म्याड्रिड । डिएगो सिमिओनीको प्रशिक्षणमा रहेको एटलेटिको म्याड्रिडले शनिबार स्पेनिस ला लिगाअन्तर्गत खेलमा अलाभेसलाई २–१ ले पराजित गर्दै तेस्रो स्थानमा बलियो पकड जमाएको छ ।
कोरोनाका कारण स्थगित भएको लिग सुचारु भएपछि खेलेका ४ खेलमा सिमिओनीको टोलीले ४ मध्ये ३ खेलमा जित निकालेको छ । शनिबार घरेलु मैदानमा अलाभेसलाई हराउँदै एटलेटिकोले तेस्रो स्थानमा ४ अंकको अग्रता लिएको हो । यसअघि तेस्रो स्थानमा रहेको सेभिल्लाले खराब नतिजा निकाल्दा एटलेटिकोलाई प्रत्यक्ष फाइदा पुगेको छ ।
शनिबार एटलेटिकोले ५९औं मिनेटमा साउल निगुएजको गोलमा अग्रता लिएको थियो । ७२औं मिनेटमा डिएगो कोस्टाले पेनाल्टीमा गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । मार्कोस लोरेन्टेलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि प्राप्त पेनाल्टीमा कोस्टाले गोल गरेका थिए ।
अलाभेसले खेलको अन्त्यतिर घरेलु टोलीलाई दबाबमा राखेको थियो । इन्ज्युरी समयमा जोसेलुले अलाभेसका लागि पेनाल्टीमा गोल फर्काए पनि एटलेटिको जित पक्का गर्न सफल रहयो ।
यस जितले तेस्रो स्थानमा रहेको म्याड्रिड टोलीको ३२ खेलमा ५८ अंक भएको छ । सेभिल्ला समान खेलमा ५४ अंकसहित चौथो स्थानमा छ । पाँचौ स्थानमा रहेको गेटाफेको ३१ खेलमा ४९ अंक रहेको छ । शीर्षस्थानको बार्सिलोनाले ६९ अंक जोड्दा एक खेल कम खेलेको रियल म्याड्रिड ६८ अंकमा छ ।






