मकवानपुरका सबै आइसोलेशन सेन्टर बन्द, संक्रमित घर घरमै

 

चुरे/ मकवानपुर । कोरोना संक्रमण घटेसँगै मकवानपुरमा स्थापना गरिएका सबै आइसोलेसन सेन्टर बन्द गरिएको छ ।

कोरोना संक्रमितको संख्या दैनिक रूपमा घटेसँगै आइसोलेसन सेन्टरहरू बन्द गरिएको हो । कोरोनाको दोस्रो लहरसँगै हेटौंडा उपमहानगरपालिका–६ गौरीटार रंगशालामा १ सय २० बेडको आइसोलेसन सञ्चालनमा आएको थियो ।

संक्रमितलाई आवश्यक औषधि र खाद्यान्नको समेत व्यवस्था हेटौंडा उपमहानगरले गर्दै आइरहेको थियो । पछिल्लो २ सातादेखि आइसोलेसन कक्ष संक्रमितविहीन बनेपछि बन्द गराइएको उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले बताए । जिल्लामा संक्रमितको चाप बढेसँगै जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले २ निजी अस्पताललाई पनि आइसोलेसन सञ्चालन गर्न निर्देशन दिएको थियो ।

उक्त निर्देशन अनुसार हेटौंडाको चुरेहिल अस्पतालमा १० बेडको आइसोलेसन सञ्चालनमा आएको थियो । अहिले चुरेहिल अस्पतालको आइसोलेसन पनि बन्द गरिएको छ । मनहरी गाउँपालिकाको २५ बेडको आइसोलेसन सेन्टर पनि अहिले बन्द छ ।

महामारीको क्रममा जिल्लाको १० वटै स्थानीय तहहरुले आइसोलेसन सेन्टर स्थापना गरेका थिए । अहिले १० वटै स्थानीय तहले स्थापना गरेका आइसोलेसन पनि पूर्ण रूपमा बन्द भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
पछिल्लो समय संक्रमण पुष्टि भएका अधिकांश व्यक्ति होम आइसोलेसनमै बस्न रुचाउन थालेपछि संस्थागत आइसोलेसन खालि हुने गरेको चौलागाईंले बताए । “पछिल्लो समय दैनिक ३०–४० जनासम्म संक्रमित थपिइरहेका छन् तर सबैजसोले स्वास्थ्यकर्मीको सम्पर्कमा आफ्नै घरमा बस्न रुचाउने गरेका छन्” चौलागाईंले भने “पछिल्लो समय संक्रमितहरुमा गम्भिर समस्या देखिएको छैन, तर अधिकांश संक्रमितहरू परिवारमा घुलमिल भएको पाइयो ।”

संक्रमितहरू परिवारका अन्य सदस्यसँगै खाने, बस्ने तथा घरबाहिर पनि निर्धक्क हिँडिरहेको प्रति भने उनले चिन्ता प्रकट गरे । भदौ १७ सम्म मकवानपुर जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ६१ पुगेको छ ।

 

तपाइको प्रतिक्रिया
(Visited 197 times, 1 visits today)

epaper

ताजा समाचार

आगजनीपछि बन्द भएको भाटभटेनी एक वर्षपछि खुल्यो