काठमाडौं । नेपाल पत्रकार महासंघमा विपुल पोखरेल प्यानलको नेतृत्वको जित सुनिश्चित भएको छ । शनिबार केन्द्रको मत गणना सकिएको छ । नुवाकोटसहित ५ जिल्लाको मत आउन बाँकी भएकाले निर्वाचन समितिले औपचारिक घोषणा गरेको छैन ।
पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत भएको निर्वाचनमा १३ हजारभन्दा बढी मतदाता सहभागी थिए । पोखरेल प्यानलले २ हजार १ सयभन्दा बढीको अग्रता लिएको छ । उनको प्यानलले विजय जुलुस मनाउन सुरु गरेका छन् । निर्वाचन समितिका अनुसार अधिकांश उनकै प्यानलका उम्मेदवार विजयी भएका छन् ।
नेपाली कांग्रेस निकट प्रेस युनियन नेपाल, नेकपा माओवादी केन्द्र निकट प्रेस संगठन नेपाल र नेकपा एमालेको माधव नेपाल समूह निकट प्रेस चौतारीसहित ११ संगठनको गठबन्धनको तर्फबाट पोखरेलले अध्यक्षमा उम्मेदवारी दिएका थिए ।
एमालेको ओली समूह निकट प्रेस चौतारीले जनता समाजवादी पार्टीसम्वद्ध प्रेस मञ्च, विप्लव समर्थित जनपत्रकार संघसहित ९ वटा संघसँग मिलेर निर्मला शर्मालाई अध्यक्षको उम्मेदवार बनाएको थियो । गजेन्द्र बुढाथोकीले पनि अध्यक्षमा उम्मेदवारी दिएका थिए ।






