प्रिमियर लिगः तीन टोलीको शीर्ष चारमा होड

लन्डन । इंग्लिस प्रिमियर लिगको यो सिजन आइतबारको रातसँगै सकिँदै छ । म्यानचेस्टर सिटीले ३ खेल बाँकी छँदै उपाधि हात पार्दा रेलिगेसनमा पर्ने तीन टोलीको पनि टुंगो लागिसकेको छ । यसको आइतबार हुने यो सिजनको अन्तिम दिनको खेलमा अर्थ च्याम्पियन र रेलिगेसनमा पर्ने टोलीको भन्दा पनि अर्काे सिजन युरोपमा खेल्ने (च्याम्पियन्स लिग, युरोपा लिग र कन्फ्रेन्स कप)का लागि खेल्ने टोलीको खेल बढी महŒवपूर्ण हुनेछ ।

लिगको अन्तिम खेलमा आइतबार एकै समयमा १० खेल हुनेछ । जहाँ ८ टोलीले युरोपमा हुने प्रतियोगिताका लागि चुनौती पेस गर्नेछन् । यूईएफए च्याम्पियन्स लिगका लागि चेल्सी, लिभरपुल र लेस्टर सिटीबीच त्रिकोणात्मक भिडन्त छ जबकि यसमध्ये दुई टिम मात्र छनोट हुनेछन् । युरोपा लिगका लागि यस्तै त्रिकोणात्मक भिडन्त हुनेछ वेस्ट ह्याम, टोटेनहम र एभर्टनबीच । अर्को सिजनदेखि युरोपा कन्फ्रेन्स लिग पनि सुरु हुनेछ ।

यसका आर्सनल र लिड्स युनाइटेड दौडमा छ । अहिलेसम्म च्याम्पियन्स लिगका लागि म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले मात्र स्थान सुरक्षित गरेका छन् । चेल्सीले पछिल्लो खेलमा लेस्टरलाई २–१ ले हराएर एफए कपमा बेहोरेको हारको बदला लिँदै शीर्ष चारमा पर्ने सम्भावना जीवित राख्दा लिभरपुलले बर्नलीमाथि ३–० को प्रभावशाली जित निकाल्दै च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना जीवितै राखेको हो । चेल्सीसँगको हारसँगै लेस्टर डिसेम्बरयता पहिलोपल्ट शीर्ष चारबाट बाहिरियो ।

लिभरपुलले बर्नलीलाई हराउनुअघि साउथ ह्याम्पटन, म्यानचेस्टर युनाइटेड र वेस्ट ब्रोमलाई पराजित गरेको थियो । लगातार चौथो जितसँगै लिभरपुलको शीर्ष चारको सम्भावना बलियो बनेको छ । लेस्टरलाई पनि लिभरपुललाई उछिन्न सक्ने अवसर छ । दुवै टिम अन्तिम दिन विजयी रहेको अवस्थामा गोल अन्तर निर्णायक हुनेछ ।

गोल अन्तर नै बराबरी भए भने लिभरपुल चौथोमा रहनेछ । तेस्रो स्थानमा रहेको चेल्सीलाई पनि ढुक्क हुने स्थिति छैन । लिभरपुल र लेस्टर दुवै विजयी भएको अवस्थामा चेल्सी एस्टन भिल्लासँग पराजित भए । चेल्सी शीर्ष ४ बाट बाहिरिनेछ । तर, पनि चेल्सीसामु च्याम्पियन्स लिग खेल्ने थप एक अर्को अवसर हुनेछ । च्याम्पियन्स लिगको फाइनलमा सिटीलाई हराउन सके चेल्सीको युरोप भ्रमण तय हुनेछ ।

यो समीकरणमा अर्को सिजन पाँच प्रिमियर लिग क्लबले च्याम्पियन्स लिग खेल्नेछ । विश्व फुटबलको सबैभन्दा पुरानो उपाधि एफए कप जितेको लेस्टरले युरोपा लिगको बाटो खोलिसकेको छ । साँच्चै यही स्थिति बन्यो भने अंक तालिकाको पाँचौं र छैटौं स्थानमा रहने दुवै टिमले युरोपा लिग खेल्न योग्य हुनेछ । यसका लागि वेस्ट ह्याम, टोटेनहम र एभर्टनबीच प्रतिस्पर्धा हुँदा वेस्ट ह्याम बलियो देखिएको छ ।

आफ्नो अन्तिम खेलमा वेस्ट ह्यामले साउथ ह्याम्पटनको सामना गर्नेछ । यसबाट एकै अंक मात्र बटुले पनि त्यो छैटौं स्थानलाई पर्याप्त हुनेछ । एभर्टन र टोटेनह्यामको समान ५९ अंक छ । यदि चेल्सी पाँचौं स्थानमा रहन्छ र उसले च्याम्पियन्स लिग जित्छ भने युरोपा लिग खेल्ने पाउने अवसर अर्को क्लबलाई सर्दैन ।

यस्तै यही म्यानचेस्टरले युरोपा लिग फाइनलमा भिल्लारियललाई हराएमा प्रतियोगिता खेल्ने अवसर अर्को क्लबमा सर्दैन । अर्को सिजनदेखि तेस्रो युरोपेली प्रतियोगिता कन्फ्रेन्स कप हुँदै छ । टोटेनह्याम अहिले यो स्थानको दाबेदार देखिन्छ तर एभर्टन, आर्सनल र लिड्सले पनि आस मारेका छैनन् ।

तपाइको प्रतिक्रिया
(Visited 264 times, 1 visits today)

epaper

ताजा समाचार

विश्वकप क्रिकेट लिग–२ का लागि नेपाली टोलीको घोषणा, को को परे ?