विराटनगरका प्रशिक्षक यानलाई १ सिजन प्रतिबन्ध

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) का दौरान खेल भावनाविपरीत व्यवहार गरेको र अनुशासन तोडेको भन्दै विराटनगर सिटी एफसीका भारतीय प्रशिक्षक यान कारबाहीमा परेका छन् । उनीसहित अन्य चार जना पनि कारबाहीमा परेका हुन् । एनएसएलको आयोजक नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्टले ललितपुर सिटी एफसीविरुद्धको खेलमा रेफ्रीको निर्णयमा असहमति जनाएको भन्दै सो कारबाही गरेको हो । विराटनगरलाई १ लाख रुपैयाँ जरिमाना गरेको छ ।
टोलीका प्रशिक्षकलाई एनएसएलको अर्को सिजनमा प्रतिबन्ध लगाउने र ५० हजार रुपैयाँ जरिमाना गरेको छ । विराटनगरलाई खेल भावनाविरुद्ध व्यवहार गर्दै खेलाडीलाई मैदान छाड्ने प्रोत्साहन गरेको ठहर गरेको छ ।

विराटनगरका टेक्निकल डाइरेक्टर सोनम घले, सहायक प्रशिक्षक निशान श्रेष्ठ र सहायक व्यवस्थापक मिलन गुरुङलाई आगामी सिजन एनएसएलको ३ खेलमा प्रतिबन्ध लगाएको छ । त्यसबाहेक आवश्यक देखिएमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले थप कारबाही गर्न सक्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । २५ वैशाखमा भएको पहिलो खेलमा ललितपुरले विराटनगरलाई ४–० ले पराजित गरेको थियो । त्यही खेलका दौरान विराटनगरले रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदै ७ मिनेट मैदान छाडेको थियो । दुवै टोलीका लागि प्लेअफमा पुग्नका लागि त्यो खेल जित्नैपर्ने अवस्था थियो । खेलको ६२औं मिनेटमा ललितपुरका विमल रानाले टोलीका लागि दोस्रो गोल गरेपछि विराटनगरले खेलाडीलाई मैदान छाड्न लगाएको हाम्रो खेलकुदले लेखेको छ ।

त्यसबेला स्पेनिस फरवार्ड पेड्रो मान्जीबाहेक सबै खेलाडीले मैदान छाडेका थिए । प्रशिक्षकसहित अफिसियलहरूले खेलाडीलाई मैदान छाड्न लगाएका थिए । एन्फा र आयोजक अधिकारीको आग्रहपछि मात्रै खेलाडी मैदान प्रवेश गरेका थिए । त्यसपछि ललितपुरले २ गोल थपेको थियो । विजय धिमालले दोहोरो पहेंलो कार्ड पाउँदै मैदान छाडेपछि विराटनगरले अन्तिम ५ मिनेट १० खेलाडीमा खेलेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 216 times, 1 visits today)

epaper

ताजा समाचार

फेरि विवादमा तानिए सशस्त्रका डीआईजी श्रेष्ठ