जुम्ला । जुम्लामा एक व्यवसायीलाई कोरोना संक्रमण देखिएपछि मंगलवार दिउसो ३ बजेबाट अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले जुम्लाको सदरमुकाम खलंगा स्थित चन्दननाथ नगरपालिका वडानं ५ का व्यवसायीलाई कोरोना संक्रमण देखिएकाले पुनः जुम्ला सदरमुकाममा निषेधाज्ञा जारी गरेको जानकारी गरेको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएपछि निषेधाज्ञा गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिएका छन् । उनका अनुसार पछिल्लो समयमा विभिन्न समयमा संक्रमित भएका १६ जनालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा आईसुलेसनमा राखिएको छ ।
प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा २०७७ असार ३० गते दिउँसो ३ बजेदेखि अर्को निर्णय नभएसम्मको लागि निषेधाज्ञा जारी गरेको उल्लेख गरिएको छ । चन्दननाथ नगरपालिकाको पूर्वमा दानसाँघु, पश्चिममा उमगाड, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र दक्षिणमा तिला नदी क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञा जारी पत्रमा भनिएको छ, ‘औषधि पसल स्वास्थ्य सेवा बाहेक अरु सम्पूर्ण क्रियाकलाप पूर्णरुपमा बन्द गर्ने निर्णय भएको छ ।’ जुम्लामा ६५ जना कोरोना संक्रमित मध्ये ५१ जना निको भएर घर फर्केका छन् ।
त्यसैगरी अहिले आइसोलेसनमा १४ जना रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका अस्पताल निर्देशक डाक्टर मंगल रावलले बताए । जिल्ला बाहिरबाट आएका यस जिल्लाका ४ हजार ४८६ जनाको पीसीआर परीक्षण भएको जनाएको छ । यसअघि गत जेठ २१ गतेदेखि २३ गतेसम्म स्थानीयले लकडाउनको उल्लंघन गरेको भन्दै जुम्ला सदरमुकाम खलङ्गामा तिन दिनको लागि निषेधाज्ञा जारी गरिएको थियो ।







