दुर्घटनाको बाटोमा नेपाली कम्युनिस्ट आन्दोलन

२००६ सालको वैशाख १० गते भारतको कलकत्तामा नेपालको पहिलो कम्युनिस्ट पार्टीको जन्म हुँदै गर्दा राणा शासनविरोधी आन्दोलनको मोर्चा बन्दै थियो । पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठको अगुवाइमा जन्मिएको नेपालको कम्युनिस्ट पार्टी सामन्तवाद, साम्रज्यवाद र विस्तारवादविरुद्ध संघर्ष गर्दै नेपाललाई एउटा समृद्ध समाजवादोन्मुख मुलुकका रूपमा अघि बढाउने दृष्टिकोण राखेको थियो । मुलुकलाई राणा शासकको पन्जाबाट मुक्त राख्दै व्याप्त विभेद र असमानताको अन्त गर्ने प्रण त्यति बेलै गरिएको थियो । तर, विडम्बना पार्टी स्थापना हुनेबितिकै पार्टीभित्र दुई लाइन संघर्ष सुरु भइहाल्यो ।

२०१० साल माघ १७ देखि सम्पन्न पहिलो भूमिगत महाधिवेशनले मनमोहन अधिकारीलाई महासचिवमा निर्वाचित गरेको थियो । मनमोहन चिनियाँ कम्युनिस्ट पार्टीको आठांै महाधिवेशनमा भाग लिन चीन गएपछि पार्टीको जिम्मेवारीमा केशरजंग रायमाझी आए । २०१४ जेठ १५ देखि २५ सम्म चलेको दोस्रो अधिवेशनमा पुष्पलालले पेस गरेका कार्यक्रम त पास भयो तर महासचिव केशरजंग रायमाझी बने । त्यसपछि राजा महेन्द्रको २०१७ सालको शाही ‘कु’ले भर्खरै संगठनमा लागेको कम्युनिस्ट पार्टीका लागि ठूलो प्रभाव प-यो । रायमाझीले राजाको ‘कु’ लाई स्वागत गरे भने पुष्पलालहरूले विरोध गरेका थिए । राजाको उक्त कदमलाई लिएर पुनः पुष्पलाल, रायमाझी र मोहनविक्रम सिंहको स्पष्ट तीन लाइन देखाप-यो ।

शाही ‘कु’को समर्थन गरेकोमा रायमाझीलाई महासचिवबाट हटाइयो र त्यसपछि विभिन्न क्षेत्रगत आधारमा समिति गठन गरियो । तेस्रो अधिवेशन २०१९ सालको वैशाखमा त्यही समितिले सम्पन्न गरी तुलसीलाल अमात्य महासचिव चुनिए । उता कारबाहीमा परेका रायमाझीले आफ्नो समूहको महाधिवेशन २०२४ सालमा सम्पन्न ग-यो । त्यस्तै, तुलसीलाल र पुष्पलाल समूहले पनि छुट्टाछुट्टै समूहको नेतृत्व गरी अघि बढे । २०२८ सालसम्म आइपुग्दा नेपाली कम्युनिस्ट आन्दोलनमा विभिन्न धार देखापरिसकेका थिए । तिनै धारमध्ये झापा जिल्ला कमिटीले सशस्त्र संघर्ष गर्ने निर्णयका साथ अघि बढ्यो, जसको नेतृत्व सीपी मैनालीले गरेका थिए । जसलाई आजसम्म झापा विद्रोहका नायक भनेर चिनिन्छ । अहिलेका प्रधानमन्त्री एवं नेकपा एमालेका वर्तमान अध्यक्ष पनि सोही झापा आन्दोलनको समूहमा आबद्ध थिए ।

मुलुकलाई राणा शासकको पन्जाबाट मुक्त राख्दै व्याप्त विभेद र असमानताको अन्त्य गर्ने प्रण त्यति गरिए पनि पार्टी स्थापना हुनेबितिकै पार्टीभित्र दुई लाइन संघर्ष सुरु भइहाल्यो

झापा विद्रोहकै क्रममा २०२८ सालतिर रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, विरेन राजवंशी र नारायण श्रेष्ठलाई तत्कालीन पञ्चायत सरकारले सुखानीको जंगलमा लगेर हत्या गरेको थियो, जेल सार्ने बहानामा । यो अवस्थासम्म आइपुग्दा नेपालको कम्युनिस्ट आन्दोलन तहसनहस अवस्थामा पुगिसकेको थियो । अझ भनौं २०२३ सालतिरै आइपुग्दा करिबकरिब कम्युनिस्ट पार्टी अवसानको बाटोतिर लागिसकेको थियो । एकातिर पूर्वमा मेची–कोसी प्रान्तीय कमिटी गठन भयो भने अर्कातिर केशरजंगको समूह छुट्टियो । पार्टीका अन्य प्रभावशाली नेताहरू तुलसीलाल र पुष्पलाल पनि छुट्टिए । सीपी मैनाली र मोहनविक्रम सिंहले क्रमशः झापा जिल्ला कमिटी र केन्द्रीय न्युक्लियसको नेतृत्व गर्थे । झापा विद्रोहमा ठूलो क्षति हुने भयले २०३१ सालतिर झापाली विद्रोही कमिटी र मोरङको क्रान्तिकारी संगठनले २०३२ सालमा संयुक्त सम्मेलन गरी अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोअर्डिनेसन कमिटी गठन गरेको थियो ।

यो कमिटीमा अन्य विभिन्न कमिटी पनि समेटिएका थिए । यही कोअर्डिनेसन कमिटीले २०३५ सालको पुसमा राष्ट्रिय सम्मेलन गरी सीपी मैनालीको नेतृत्वमा नेकपा एमाले गठन ग-यो । २०३५ सालतिर पुष्पलालको निधन भएपछि पुष्पलालको पार्टी साहना प्रधान र बलराम उपाध्यायले चलाए । २०४३ सालतिर आएर मनमोहन अधिकारीले नेतृत्व गरेको पार्टीसँग पुष्पलालको पार्टी पनि एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी) बन्यो । २०४६ सालको जनआन्दोलनमा सहभागी भएको मनमोहन अधिकारीको दल र सीपी मैनालीको दलबीच २०४७ सालमा एकीकरण भई नेकपा एमालेको जन्म भयो । मदन भण्डारी महासचिव रहेको एमालेले जनताको बहुदलीय जनवादलाई अंगीकार गर्दै अघि बढ्ने निर्णय ग¥यो । उता अलग धारको रूपमा रहेको मोहनविक्रम सिंह नेतृत्वको समूहभित्र पनि २०३६ सालको जनमत संग्रह हेर्ने दृष्टिकोणमा मत भिन्नता आउँदा उक्त समूहभित्र पनि गुटहरू सिर्जना भए । २०४० सालमा निर्मल लामाले पार्टी फुटाएर नेकपा (चौम) बनाए । मोहनविक्रम सिंह समूहले नेकपा (मसाल) राखे ।

मोहन वैद्य (किरण), पुष्पकमल दाहाल (प्रचण्ड)लगायतका नेताहरू पनि मोहनविक्रम सिंहसँगै रहे । मसाल पाँचौं महाधिवेशनसम्म आइपुग्दा फेरि अर्काे विभाजनमा प-यो । मोहनविक्रम सिंहमा गम्भीर सैद्धान्तिक विचलनको आरोप लगाउँदै प्रचण्डले प्रतिवेदन पेस गरेपछि मोहन वैद्य (किरण)लाई महामन्त्रीमा चयन ग¥यो । २०४२ सालमा पाँचांै महाधिवेशनबाट निर्वाचित १७ जना केन्द्रीय सदस्यमध्ये चार जनालाई लिएर मोहनविक्रम सिंहले नेकपा मसाल गठन गरे । यसलाई पातलो (मसाल) भन्न थालियो । २०४३ सालमा नेकपा मशाल अर्थात् मोटो मशालका तर्फबाट आक्रामक गतिविधि र पोस्टर टाँस्ने काम भयो जसले पार्टीलाई ठूलो क्षति पनि पु¥याएको थियो । यसमा पार्टीको योजना असफल भएपछि मोहन वैधले पार्टीबाट राजिनामा दिए । २०४५ सालमा नेकपा मशालको सम्मेलनले प्रचण्डलाई महामन्त्रिमा निर्वाचित ग¥यो र माओवाद पास ग¥योे । त्यसपछि दीर्घकालीन जनयुद्धको कार्यदिशासमेत पास ग-योे ।

आम कार्यकर्ता, समर्थक, शुभेच्छुकको एउटै चिन्ता छ, अब नेकपा एमाले कस्तो अवस्थामा पुग्ने हो वा कहाँ पुगेर दुर्घटनाग्रस्त हुने हो

२०४७ साल श्रावणमा प्रचण्ड नेतृत्वको नेकपा (मशाल),निर्मल लामा नेतृत्वको नेकपा चौम र रूपलाल विश्वकर्माको सर्वहारावादी श्रमिक संगठनबीच एकता भई नेकपा एकता केन्द्र बन्यो । २०४७ सालतिरै हरिबोल गजुरेल र बाबुराम भट्टराईलगायतको टिम मोहनविक्रम सिंहसँग विद्रोह गरी नेकपा एकता केन्द्रमा प्रवेश ग-योे । २०४८ साल मंसिर ४ मा एकता महाधिवेशनले प्रचण्डको दीर्घकालीन जनयुद्धको कार्यदिशा पारित ग-योे र पार्टीको नाम नेकपा (माओवादी) राखी २०५२ साल फागुन १ गतेदेखि सशस्त्र जनयुद्धमा होमियो । नेपालका कम्युनिस्ट पार्टीहरूको फुट र एकले अर्काेलाई कारबाहीको शृंखला यतिमा मात्रै सीमित छैन । २०४६ सालको राजनीतिक परिवर्तनपछि सबैभन्दा ठूलो कम्युनिस्ट शक्ति बनेको नेकपा (एमाले) पहिलोपटक महाकाली सन्धिको विषयलाई लिएर फुटेको थियो । अहिलेको नेकपा एमालेको उपाध्यक्ष वामदेव गौतमको अगुवाइमा पार्टी फुटाएर नेकपा (माले) बनाए तर निर्वाचनमा लज्जास्पद हार बेहोरेपछि पुनः एमालेमै फर्किए ।

सीपी मैनाली भने आजसम्म मालेकै नेतृत्व गरिरहेका छन् । २०६२/६३ को जनआन्दोलनपश्चात् कम्युनिस्टका दुई मुख्य धार नेकपा एमाले र नेकपा माओवादी अस्तित्वमा आए । नेकपा एमालेले संसदीय व्यवस्था रोजेको थियो भने नेकपा माओवादीले शान्तिपूर्ण राजनितिक अवतरण रोजेको थियो । अन्य साना कम्युनिस्ट घटकहरू पनि आआफ्नै किसिमले जुट्दै फुट्दै गरिरहेका थिए । २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा भाग लिएको नेकपा माओवादीबाट मोहन वैध (किरण) फेरि पुष्पकमल दाहालबाट अलग भए । नेत्रविक्रम चन्द (विप्लव)ले पनि पुष्पकमल दाहालको नेकपा माओवादी छोडी सशस्त्र संघर्ष रोजे । दोस्रो संविधान सभाको निर्वाचनमा नेकपा माओवादी तेस्रो स्थानमा खुम्चन पुग्यो । माओवादीको संगठन त्यसपछि कमजोर बन्दै गयो । निर्वाचनमा पराजय भोग्दै गएपछि २०७५ जेठ ३ गते नेकपा एमालेसँग एकीकरण गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्यो । नेकपाले २०७४ को निर्वाचनमा करीब दुई तिहाइ जनमतको सर्मथन प्राप्त ग-योे र एकल नेतृत्वको सरकार बन्यो तर एकता भएको तीन वर्ष नपुग्दै पार्टी फुटेर एमाले र माओवादीकै अवस्थामा फर्किए । ठूलो अपेक्षा र भरोसाले निर्वाचनमा सफलता प्राप्त गरेको दलभित्र अहिले चलिरहेको रडाकोले देशको राजनीतिक, सामाजिक, आर्थिक एवं सम्पूर्ण क्षेत्रमा नराम्रो प्रभाव पारिरहेको छ । जनअपेक्षामा ठूलो आघात पुगेको छ । समाजवादको नाराले २०७४ सालमा सम्पन्न निर्वाचनमा दुई तिहाइको जनमत प्राप्त गरेको नेकपा आन्तरिक कलहले गर्दा विभाजित बन्न पुग्यो । विकास समृद्धि र समाजवाद त केवल मृगतृष्णा मात्र बन्न पुुगेको छ ।

समृद्धि र समाजवादकै प्रलोभनले जनताले कम्युनिस्ट पार्टीलाई सत्तामा त पु-याए तर तीन वर्ष पनि पूरा हुन नपाउँदै व्यक्तिगत टकराव र गुटगत राजनीतिको प्रवृत्तिले सग्लो कम्युनिस्ट पार्टी विभिन्न समूहमा विभक्त हुँदा जनमतमाथि नै अपमान भएको छ । अहिले नेकपा एमालेभित्रको घिनलाग्दो जनभावनाविपरीतका गतिविधि पनि सत्ता, शक्ति, गुट र नेतृत्वमा हाली मुहाली गर्ने कुत्सित मानसिकताको उपज हो । विधि, पद्धति, संस्कार, सहमति, सहकार्य, एकअर्काको सम्मान जेजस्ता शब्दजाल प्रयोग गरिए तापनि अहिलेको मुख्य समस्या भनेकै पार्टी कब्जा गर्दै सत्ता र शक्तिमा आफ्नो गुटलाई स्थापित गर्ने नै हो ।

पार्टी सुदृढीकरण र पुनर्गठनका नाममा चलाइएका समानान्तर गतिविधिले नेकपा एमाले कहाँ पुग्ने हो अनिश्चित छ । एक अर्काप्रति प्रयोग भएका गाली गलौजका शब्द र कारबाही हेर्दा लाग्छ अब नेकपा एमाले एक ढिक्का हुने सम्भावना न्यून बन्दै गएको छ । आम कार्यकर्ता, समर्थक, शुभेच्छुकको एउटै चिन्ता छ, अब नेकपा एमाले कस्तो अवस्थामा पुग्ने हो । कम्युनिस्ट आन्दोलन कहाँ पुगेर दुर्घटनाग्रस्त हुने हो ।

तपाइको प्रतिक्रिया
(Visited 636 times, 1 visits today)

epaper

ताजा समाचार

जंगली च्याउ खाँदा सिन्धुलीमा ६ जना विरामी