लन्डन । १६औं संस्करणको युरोपेली च्याम्पियनसिपको उपाधिका लागि आइतबार राति इटाली र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदै छ । यी दुई टोली जारी कोपामा अपराजित रहँदै फाइनलमा पुग्न सफल भएका टोली हुन् ।
खेल वेम्वली स्टेडियम लन्डनमा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा इंग्ल्यान्ड युरोमा पहिलोपटक च्याम्पियन बन्ने लक्ष्यमा मैदान उत्रनेछ । पछिल्लो १२ खेलमा अपराजित रहेको इंग्ल्यान्ड युरोमा पहिलोपटक नै फाइनलमा पुग्न सफल भएको हो । यस्तै इंग्ल्यान्ड ५५ वर्षपछि ठूला प्रतियोगिता जित्ने लक्ष्यमा हुनेछ । इंग्ल्यान्डले ५५ वर्षअघि अर्थात् सन् १९६६ मा विश्वकपको उपाधि जितेको थियो । त्यसयता इंग्ल्यान्ड पहिलोपटक फाइनलमा पुगेको हो ।
टोलीसँग लयमा रहेका कप्तान ह्यारी केन, रहिम स्टर्लिङ, बुकायो साका, फिल फोडेन, जाडोन सान्चो, मार्कुस रासफोर्ड, ज्याक ग्रेयालिस, रिस जेम्स, मासन माउन्ट, काल्भिन फिलिप्स, जोर्डन हेन्डरसन, डिक्लन रिस, बिन चिलवेल, बिन ह्वाइट, ह्यारी मगाएर, जोन स्टोन्स, केएल वाल्कर र गोलरक्षक जोर्डन पिकफोर्ड रहेका छन् । ह्यारी केन र रहिम स्टर्लिङलाई गोल्डेन बुट जित्ने अवसर छ । केनले क्रिस्टियानो रोनाल्डोलाई उछिन्दै गोल्डेन बुट जित्न कम्तीमा दुई गोलको आवश्यक छ । एक गोल र अर्काे गोलको लागि असिस्ट दिए पनि गोल्डेन बुट रोनाल्डो र केनले बाड्नेछ । यस्तै रहिमलाई पनि गोल्डेन बुट जित्न ३ गोलको खाँचो छ ।
यता, पछिल्लो ३३ खेलमा अपराजित रहेको इटाली पनि इंग्ल्यान्डलाई उसकै मैदानमा स्तब्ध पार्दै ५३ वर्षपछि युरोको च्याम्पियन बन्न लक्ष्यमा हुनेछ । इटाली सन् १९६८ मा घरेलु मैदानमा युगोस्लाभियालाई हराउँदै च्याम्पियन बनेको थियो । त्यति बेला फाइनल पनि दुई लेगमा भएको थियो । त्यसयता इटाली योसहित तेस्रोपटक फाइनल खेल्दै छ । इटालीले पछिल्लोपटक सन् २०१२ मा फाइनल खेलेको थियो । जहाँ इटालीले स्पेनलाई ४–० ले नतिजा सुम्पिएको थियो ।
यसपटक उच्च लयमा रहेको इटाली उक्त कमजोरीलाई नदोहो¥याई च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ । पछिल्लो ३ वर्षयता अपराजित रहेको इटालीसँग सिरो इम्मोविले, लोरेन्जो इन्सिग्ने, जियाकोमो रास्पाडोरी, एन्ड्रिय बेलोट्टी, फेडरिको चिइसा, म्यानयुल लोकाटेली, माटियो पेस्सिना, निकोलो बरेल्ला, फेडरिको बर्नरडेस्ची, जर्गिन्हो, मार्काे भेराट्टी, एलेसान्द्रो बास्टोनी, जियोभानी डि लोरेन्जो, इमर्सन, एलेसान्द्रो फ्लोरेन्जी, फ्रान्सिस्को एसर्वी, जर्जियो चिलियानी, लियोनाद्रो बोनुची र गोलरक्षक जियानलुइगी डोन्नररुम्मा रहेका छन् । चोटका कारण लियोनार्दाे स्पिनाजोला टोलीमा हुने छैनन् । यी दुई टोलीबीचको इतिहास हेर्दा इटाली केही बलियो देखिएको छ । यी दुई टोलीबीचको हालसम्मको २७ खेलको नजितामा इटाली ११ खेलमा विजयी भएको छ । इंग्ल्यान्डले ८ खेल आफ्नो पक्षमा पार्दा ८ खेल बराबरीमा सकिएको छ । पछिल्लो दुई खेलमा यी दुई टोलीले बराबरी खेलेका छन् ।
इटालीको फाइनल यात्रा
इटालीविरुद्ध टर्की (३–०)
इटालीविरुद्ध स्विट्जरल्यान्ड (३–०)
इटालीविरुद्ध वेल्स (१–०)
इटालीविरुद्ध अस्ट्रिया (२–१) अतिरिक्त समय
इटालीविरुद्ध बेल्जियम (२–१)
इटालीविरुद्ध स्पेन (१–१) पेनाल्टी सुटआउट (४–२)
इंग्ल्यान्डको फाइनल यात्रा
इंग्ल्यान्डविरुद्ध क्रोएसिया (१–०)
इंग्ल्यान्डविरुद्ध स्कटल्यान्ड (०–०)
इंग्ल्यान्डविरुद्ध चेक (१–०)
इंग्ल्यान्डविरुद्ध जर्मनी (२–०)
इंग्ल्यान्डविरुद्ध युक्रेन (४–०)
इंग्ल्यान्डविरुद्ध डेनमार्क (२–१) अतिरिक्त समय
यी दुई टोली पछिल्लोपटक सन् २०१८ मार्च २७ मा १–१ गोलको बराबरी खेलेका थिए । त्यसयता यी दुई टोली पहिलोपटक आमने सामने हुन लागेका हुन् । इटालीका मुख्य प्रशिक्षक रोबर्टो मान्सिनीले यस उपाधिका लागि लामो समयबाट काम गरिरहेको बताएका छन् । ‘हामीले धेरै वर्षदेखि यसका लागि काम गरिरहेका छौं । त्यसैले हामी धेरै खुसी छौं र खेलाडीलाई यस कामका लागि धन्यवाद दिन चाहन्छु ।’ मान्सिसीले भने, ‘हामीले अहिलेसम्म केही जितेनौं । हामीले आइतबार जित्नु पर्नेछ ।’ यस्तै मान्सिसीले घरेलु टिमसँग खेल्नुपर्ने हुँदा फाइनलमा ध्यान दिएर खेल्ने बताए । ‘इंग्ल्यान्डको पछाडि पुरै स्टेडियम हुनेछ । उनीहरूले हामीलाई दबाबमा राख्नेछन् । फाइनल खेल अन्य खेलभन्दा फरक हुन्छ । हामीले ध्यान दिएर खेल्नुपर्छ,’ उनले भने ।
इंग्ल्यान्डका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेट इटालीको अवरोध हटाएर इतिहास बनाउन चाहन्छन् । ‘हामी फाइनलमा छौं भन्ने तथ्यलाई हामीले रमाइलो ग-यौं । तर, हामीलाई अर्को एक ठूलो अवरोध छ । इटाली उत्कृष्ट टिम हो । पछिल्लो दुई वर्ष उनीहरू उत्कृष्ट लयमा देखिएका छन् ।’ प्रशिक्षक साउथगेट भन्छन्, ‘ठूलो खेलका लागि हेरिरहेको छु ।’
इटालीका लियोनार्दो बोनुचीले युरो कपको फाइनल इंग्ल्यान्डको घरेलु मैदानमा खेल्दा कुनै डर नहुने बताएका छन् । ‘त्यहाँ धेरै इंग्ल्यान्स टिमका समर्थक रहन्छन् तर यसले हामीलाई अतिरिक्त प्रेरणा दिनेछ,’ बोनुचीले भनेका छन् । १ हजार इटालियन समर्थकलाई वेम्वली रंगशालामा प्रत्यक्ष खेल हेर्न अनुमति प्रदान गरिएको छ । ३४ वर्षको बोनुचीले ३६ वर्षका सेन्टर ब्याक जर्जियो चिलिनीसँग सहकार्य गर्दै इंग्ल्यान्डको औसत २५ वर्षको टिमलाई रोक्ने जिम्मेवारी छ । बोनुचीले ठट्टा गर्दै फाइनल खेललाई युवाविरुद्ध बुढो मान्छेको भीडन्तका रूपमा व्याख्या गरे । ‘उनीहरूसँग निकै आक्रमक खेलाडी छन् । हामीले उनीहरूलाई ध्यान दिन आवश्यक छ र उनीहरूको सम्पूर्ण टिमलाई नजर लगाउन आवश्यक छ,’ उनले भने । ‘उनीहरूले हामीलाई पार्न सक्ने अप्ठ्याराका विषयमा जानकार छौं,’ उनले थपे ।






