वैदेशिक रोजगार ऐन १९ वर्षपछि व्यापक संशोधन गर्दैछौँ: श्रममन्त्री यादव

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगार ऐन १९ वर्षपछि व्यापक संशोधन गर्न लागिएको बताएका छन् । श्रम, रोजगारी र वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका बेथिति हटाउन सरकारले नीतिगत तथा कानुनी सुधार अघि बढाएको उनको भनाइ छ ।

आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा शिखर सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री यादवले वर्षौंदेखि थुप्रिएका समस्या र विगतका कमजोरी सच्याउँदै श्रम तथा रोजगार क्षेत्रलाई व्यवस्थित बनाउन लागिएको बताए ।

‘श्रम, रोजगारी र वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका बेथितिहरू हटाइरहेका छौँ । वर्षौंदेखि थुप्रिएका फोहोर सफा गरिरहेका छौँ । विगतका काम, कमी कमजोरी सच्याइरहेका छौँ,’ उनले भने ।

मन्त्री यादवले समय र आवश्यकताअनुसार नीति, ऐन र नियमावलीमा सुधार गरेर प्रणालीप्रति नागरिकको विश्वास बढाउने काम भइरहेको बताए । मन्त्री यादवले सरकारले राष्ट्रिय रोजगार ऐन निर्माणको काम अघि बढाएको जानकारी दिए । उक्त ऐनमा सामाजिक उद्यमशीलतालाई समेत समेटिने उनले बताए ।

‘नभएको राष्ट्रिय रोजगार ऐन निर्माण गरिरहेका छौँ । आज उठेको सामाजिक उद्यमशीलता आउने राष्ट्रिय रोजगारमा समेट्नेछु भनेर यहीँबाट घोषणा गर्दछु,’ उनले भने । संघीयता कार्यान्वयनमा आएपछि संशोधन हुन नसकेको राष्ट्रिय युवा ऐनलाई पनि समयसापेक्ष परिमार्जन गर्न लागिएको मन्त्री यादवले जानकारी दिए ।

उनका अनुसार ऐन संशोधनमा राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष ३५ वर्षमुनिको युवा हुने व्यवस्था प्रस्ताव गरिएको छ । मन्त्री यादवले नयाँ अवसर सिर्जना गर्नुका साथै ती अवसरलाई दिगो बनाउन बलियो नीतिगत आधार तयार गर्नु सरकारको प्राथमिकता रहेको बताए ।

‘नयाँ अवसरहरू सिर्जना गर्नु जति आवश्यक छ, ती अवसरहरू फस्टाउन बलियो आधार तयार गर्नु पनि त्यत्तिकै आवश्यक छ । हामी त्यही गरिरहेका छौँ,’ उनले भने । उनले सरकारले युवासँगको सहकार्यमा नीति निर्माण गर्न चाहेको बताए । नयाँ अवसर सिर्जना गर्न पनि सरकार युवासँग मिलेर अघि बढ्ने उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 6 times, 1 visits today)

epaper

ताजा समाचार

चार महिनामा २० अर्ब ४८ करोड रुपैयाँको विद्युत निर्यात