काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको अवसर पारेर नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सामाजिक सञ्जाल लक्षित सिर्जनात्मक भिडियो प्रतियोगिता ‘महाधिवेशन कन्टेन्ट कम्पिटिसन’ आयोजना गरेको छ ।
पार्टीको गौरवमय इतिहास, जारी महाधिवेशन र समसामयिक राजनीतिक विषयवस्तुलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित यस प्रतियोगितामा उत्कृष्ट भिडियो बनाउने १५ जना स्रष्टालाई कुल २ लाख २० हजार रुपैयाँबराबरको नगद पुरस्कार प्रदान गरिने भएको छ ।
प्रतियोगितामा सहभागी हुन इच्छुक जो–कोहीले कांग्रेसको इतिहास, महाधिवेशन तथा समसामयिक सन्दर्भ समेटेर मौलिक तथा सिर्जनात्मक भिडियो निर्माण गरी फेसबुक, टिकटक र इन्स्टाग्रामलगायतका डिजिटल प्लेटफर्महरूमा पोस्ट गर्नुपर्नेछ ।
नेविसंघका अनुसार प्रतिस्पर्धाबाट १५ जना विजेता छनोट गरिनेछ । जसमा प्रथम पुरस्कार ५० हजार रुपैयाँ, दोस्रो पुरस्कार ३० हजार रुपैयाँ, तेस्रो पुरस्कार २० हजार र उत्कृष्ट १२ जनालाई १० हजार रुपैयाँ सान्त्वना पुरस्कार दिइने भएको छ ।
सहभागीहरूले एकल, समूह वा परिवारसँग मिलेर नृत्य, लिप्सिङ्क, अभिनय, कथावाचन वा अन्य कुनै पनि रचनात्मक शैलीमा भिडियो बनाउन सक्नेछन् । विजेताको मूल्यांकन भिडियोको विषयवस्तुको गुणस्तर, सिर्जनशीलता, प्रस्तुति शैली तथा सामाजिक सञ्जालमा प्राप्त लाइक, कमेन्ट र शेयरका आधारमा गरिने नेविसंघले जनाएको छ । कृत्रिम रूपमा ‘बुस्ट’ गरिएका भिडियोहरूलाई भने प्रतिस्पर्धामा समावेश नगरिने नेविसंघकी अध्यक्ष करुणा कटुवालले स्पष्ट पारेकी छन् ।
प्रतियोगितामा भाग लिन टिकटक, फेसबुक वा इन्स्टाग्राम रिल्स पोस्ट गर्दा नेपाली कांग्रेस पार्टीको आधिकारिक सामाजिक सञ्जाल खाता अनिवार्य रूपमा ‘फलो’ र ‘मेन्सन’ गरी तोकिएका ह्यासट्यागहरू प्रयोग गर्नुपर्ने सर्त राखिएको छ । महाधिवेशनलाई डिजिटल पुस्ता र युवाहरूसँग जोड्दै उत्साहजनक बनाउन यो रचनात्मक प्रतियोगिता उपयोगी हुने विश्वास लिएको अध्यक्ष कटुवालको भनाइ छ ।
सम्बन्धित समाचार
देउवालाई गगनको अनुरोधः पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गरिदिनुस्
‘ढुक्क रहनुस् !, दसैँ अगावै लालपुर्जा वितरण प्रक्रिया सुरु हुन्छ’
भोटेकोशी बाढी अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठन
न्युयोर्कबाट प्रधानमन्त्री बालेनको सन्देश : तीन दिनसम्म विशेष सतर्कता अपनाऔं
एमालेमा विद्यादेवी भण्डारी दोस्रो वरीयताक्रममा रहने
कांग्रेस महाधिवेशन उद्घाटन समारोहमा रवि, केपी र प्रचण्डलाई आमन्त्रण
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज हुँदै, उल्लासपूर्ण सहभागिताका लागि देउवाको अपिल
कांग्रेसविरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कडा कारबाही गर्ने





