहयोग पुग्ने बताएकी छन् । उनका अनुसार विश्वव्यापी रूपमा फोहोर क्षेत्रबाट ३ देखि ५ प्रतिशत हरितगृह ग्यास उत्सर्जन हुने गरेको छ । फोहोर डम्पिङ तथा ल्यान्डफिलबाट मिथेन र खुला रूपमा फोहोर जलाउँदा कालो कार्बन उत्सर्जन हुने भएकाले जैविक फोहोरको व्यवस्थापन महत्त्वपूर्ण छ ।

बायोग्याससँगै सौर्य ऊर्जा, लघुजलविद्युत् र स्वच्छ खाना पकाउने प्रविधिमा पनि विश्व बैंक, एसियाली विकास बैंक, जर्मन विकास बैंक (केएफडब्लू), जर्मन अन्तर्राष्ट्रिय सहयोग संस्था (जीआईजेड), युरोपेली संघ, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) र हरित जलवायु कोषलगायत दातृ निकायले लगानी गरेका छन् ।

तर, परियोजनाको अवधि सकिएपछि आयोजना सञ्चालन र मर्मतसम्भारको जिम्मेवारी कसले लिने भन्ने स्पष्ट नहुँदा कतिपय आयोजना निष्क्रिय भएका छन् । स्थानीय उपभोक्ताको सहभागिता र जवाफदेहिता सुनिश्चित गर्ने संयन्त्रसमेत कमजोर देखिएको छ । आयोजना सम्पन्न भएको प्रतिवेदन पेस गरिए पनि स्थलगत रूपमा निर्माण नै नभएको वा सञ्चालनमा नरहेको भन्दै अनुसन्धान गर्ने निकायमा उजुरी परेका छन् ।

एईपीसीले आर्थिक वर्ष २०८२÷८३ मा २ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी बजेट पाएको थियो । त्यसमध्ये २ अर्ब १८ करोड रुपैयाँ खर्च भएको छ । केन्द्रको वित्तीय प्रगति ९३ दशमलव ८५ प्रतिशत र भौतिक प्रगति ८५ दशमलव ४० प्रतिशत रहेको छ । तर, खर्च र भौतिक प्रगतिको तुलनामा आयोजना सञ्चालनबाट प्राप्त सामाजिक तथा आर्थिक उपलब्धि कमजोर रहेको सरोकारवालाको भनाइ छ ।

एईपीसीले विश्व बैंकको सहयोगमा स्थानीय तहसँगको साझेदारीमा सातवटा ठूला बायोग्यास प्लान्ट निर्माण गरेको छ । निजी क्षेत्रसँगको सहकार्यमा २० भन्दा बढी व्यावसायिक बायोग्यास प्लान्ट पनि निर्माण भएका छन् । फोहोर व्यवस्थापनसम्बन्धी ४ करोड ८० लाख अमेरिकी डलरको परियोजना हरित जलवायु कोषमा प्रस्ताव गरिएको छ ।

वैकल्पिक ऊर्जाका आयोजना निर्माणमा सरकारी तथा दातृ निकायको ठूलो लगानी भए पनि तिनको दीर्घकालीन सञ्चालन, मर्मतसम्भार र अनुगमन सुनिश्चित हुन सकेको छैन ।

तपाइको प्रतिक्रिया
(Visited 12 times, 1 visits today)

epaper

ताजा समाचार

जग्गा कीर्ते : मालपोतका तत्कालीन प्रमुखसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा