विश्वभर कोरोना भाइरसको त्रास सबैतिर फैलिएका बेला नेपालमा पनि यथावतै छ । कोरोनाको हाउगुजीले गर्मीयामका तथा वर्षायामका रोगहरू ओझेलमा परेका छन । अस्पताल पुग्दा पनि कोरोनाकै परीक्षण हँुदै आएको भेटिन्छ । तथापि, कोरोनाको महामारीयता पनि प्रदेश ५ मा ८० बढी डेंगुका बिरामी भेटिएका छन् । काठमाडौं महानगरमा डेंगु रोग लागेर उपचारका लागि अस्पताल पुग्नेको संख्या दर्जनले बढ्दै छ ।
एउटा भनाइ छ, लन्डनजस्तै हाम्रो नेपालमा काठमाडौंलाई नदुखुन्जेल बाकी मुलुकको पीडा कसैले महसुस गर्दैन । त्यसैले, काठमाडौंमा रोग नदेखिँदासम्म र महामारीको रूप नलिँदासम्म जिल्ला, पालिका र प्रदेशमा संक्रमण र मृत्यृले काठमाडौं तात्दैन । गत वर्षको सिकाइले स्वास्थ्यले उपचार गर्न सक्छांै तर नियन्त्रण गर्न सक्दैनौं भन्दै नियन्त्रणका प्रयास तीनै तहका सरकारबाट हुँदा पनि बढ्दै जानुले सरकारको काबुबाहिर रहेकोे उच्चस्तरीय छलफल कार्यक्रमले निष्कर्ष निकालेको थियो ।
स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशकले सिपाही संघमा, बन्दुक प्रदेशमा र गोली स्थानीय तहमा भएपछि एकअर्कामा दोषारोपणबाहेक के काम गर्न सकिन्छ ? भनेका थिए । लामखुट्टे नियन्त्रण गर्न आवश्यक परे सन् २००९ मा चितवनमा सुरक्षाकर्मी परिचालन गरिएजस्तै परिचालन गर्न सकिने र भारतको मुम्बई, सिंगापुरमा लार्भा रहेका घरधनीलाई दण्डित गर्ने नियम भएजस्तै नेपालमा नियम बनाउन पछि नपर्ने बताइयो । सरकारी अक्षमता र नागरिक लापर्बाहीको नमुना बनेको थियो । डेंगुको महामारी । तथापि, मौसम प्रतिकूलताले संक्रमण र महामारी घटेपछि सबै शब्दमै सीमित रहे ।
भाइरल रोग : सबैभन्दा पहिले सन् १७८५ मा डेंगु ज्वरो दक्षिण अफ्रिकामा पाइएको थियो । बितेको ५० वर्षमा रोगको संक्रमण ३० गुणाले बढेको छ । नेपालमा पनि विगत पाँच वर्षमा १३ गुणाले संक्रमण बढेको छ । संसारका १ सय २८ बढी देशका ३.९ अर्ब मानिस रोगको जोखिममा छन् । हरेक वर्ष झन्डै ३९ करोडमा रोगको संक्रमण हुन्छ र २० हजार बढी व्यक्तिको मृत्यु हुने गर्दछ । डेंगु विषाणुको टाइप १, टाइप २, टाइप ३ र ४ भाइरसको तीव्र संक्रमणले डेंगु रोग लाग्दछ । लोकभाषामा ‘हाडतोड ज्वरो’ भनिने डेंगु रोग तीन दिनमै नरम हु“दै जाने भएकाले यसलाई तीन दिने ज्वरो पनि भनेको पाइन्छ । चिकित्साशास्त्रअनुसार जीवनकालमा यसको एक स्ट्रेनको संक्रमण एकपटक मात्र हुन्छ । पुनः संक्रमण हुँदा कडा डेंगु हुन्छ ।
लोकभाषामा ‘हाडतोड ज्वरो’ भनिने डेंगु रोग तीन दिनमै नरम हुँदै जाने भएकाले यसलाई तीन दिने ज्वरो भनिन्छ
मानिसमा डेंगुको संक्रमण डेंगु विषाणुबाट संक्रमित पोथी लामखुट्टे एडिस एजिप्टी र एडिज अल्वोपिक्टसको टोकाइबाट लाग्दछ । सफा र नबग्ने पानीमा बस्ने संक्रमित लामखुट्टेबिना मानिसबाट मानिसमा डेंगु रोग सर्दैन पनि र सबै लामखुट्टेले टोक्दैमा पनि रोग लाग्दैन । एक लामखुट्टेको जीवनकाल करिब ३० देखि ४५ दिनको हुन्छ । हरेक पोथी लामखुट्टेले जीवनभर करिब नौपटक गरी ५ सयदेखि १ हजारसम्म अण्डा पार्दछ । संक्रमित लामखुट्टेका सबै अण्डा र नया“ लामखुट्टे संक्रमित नै हुन्छन् र अण्डा पानीबिना पनि वर्षौंसम्म जीवित रहन सक्छ । पोथी लामखुट्टेलाई अण्डा पार्नका लागि प्रचुर मात्रामा प्रोटिनको आवश्यकता पर्ने भएकाले पोथी लामखुट्टेले मात्र रगत चुस्ने गर्दछ भने भाले लामखुट्टेले बोटबिरुवाको रस चुसेर जीवनयापन गर्दछन् ।
लक्षण: नेपालमा सन् २००४ मा पहिलोपटक तराईमा एक विदेशीलाई डेंगु रोग भएको थियो र तत्पश्चात् हरेक वर्ष संक्रमण बढ्दै आएको छ । रोगको लक्षण लेप्टोस्पाइरोसिस, टाइफाइड, एलो फिबर, स्कार्लेट फिबर, रकी माउन्टेन फिबर, मेन्निजोकोक्सेमिया, औलो, चिकनगुनिया, फुड प्वाइजनिङ तथा अन्य रोगहरूसँग मिल्दो हुन्छ ।
संक्रमित लामखुट्टेले टोकेको पाँचदेखि आठ दिनमा अल्छी लाग्ने, टाउको दुख्ने, आ“खा पाक्ने, रुघाखोकी लाग्ने लक्षण देखिन्छन् । ज्वरो, बिमिरा र टाउको वा शरीर दुख्ने डेंगुको त्रिभुज हुन् । बढी पीडित हुनेमा बालबालिका र वृद्धवृद्धा हुन् । एक्कासि चिसोको अनुभूतिका साथ कम्पन हुने, उच्च ज्वरो आउने, तीव्र टाउको दुख्ने, आँखाको पछाडिको भाग, खुट्टा, मांसपेसी र जोर्नी दुख्न थाल्छ । टाउको र आँखा दुख्ने, टाउको तथा आँखाको नानीको चालले सुरु गराउने तथा बढाउने गर्दछ । आँसु आउने, निद्रा नलाग्ने, भोक नलाग्ने, मुख नमिठो हुने, स्वाद हराउने, तीतो स्वाद आउने, वाकवाकी लाग्ने, बान्ता हुने, चक्कर लाग्ने र कमजोरी महसुस हुन्छ । मुटुको चाल घटबढ, चिन्ता, छालामा राता दाना, बिबिरा, फोका र डाबर देखिन्छ र क्रमशः हराउ“छ । नाक, गिजा, योनी र आन्द्राबाट रक्तश्राव हुने गर्दछ ।
उपचार : त्यसो त संक्रमण भाइरल भएकाले यसको रामवाण औषधि र उपचार हुँदैन । दुई सातामा रोग आफंै निको हुन्छ । जटिलता रोक्न लाक्षिणक उपचार मात्र गरिन्छ । घरमै आराम गर्दै स्वास्थ्यलाभ गरिरहेका सामान्य डेंगुका बिरामीले हरेक चार घण्टामा पिसाब लाग्नेगरी पानीलगायत झोल पदार्थ सेवन गर्दा रोगको लक्षणमा धेरै राहत मिल्ने गर्छ । आन्तरिक रक्तश्रावको जोखिमका कारणले एस्प्रिन, आइबुप्रोफेन प्रयोग गर्न सल्लाह दिइँदैन । निर्जलीकरण रोक्नका लागि बढी मात्रामा कम्तीमा पाँच चिया गिलास पानी सेवन, झोलिलो खानेकुरा खाने, तरल पदार्थ पिउने र आराम गर्न लगाउनुपर्छ । गम्भीर बिरामीलाई अस्पतालमा राखेर स्लाइन, रगत, प्लेटलेट ट्रान्सफ्युजन तथा अन्य इन्टेन्सिभ केयरको आवश्यकता पर्न सक्छ ।
रोकथाम : कुनै किसिमको पानी जम्ने ठाउँ, प्राकृतिक, अप्राकृतिक भाँडालाई बग्ने बनाउने, पुर्ने, सुकाउने, गाड्ने वा जलाउने गर्नुपर्दछ । घरको झ्यालढोकामा मसिनो जालीको प्रयोग गर्ने, सुत्दा कीटनाशक झुलको प्रयोग गर्ने, पंखा, एयरकुलर, एयरकन्डिसन प्रयोग गर्ने गर्नुपर्छ । जाली र झुलको व्यवस्था हुन नसक्ने ठाउ“मा लामखुट्टे भगाउने धूप, झोलको प्रयोग गर्ने, घरबाहिर जादा शरीरको खुला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने वा तोरीको तेल, निमको तेल वा लामखुट्टे रिपेलेन्ट दलेर बस्ने र सुत्ने र प्रभावित क्षेत्रमा जादा वा बस्दा पूरै शरीर ढाकिनेगरी पूरा लामो बाहुला भएको सेतो हलुका रंगको कमिज र पैन्ट लगाउनुपर्छ । जनचेतनामा अभिवृद्धि गर्नुपर्दछ । सञ्चारमाध्यममा रोगसम्बन्धी जनचेतना फैलाई घरघरमा लामखुट्टे बढ्न नसक्ने बनाउने र रोगको शंका लागे चाँडो चिकित्सकलाई देखाउनुपर्दछ ।
अन्त्यमा, कोभिडको महामारी फैलिएको अवस्थामा अन्य ननकोभिड सेवा अवरुद्ध भएका छन्, छायामा परेका छन् र ती रोगबाट दैनिक जटिलता र मृत्यु पनि भइरहेका छन् । तसर्थ, सुरक्षाका सबै सावधानी अपनाएर अन्य सेवा पनि नियमित सञ्चालनमा आउन जरुरी छ ।






