उच्च सर्तकता जरुरी

 

नेपालमा हालसम्म प्राथमिकताका आधारमा नागरिकहरूले धमाधम खोप लिए पनि महामारी संक्रमणमा भने कमी आएको छैन । संक्रमितहरूको संख्यामा कमी नहुनु, खोप लिएकाहरू पनि पुनः संक्रमित हुनु आदि कारणले महामारी गम्भीर बनेको संकेत देखिन्छ । विज्ञ तथा विशेषज्ञले महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिइरहँदा नेपालमा यो समस्या अझै विकराल भएर जाने त होइन भन्ने चिन्ता पनि त्यतिकै थपिएको छ । महामारी नियन्त्रणका लागि प्रयास र पहल नभएका होइनन् । तथापि, यी कुराहरूले सार्थकता भने पाउन सकिरहेको देखिँदैन । महामारीको संक्रमण विश्वव्यापी भएको हुनाले पनि यसको नियन्त्रणमा प्रभावकारिता आउन नसकेको देखिन्छ । तथापि, चीनजस्ता देशहरूले आफ्नो देशमा महामारी संक्रमणलाई उल्लेख्य रूपमा नियन्त्रण गर्न सफल भएका छन् । यसको अर्थ हो प्रयास सफल बनाउन सरकारदेखि सामान्य नागरिकसम्म सचेत हुनैपर्छ । केन्द्रदेखि गाउँगाउँसम्म हुने र गरिने यो सचेतन प्रयत्नले मात्र महामारी संक्रमण नियन्त्रण गर्न बल पुग्छ ।

हाल देशमा कोरोना महामारी नियन्त्रणमा आउँदै छ भनिरहँदा महामारीको तेस्रो लहर देखापर्ने र त्यसले गम्भीर अवस्था निम्त्याउने विज्ञहरूको दाबी छ । त्यसो त महामारी संक्रमण नियन्त्रणका लागि एकपछि अर्को प्रयास भने जारी नै छ । साउन महिनासम्म महामारी नियन्त्रणमा आइसक्छ भनिरहँदा अहिले महामारी झन् बढेर गएको छ । यसले समयमै ख्याल नपु¥याउने हो भने पहिलो र दोस्रो लहरको जस्तो भयावह अवस्था तेस्रो लहरमा पनि खेप्नुपर्ने हुन सक्छ । यसलाई मध्यनजर गरी समयमै नियन्त्रणका थप उपाय अवलम्बन गर्न सचेत हुनैपर्छ । जसरी पहिलो लहरका उपाय दोस्रो लहर आउँदा त्यति प्रभावकारी हुन सकेनन् । त्यसैगरी, तेस्रो लहर आउँदा दोस्रो लहरमा अपनाएका उपाय प्रभावकारी हुन सक्ने देखिँदैनन् । त्यसैले पनि तेस्रो लहर रोकथामका लागि खोपको मात्रा विस्तार, स्थानीय विशिष्टतामा लागू हुन सक्नेगरी मास्क, सेनिटाइजर तथा आवश्यक उपकरणको पहिचान र व्यवस्थापन जरुरी हुन गएको छ । सिद्धान्तः जति राम्रा कुरा गरे पनि व्यावहारिक रूपमा कार्यान्वयन हुन नसक्ने खालका रोकथामका उपायले काम दिन सकिरहेका छैनन् । यसलाई मध्यनजर गरी रोकथामका उपायलाई बढी व्यावहारिक बनाउन जरुरी छ ।

त्यसैले पछिल्लो चरणमा बढ्दै गरेको कोरोना महामारी संक्रमणलाई नियन्त्रण गर्न केन्द्रदेखि स्थानीयस्तरसम्म सबैले हेक्का राख्नु जरुरी हुन गएको छ । यसका लागि सरकारले निर्वाह गर्नुपर्ने अभिभावकीय भूमिका सबैभन्दा उल्लेखनीय हुनेछ भने नागरिकस्तरमा पनि कुनै प्रकारको लापर्बाही गरिनुहँुदैन । अहिले पनि सहर बजारमा विभिन्न खाले भीड, नाराजुलुस भइरहेका छन् । त्यस्ता भीडले कोरोना फैलावटलाई बल दिने भएकाले कसैले पनि कुनै प्रकारको भीड नारा जुलुस गर्नुहँुदैन । सरकार र नागरिक दुवै पक्ष सहकार्य र समन्वयका साथ अनुशासित भएर अघि बढ्न सकेमा मात्रै कोरोना परास्त गर्न सकिन्छ ।

 

तपाइको प्रतिक्रिया
(Visited 232 times, 1 visits today)

epaper

ताजा समाचार

पूर्वप्रधानमन्त्री माधव नेपालसहित ९७ जनाविरुद्ध मुद्धा दायर