बाढी बढ्दा डुबाउने चिन्ता, घटदा जमिन कटानको डर

 

चिलिया टप्पु (उदयपुर) । सप्तकोशी नदीको बहाब गाउँतिर सोझिँदा बेलका नगरपालिका र बराह क्षेत्र नगरपालिका पाँच वडाका दर्जन बढी गाउँका बासिन्दा रातभर ढुक्कले निदाउन पाएका छैनन् । बाढी आउँदा डुबाउला कि भन्ने चिन्ता छ, बाढी घट्दा जमिन कटान गरेर झन् छिटो गाउँ पस्ला भन्ने डरले उनीहरुलाई सताउने गरेको छ ।

स्थानीयबासी वषौंदेखि यो समस्यासँग जुध्दै आएका छन् । कोशी सम्झौता अनुसार भारत सरकारले नदीको दुवै तर्फ तटबन्ध नबनाएका कारण पछिल्लो केही वर्षयता बाढी र डुबानको समस्या अझ बढेर गएको बताउँछन् सप्तकोशी नदीकै छेउमा घर र खेती भएका बराह क्षेत्र नगरपालिका– ६ का बाजाहाङ लिम्बु । ‘नदी पूरै गाउँतिर सोझिएको छ, ढुक्कले निदाउन पनि सकिएको छैन ।’ उनले भने ।

सप्तकोशी नदी बराह क्षेत्र नगरपालिकाको मध्यभागबाट बग्दछ । बर्खामा नदीले वर्षेनी धेरै मात्रामा जनधनको क्षति पु¥याउँदै आएको छ भने बाढी आउँदा घर जग्गा डुबाउने गरेका छ भने घट्दा किनारामा जमिन कटान तीव्र हुने गरेको छ । वर्षौदेखी यो समस्या भोग्दै आएका सप्तकोशी किनाराका हजारौंँ बासिन्दा मध्ये कतिपय घरबार बिहीन भइसकेका छन् ।

पछिल्लो समय सप्तकोशीले धार परिर्बतन गरि पश्चिम तर्फ कटान गर्दा बेलका नगरपालिका– २, ३, ८ र ९ उच्च जोखिममा परेको छ । सप्तकोशीले धार परिवर्तन गरि उदयपुरको बेलका नगरपालिका– ८ को लाहुरे खोचमा कटान गरि नदि पस्न लागेपछि सोम’bout, डुम्रीबोटे, मसानघाट, धौरी टप्पु, चिलिया टप्पु, एबीसी, श्रीलंका टापु, रामनगर, बोचि, भागलपुर, क्रान्ति टोल, बानडाँडा र कोशी टप्पु आरक्ष ४ हजार घर परिवार उच्च जोखिममा परेका हुन् ।

कोशीले ६ सय मिटर कटान गरि सकेको छ भने अब २ सय मिटर कटान गरेमा भने त्यहाँ बसोबास गर्ने ४ हजार घर परिवार बिस्थापित हुन सक्नेछन् । बराह क्षेत्र नगरपालिका– ६ का वडा सदस्य श्यामबहादुर लिम्बु भन्छन् ‘रोक थाम गर्न नसके बेलका नगरपालिकाका– २, ३, ८, ९ बराहक्षेत्र नगरपालिका– ६ सहित सप्तरीको फत्तेपुर, कन्चनरुपम, भारहद, राजबिराज हुँदै कुनैली नाका भएर नदि बग्ने छ ।’

सप्तकोशी कटानले गर्दा बराह क्षेत्र नगरपालिका– ६ चिलिया टप्पुमा रहेको बाल सेवा आधारभूत बिद्यालय, जनता आधारभूत बिद्यालय, कौशिका आधारभूत बिद्यालय बेलका नगरपालिका– ३ तर्फ सरस्वती आधारभूत बिद्यालय सहित २ वटा स्वास्थ्य संस्था बिस्थापित भई सकेको वडा सदस्य लिम्बुले बताए । त्यहाँ रहेको एकता, सिर्जना, एबिसि, गिनेरी, रामनगर, बुधवारे, चिलिया टप्पु बिस्थापित हुने तयारीमा रहेको उनले बताए । सप्तकोशीको चार वटा भगालो छ । पुर्व पट्टिको भगालोले राजाबास चक्रघट्टी तर्फ कटानलाई तीब्र बनाएको छ भने पश्चिम पट्टिको भगालोले उदयपुर तर्फको चिलिया टप्पुमा क्षति प¥याएको छ । सबै भन्दा खतरा पश्चिम भगालोमा रहेको छ ।

निरन्तरको वर्षाको कारण नदीमा बढेको पानीको बहावले स्परको करिब ६० मिटर भाग कटान गरेपछि अस्थायी रुपमा मर्मत थालेको जनाएको छ । कटान गरेको क्षेत्रमा नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी, स्थानीय तह, निमित्त प्रमुख जिल्ला अधिकारी र स्थानीय सरोकारवालाहरुले आईतवार स्थलगत अनुगमन गरि कटान रोक्नमा निगरानी गरि तत्काल मर्मत गर्न प्रदेश सरकार, प्रदेश योजना आयोग र संघिय सरकारमा आग्रह गर्ने जिल्ला विपद ब्यवस्थापन समिति उदयपुरबाट निर्णय गरि जानकारी गराएको बेलका नगरपालिकाका नगर प्रमुख दुर्गाकुमार थापाले जानकारी दिए ।

निरन्तर परेको बर्षाका कारण सप्तकोशीले पश्चिमतर्फ धार परिबर्तन गर्दा बेलका नगरपालिकाका वडा नं २ , ३ , ८ र ९ उच्च जोखिममा परेको निमित्त प्रमुख जिल्ला अधिकारी बिनोदकुमार पोखरेलले बताए । स्थलगत अनुगमनपछि आइतबार बेलका नगरपालिकाको सभा हलमा जिल्ला बिपद् व्यवस्थापन समिति उदयपुरको बैठक बसेको छ । निमित्त प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको र बैठकले सप्तकोसीमा आएको उच्च बाढीले बेलका नगरपालिका–८ लाहुरेको खोच परियोजनाबाट कटान गर्दै नदिको धार तथा बहाव नगरको २, ३, ८ र ९ तथा सप्तरी जिल्लाका विभिन्न स्थानमा समेत जनधनको क्षतिलाइ मध्यनजर गर्दै तत्कालै बाँध लगाउने, ह्याभी इकुमेन्ट प्रयोग गर्ने, सिचाइ डिभिजनसंग सहकार्यमा लन्चिङ ड्याम, स्यान्ट रकिङ र तारजाली भरि कटानका संभावित क्षेत्रका स्थानीयलाई उद्दार तथा राहतको व्यवस्थापन गर्ने निर्णय भएको नगर प्रमुख दुर्गाकुमार थापाले बताए ।

सम्झौता अनुसार भारतले काम नगर्दा समस्या

सप्तकोशी १२ वर्ष अघि १० नम्बर स्परबाट कोशी करिब ५/६ सय मिटर पश्चिम भएर बग्ने गरेको थियो । तर यो बर्ष तिव्र पानीको बेगका कारणले बहाब पूर्वी किनारामा ठोकिएको हुँदा कटान थालेको हो । बराह क्षेत्र नगरपालिकाको ११ वटा वडा मध्ये वडा नं. ३, ४ र ५ बाहेक सबै वडा सप्तकोशी नदीको उच्च जोखिममा परेको छ ।

सुनसरीको भाण्टाबारी कोशी व्यारेज देखि उत्तर बराह क्षेत्र सम्मका बांध मर्मत सम्भार गर्ने र कटान नियन्त्रण गर्ने मूख्य दायित्व भने भारत सरकारको रहेको छ । कोशी व्यारेज निर्माण गरेको बेला देखिको सो सम्झौता अनुसार भारत सरकारले बर्षेनी कटान रोक्ने प्रयास गरेपनि पूर्णरुपमा सफल हुन नसक्दा नेपाली भूभाग वर्षेनी कटान र डुबानमा पर्दै आएको हो ।
कोशी तथा बक्राहा नदि नियन्त्रण आयोजना बिराटनगरका अनुसार कोशी सम्झौता अनुसार चतरा देखि ब्यारेज सम्म सप्तकोशीको दुवै किनारा भारत सरकारले तटबन्ध निर्माण गर्ने सम्झौता छ । कटान भएको बेला अस्थायी रुपमा भारत सरकारले मर्मत गर्दै आएको भएता पनि सम्झौता अनुसार भारत सरकारले तटबन्ध निर्माण नगरेका कारण यस्तो समस्या आएको हो ।

१९५४ मा भएको त्यो सन्धि

नेपाल र भारत बिच सन १९५४ अप्रिस २५ मा कोशी सम्झौता भएको थियो । सिंचाई, यातायातको बिकास गर्ने उद्देश्यले कोशी सम्झौता भएकोे हो । भारतका तत्कालिन प्रधानमन्त्री जबहारलाल नेहरु र नेपालका तत्कालिन प्रधानमन्त्री मातृकाप्रसाद कोईराला बिच कोशी सम्झौता भएको थियो । सो कोशी सम्झौता अनुसार भारत सरकारले ब्यारेज देखि चतरा पुल सम्मको सप्तकोशी नदिको दुवै किनारामा तटबन्ध निर्माण गर्नु पर्ने सम्झौता उल्लेख छ । तर सम्झौता अनुरुप निर्माण नगरिदा यस्तो बिपत आएको हो । सप्तकोशी आसपास पुखौंदेखि बसोबास गर्दैै आएका हजारौ मानिस बिस्थापित हुने खतरामा छ । कोशीमा वर्षाको भेल बढ्न थाल्दा उदयपुर र सुनसरीका धेरै जनता तटबन्ध फुटेर निम्तन सक्ने बिपत्तिबाट त्रसित हुने अबस्था झनझन बढ्दै गएको छ ।

सम्झौता अनुसार कोशी पुलको ढोकाबाट बर्षातमा ९ लाख घन मिटर पानी रोक्ने सम्झौता थियो । तर अहिले त्यो भन्दा बढी रोक्ने गरेको पाईन्छ । ब्यारेज निर्माण पश्चात नेपाल तर्फ झण्डै ९ हजार हेक्टर जमिन सदाका लागि आहालमा परिणत भयो । पम्प नहर र बितरण प्रणालीबाट नेपालको २४ हजार हेक्टर जमिनमा सिँचाई उपलब्ध गराउने लक्ष्य सहित कोशी सम्झौता भयो । तर योजनाका कारण सप्तरीको झण्डै ३३ हजार हेक्टर जमिन उल्टै डुबानमा प¥यो । योजनाको लक्ष्यमुताबिक सबै क्षेत्रमा सिँचाई नहर कहिल्यै पुग्न सकेन । नेपालले सम्झौता अनुसार पश्चिम नहरबाट सिँचाईका लागि ७ हजार क्युसेक पानी पाउनु पर्नेमा ७२० क्युसेक पनि उपभोग गर्न पाएको छैन ।

भारतीय बिशेषज्ञ टोलीले सन १९८१ मा सप्तकोशीको बाढीले भारत तर्फका ७६८० हेक्टर र नेपाल तर्फका ७३८ हेक्टर भुमि वर्षेनी क्षति भई रहेको प्रतिवेदनमा औल्याएका थिए । वर्षा याममा सप्तकोशी नदिमा पानीको बहाब एक सेकेण्डमै २६ अर्ब घनसेन्टिमिटर सम्म पुग्दछ ।

सप्तकोशी सबै भन्दा धेरै लेदो बोक्ने नदी

जापान सरकारको जाइकाले सन १९८५ मा गरेको अध्यायन प्रतिबेदनले सप्तकोशी संसारकै बढी लेदो बोक्ने नदि मध्ये पर्दछ । जलाधारमा अत्यधिक पहिरो र भूक्षय हुने कारणले कोशीले एक वर्षमै करिब ११ करोड ९० लाख घनमिटर लेदो ओर्सादछ । सप्तकोशी नदिले आधा किलोमिटरमा साँधुरिएको स्थानमा यसले एक वर्षमा बोक्ने थिग्रेनीलाई जम्मा गर्दा यसमा आधा किलोमिटर चौडा र स्वायम्भुको डाँडो जत्रै अग्लो बाँध सजिलै बन्न सक्ने प्रतिवेदनमा उल्लेख छ । कोशीको औसत बहाब १६३८ घनमिटर प्रतिसेकेण्डलाई आधार मान्दा वर्ष भरिमा झण्डै ५२ लाख अर्ब घनमिटर पानी बग्दछ । कोशीमा एक दिन बग्ने पानीले काठमाण्डौ उपत्यकामा झण्डै २ वर्षका लागि खानेपानीको गर्जो टार्न सक्तछ । यसको कुल जलाधार क्षेत्र ९२ हजार ५ सय ३८ वर्गकिलोमिटर मध्ये ४१ हजार ३ सय ३३ वर्गकिलोमिगर नेपालमा पर्दछ ।

 

तपाइको प्रतिक्रिया
(Visited 572 times, 1 visits today)

epaper

ताजा समाचार

दोहोरो अंकले घट्यो नेप्से, कारोबार सवा चार अर्बमा खुम्चियो