सोलुखुम्बु । यस वर्षको हिउँदको चिसो बढ्दै गएसँगै हवाई मार्गबाट सगरमाथा क्षेत्र छोड्ने पर्यटकको संख्या बढेको छ । जिल्ला प्रहरी कार्यालयले उपलब्ध गराएको साप्ताहिक तथ्यांकअनुसार पछिल्लो अवधिमा खुम्बु क्षेत्रमा प्रवेश गर्नेभन्दा बाहिरिने पर्यटकको संख्या दोब्बरभन्दा बढी देखिएको हो ।
प्रहरीको तथ्यांकअनुसार पछिल्लो सात दिनको अवधिमा हवाई मार्गमार्फत सगरमाथा क्षेत्र (खुम्बु)बाट एक हजार १८० पर्यटक बाहिरिएका छन् भने ५२९ पर्यटक प्रवेश गरेका छन् । प्रवेश गर्ने पर्यटकको तुलनामा बाहिरिनेको संख्या ६५१ ले बढी छ । बाहिरिने पर्यटकको संख्या प्रवेश गर्नेको तुलनामा दुई गुणाभन्दा बढी देखिएको तथ्यांकले शरद् पर्यटन ‘सिजन’ क्रमशः सकिँदै गएको संकेत गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक मौसम तामाङका अनुसार उपलब्ध साप्ताहिक विवरणमा बाहिरिने विदेशी पर्यटकको संख्या ८७७ र स्वदेशी पर्यटकको संख्या ३०३ रहेको छ । सोही अवधिमा खुम्बु क्षेत्रमा ३७४ विदेशी र १५५ जना स्वदेशी पर्यटक भित्रिएका छन् ।
विवरणअनुसार खुम्बु क्षेत्रबाट बाहिरिने विदेशी पर्यटकमध्ये ३२७ महिला र ५५० पुरुष छन् । स्वदेशी पर्यटकमध्ये ४६ महिला र २५७ पुरुष बाहिरिएका छन् । यसैगरी, खुम्बु क्षेत्रमा प्रवेश गर्ने विदेशी पर्यटकमध्ये १०२ महिला र २७२ पुरुष छन् भने स्वदेशी पर्यटकमध्ये ५४ महिला र १०१ पुरुष छन् ।
खुम्बुमा चिसो बढेसँगै पर्यटकहरु फर्किने क्रम बढेको स्थानीय दाली शेर्पाले बताए । उनले भने, “नाम्चे क्षेत्रमा नै रातको समयमा तापक्रम माइनसमा जान थालेको छ, रात र बिहानको समयमा तापक्रम माइनसमा गएपछि पानी जम्न सुरु भएको छ, त्यसैले चिसो बढेको महसुस भएको हो ।”
सगरमाथा क्षेत्रको मुख्य पर्यटकीय सिजनमध्ये शरद् ऋतुमा असोज र कात्तिक महिनामा पर्यटकको चाप बढी हुने गर्दछ । मनसुन सकिएपछि मौसम खुल्ने, हिमाल स्पष्ट देखिने तथा पदयात्राका लागि अनुकूल वातावरण बन्ने भएकाले यस क्षेत्रमा पर्यटकको आगमन बढ्ने गरेको पाइन्छ । तर, कात्तिकको उत्तरार्धसँगै तापक्रम घट्दै जाने, राति अत्यधिक चिसो हुने तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना बढ्ने भएकाले पर्यटक फर्कने क्रम तीव्र हुने गरेको छ ।
सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)का अध्यक्ष तथा पर्यटन व्यवसायी लामाकाजी शेर्पाले उच्च हिमाली क्षेत्रमा चिसो बढेसँगै पर्यटकको बसाइ अवधि र गतिविधिमा प्रभाव पर्ने बताए । सिजनको अन्तिमतिर मौसमको अवस्था, तापक्रम, हिमपातको सम्भावना र पदयात्राको अवस्थालाई ध्यानमा राखेर पर्यटकले यात्रा व्यवस्थापन गर्ने भएकाले फर्कने क्रम बढ्ने उनको भनाइ छ ।
खुम्बु क्षेत्रको पर्यटन गतिविधि मौसमसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै शेर्पाले पर्यटकको आवागमनमा मौसमी परिवर्तनको प्रभाव पर्ने बताए । शरद् सिजनमा पर्यटकको चाप बढी हुने भए पनि जाडो सुरु भएपछि उच्च हिमाली क्षेत्रको यात्रा कठिन हुँदै जाने र पर्यटकको संख्या घट्ने पर्यटन व्यवसायी स्पिडकाजी शेर्पाले बताए ।
(रासस)
सम्बन्धित समाचार
बाढीपछि गोसाइँकुण्डमा बढ्दै पर्यटकको चहलपहल
घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको घुइँचो, बास पाउनै मुस्किल
पर्यटक पर्खिरहेको डिल्पु कुण्ड
हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ
सशस्त्र प्रहरीद्वारा आज काठमाडौं, ललितपुर र भक्तपुरमा निःशुल्क बससेवा सञ्चालन, यस्तो छ रुट
कोस्टारिकामा पत्रकारको गोली हानी हत्या
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
पञ्चेश्वरदेखि भैरहवा विमानस्थलसम्मका मुद्दा टुंग्याउन प्रधानमन्त्रीलाई कुलमान घिसिङको सुझाव






