सप्तरी, राजविराज । अवैध रुपमा राँग ओसारपोसार कार्यमा संलग्न रहेको आरोपमा पाँचजना पक्राउ परेका छन् । प्रहरीका अनुसार जिल्लाको खडक नगरपालिका ५ स्थित चापीन खोला किनारमा राँगाको अवैध कारोबारमा संलग्न पाँच जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा राजविराज नगरपालिका १० का रामप्रसाद सदा, मो. इस्लाम मियाँ, कंचनरुप नगरपालिका ६ का मो. इब्राहिम मियाँ, मो. नौसाद मियाँ तथा रुपनी गाउँपालिकाका भुपेन्द्र शर्मा हुन् ।
आइतबार राती चापिन खोला किनारमा स.१ज. ४४८ नम्बरको पिकअप भ्यानमा ३५ वटा राँगा लोड गरि अवैध रुपमा अन्यत्र लगिरेहको गोप्य सूचनापछि इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटेको टोलीले उनीहरुलाई पक्राउ गरेको डिएसपी तिलक भारतीले बताए ।
बरामद राँगा तथा गाडीसहित पशु कारोबारीलाई सोमबार आवश्यक कारवाहीका लागि बेल्ही भन्सार कार्यालय चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।






