मोरङ । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले चाँडै कोरोना संक्रमितको उपचारको लागि आईसोलेशन बेड र ल्याबको क्षमता बढाउने बताएका छन् ।
प्रदेश १ मा कोरोना संक्रमितहरूको संख्या थपिदै गएपछी प्रदेश सरकारले क्षमता बढाउन लागेको हो । राजधानीसँगको कुराकानीमा प्रदेश सरकारका प्रवक्ता मन्त्री कार्कीले हाल २ हजार जनाको परिक्षण गर्ने क्षमता रहेपनी त्यो संख्यामा नतिजा नआएको भन्दै त्यसको कमजोरी खोजी गरिने बताए ।
उनले मंगलबारदेखि नै दैनिक ९० जनाको परिक्षण गर्ने गरि मेची अस्पतालमा ल्याब संचालन हुने जानकारी दिए । उनले भने, ‘हाल ५ वटा ल्याब संचालनमा रहेपनी अपेक्षाकृत रिपोर्ट आउन सकेको छैन । प्रदेश सरकारले सुनसरीको धरानस्थित विपी कोईराला स्वास्थ्य विग्यान प्रतिस्ठानमा १ र झापाको कन्काई नगरपालिकामा निजि क्षेत्रको सहयोगमा एउटा गरि ल्याब तत्काल संचालन गर्ने तयारीमा प्रदेश सरकार जुटेको छ ।’
यस्तै शिक्षण संस्थामा रहेका क्वारेन्टाइन र आइसोलेशन हटाई नयाँ स्थानमा आइसोलेशन र क्वारेन्टाइन बनाउने तयारीमा प्रदेश सरकार रहेको छ । हाल ५ सय क्षमता को आइसोलेशन बेड तयार भएको जानकारी दिँदै मन्त्री कार्कीले थप ५ सय बेड निर्माणका लागि ठाउँ खोज्न प्रदेशका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइसकेको बताए ।
यस्तै कोरोनाको संक्रमण समुहमा गइसकेको भन्दै उनले यस्ले प्रदेश सरकारलाई चुनौती थपिएको बताए । ‘संक्रमितको संख्या बढ्नु, लक्षण देखापर्नु र मृत्युदर बढ्दै जानुले महामारीको संकेत गर्छ’ उनले भने, ‘यससंग जुध्न हामी संघ र स्थानीय सरकारहरूसंग समन्वय गरेर अगाडी बढ्छौं ।’ लक्षण सहितको कोरोना भाइरस संक्रमणका बिरामीहरु बढेको भन्दै मन्त्री कार्कीले प्रदेशबासीलाई उच्च सतर्क रहन समेत आग्रह गरेका छन् ।






