नेपाली चलचित्रको रिल जोगाउने अभियान

काठमाडौं । नेपाली चलचित्र उद्योग एक दशकअघिबाट डिजिटल निर्माण प्रविधिमा गएपछि नेगेटिभमा फिल्म खिच्ने र त्यसलाई रिलमा तयारी गरी प्रदर्शन गर्ने क्रमको अन्त्य भएको छ । डिजिटल प्रविधिको आगमनसँगै रिलको युग अन्य भएपछि रिलमा निर्माण गरिएका चलचित्र संकटमा परेका छन् ।

नेपालमै यतिबेला २ सय २५ भन्दा बढी चलचित्र रिलमा छन् । तीमध्ये पुराना करिब एक दर्जन चलचित्रलाई डिजिटाइजेसन तथा रेस्टोरेसन गरेर सुरक्षित रूपमा राख्ने काम भएको छ । बाँकी फिल्मको रिल अझै अलपत्र छन् ।

चलचित्र विकास बोर्डका अनुसार चलचित्रको बिग्रिएको तथा खुइलिएको रिललाई रसायनको मध्यमले पुन मर्र्मत गरेर पहिलाकै अवस्थामा ल्याउने कार्यलाई रेस्टोरेसन भनिन्छ । चलचित्र विकास बोर्डमा भएका फिल्मको रिललाई रोस्टोरेसन गरेर सुरक्षित रूपमा राख्ने कार्य सम्पन्न भएको चलचित्र विकास बोर्डका चलचित्र संग्रहालय अधिकृति चिरन्जिवी गुरागाईंले राजधानीलाई बताए ।

काठमाडौंको बालाजुस्थित नेपाल चलचित्र विकास कम्पनीको संग्रहालयमा यतिबेला २ सयभन्दा बढी फिल्म रहेका छन् । ती सिनेमालाई वातानकूलित कक्षमा चिसो बनाएर राख्नुपर्नेमा अहिले सो कम्पनीले त्यसरी चिसो बनाएर रिललाई राख्न सकेको छैन । सोही कारण त्यहाँ रहेका रिलहरू दिनदिनै बिगँ्रदै गएको छ ।

चलचित्र विकास बोर्डको चलचित्र संग्रहालय अधिकृत चिरन्जिवी गुरागाईंका अनुसार नेपाल सरकारले प्रारम्भिक कालमा निर्माण गरेका चलचित्रलाई चलचित्र विकास बोर्डको संग्रहालयमा सुरक्षित रूपमा राखिएको छ । करिब दुई वर्षको मेहनतपश्चात् प्रारम्भिककालीन नेपाली चलचित्र आमा, हिजो आज भोलि, परिवर्तन, कुमारी, जीवनरेखा, के घर के डेरा, सिन्दूर, मनको बाँध, शान्तिदीपलाई रेस्टोरेसन गरेर यी चलचित्रलाई रिललाई सुरक्षित बनाइएको छ ।

यस्तै, बोर्डमा संग्रहित रहेका करिब ९० वटा वृत्तचित्रको रिललाई पनि रेस्टोरेसन गरेर राखिएको छ । यी चलचित्र र वृत्तचित्रको रिललाई टुको प्रविधिको रेजुलेसनमा डिजिटल गरेर यसलाई डिजिटल रूपमा पनि तयार गरिएको संग्रहालय अधिकृत गुरागाईंले बताएका छन् ।

‘चलचित्र विकास बोर्डले नयाँ प्रविधिको प्रयोग गरी स्क्यानिङ गरी डिजिटाइजेसन गरेर सो डिजिटाइज्ड कन्टेन्टलाई रेस्टोरेसनसमेत गरी पहिलो चरणको काम सम्पन्न गरेको छ । अब बाँकी नेपाली चलचित्रलाई रस्टोरेसन गरेर त्यसलाई लगाउने हाम्रो अभियन रहेको छ ।’

अधिकृत गुरागाईंका अनुसार नारायणहिटी राजदरबार संग्रहालयमा पनि विभिन्न चलचित्रको रिलिज भेटिएका छन् । ती चलचित्रलाई पनि अब बोर्डले रेस्टोरेसन गरेर त्यसको रिललाई सुरक्षित राख्ने भएको छ ।

यसै, विषयमा गुरागाईंले राजधानीसँग भने, ‘निजी क्षेत्रबाट निर्माण गरिएका २ सय बढी फिल्मका १६ मिमि तथा ३५ मिमि रिललाई हामीले रेस्टोरेसन गरेर बोर्डको संग्रहालयमा राख्न माग गरेका छौं । तर अहिलेसम्म हामीलाई चलचित्र प्राप्त भएका छैनन्,’ उनले अगाडि थपे, ‘नारायणहिटी दरबारसंग्रहालयमा भेटिएका कतिपय नेपाली चलचित्र र वृत्तचित्रलाई रेस्टोरेसन गरेर बोर्डको संग्रहालयमा राख्ने तयारी भइरहेको छ । यदि नेपाल चलचित्र विकास कम्पनीले पनि त्यहाँ भएका फिल्म हामीलाई दिएको खन्डमा चाँडोभन्दा चाँडो त्यसलाई सुरक्षित बनाउने छौं ।’

चलचित्रलाई रिललाई सुरक्षित राख्न चलचित्र विकास बोर्डले वातानुकूलित कक्ष तयार गरिरहेका छ । चाँडै यो कक्ष तयार भएपछि अहिलेसम्मका नेपाली चलचित्रको रिललाई आफूहरूले सुरक्षित राख्न सक्ने पनि संग्रहालय अधिकृत गुरागाईंले बताए । यसरी सुरक्षित राखिएको रिलबाट अहिलेको प्रविधिमार्फत फोर केसम्मको रेजुलेसनमा डिजिटल गरेर चलचित्रको डिजिटल प्रिन्ट तयारी गरी निर्माताले कुनै पनि समय आफ्नो फिल्मलाई पूर्ण गुणस्तरीय अवस्थामै प्रदर्शन गर्न सक्नेछन् ।

अहिले आफूहरू नेपाली चलचित्रको अस्तित्व जोगाउन रिललाई रोस्टेरेसन गरेर सुरक्षित रूपमा संग्रहित गरेर राख्ने अभियानमा जुटेको पनि चिरञ्जीवीले बताए । चलचित्र सुरक्षित गर्ने अभियानअन्तर्गत पहिलो चरणमा पुराना सिनेमालाई सुरक्षित गर्न सकेपछि अधिकृत चिरन्जिवी गुरागाईं हालै मात्र सञ्चार मन्त्रीबाट सम्मानित भएका थिए । त्यसपछि चलचित्रलाई संरक्षण गर्ने उत्साह आफूमा झनै बढेको उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 388 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पत्ति छानबिन आयोगले सुरु गर्‍यो काम