काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा आफ्नो पार्टीलाई कमजोर बनाउने काममा लागेको गम्भीर आरोप लगाएका छन् । तर, एमाले कमजोर पार्ने देउवा, दाहाल र सापकोटा तीनै जनालाई आगामी दिनमा महँगो पर्ने उनले चेतावनी दिए ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता बस्नेतले भने,‘एमालेलाई कमजोर बनाउने काममा यो सरकार व्यस्त छ । अध्यादेश जुन आएको छ, यसले त्यही पुष्टि गरेको छ । एमालेले कारबाही गरेका १४ जना सांसदलाई अहिलेसम्म पदमुक्त गरेको सूचना सभामुखबाट प्रकाशन गरिएको छन् । अध्यादेश ल्याउनुको मुख्य उद्देश्य एमाले विभाजन गर्नेमात्रै देखियो ।’
नेता बस्नेतले अध्यादेश ल्याउनुको अर्को उद्देश्य भनेको आगामी निर्वाचनमा कांग्रेसलाई बहुमतमा पुर्याउने षड्यन्त्र रचिएको सुनाए । तर, आगामी निर्वाचनमा पनि नेकपा (एमाले) नै अत्यधिक बहुमतका साथ आउने उनको दाबी थियो । उनले भने,‘हिजो दल विभाजनको लागि केन्द्रीय कमिटी र संसदीय दल दुवैमा ४० प्रतिशत हुनुपर्ने प्रावधान थियो । केपी ओली प्रधानमन्त्री हुँदा उहाँले त्यो ४० प्रतिशत प्रावधान कायमै राखेर केन्द्रीय कमिटी वा संसदीय दल भनेर राखेर अध्यादेश ल्याउँदा यहाँ कांग्रेसलगायतका दलले ठूलो हल्लाखल्ला मच्चाए । तर, त्यतिखेरको मूल मर्म के थियो भने संसदीय दल र केन्द्रीय कमिटीमध्ये एउटामा ४० प्रतिशत पुर्याउँदा दल विभाजन गर्न सजिलो थियो । तर, त्यो राजनीतिक प्रणाली बलियो बनाउनको लागि ल्याईएको अध्यादेश थियो । नेपालमा पनि अमेरिकामा जस्तै दुई दलीय प्रणालीमा लगिए राजनीतिक स्थायित्व हुन्छ भन्ने नै हो । जनताको मनोविज्ञान भनेको दुई दलीय व्यवस्था नै हो ।’
४० महिनाको अवधिमा ओली सरकारले विकास र समृद्धिको यात्रा अघि बढाएको स्मरण गराउँदै उनले अहिले ओलीको उक्त समृद्धिको यात्रामा ब्रेक लगाउने काम भएको पनि टिप्पणी गरे । उनले भने,‘केपी ओलीले सुरु गरेको समृद्धिको यात्रामा ब्रेक लगाउने काम भयो । एमाले ठूलो विभाजन गर्जनका साथ हुन्छ भनेर सुरु भएको चर्चा, अन्तिममा म्याउँ भएर टुँग्गिएको छ । माधव नेपालले हिजो बहुमत छ भन्नुहुन्थ्यो । म केपी ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउँछु भन्नुहुन्थ्यो, अहिले उहाँ २० प्रतिशतमा पुग्नुभयो । मैले बुझेअनुसार अहिले माधव नेपाललाई दल विभाजनको लागि संसदीय दल वा केन्द्रीय कमिटी दुवैमा २० प्रतिशत पुर्याउन पनि हम्मेहम्मे छ, निकै कठिन छ । अहिले उहाँले घोषणा गरेको ९५ सदस्यीय केन्द्रीय कमिटीका पनि १३ जना सदस्यहरुले हामी त्यो पार्टीमा छैनौं र जाँदैनौं भनेर नाम फिर्ता लिने स्थिति आएको छ ।’






