काठमाडौं । केही समयदेखि निमोनिया रोगपीडित अग्रज नाट्यकर्मी प्रचण्ड मल्लको ८८ वर्षको उमेरमा निधन भएको छ ।
रोगले च्यापेपछि उनलाई शुक्रबार दिउँसो २ बजे उपचारका लागि मीनभवनस्थित सिभिल अस्पतालमा भर्ना गरिएको थियो । उनको निधनस“गै नेपाली नाट्य क्षेत्रले होनहार निर्देशक, कलाकार एवं लेखक गुमाएको छ ।
स्कुले जीवनदेखि नै अभिनयमा छिरेका मल्लले वीरगन्जमा १० वर्षकै उमेरमा ‘रामलीला’ हेरे । रामसीता लक्ष्मणको अभिनय देखेपछि अभिनयमा उनको मोह बस्यो । टिफिन खर्च जोगाएरै भए पनि उनी पढाइभन्दा नाटक हेर्नतिर लाग्न थाले ।
स्कुल पढ्नेक्रममा मल्लको रुचि अभिनयतर्फ देखेपछि ठूलो दाजु सुरेन्द्र मल्लले उनलाई कलाकार बनाउन नाट्यसम्राट बालकृष्ण समकहाँ पु¥याए । त्यतिबेला सम सिंहदरबारलगायत थिएटरमा नाटक मञ्चन गर्थे । नेपाल कला मण्डल स्थापना गरेर रंगकर्म अघि बढाउने तयारी गर्दै थिए, सम ।
प्रचण्डको अभिनयप्रति लगाव देखेर समले चेला बनाएर नाटकमा काम गराए । समसँग केही समय अभिनय प्रशिक्षण लिएपछि उनकै निर्देशनमा ‘अमरसिंह’ नाटकमा पहिलोपटक प्रचण्ड देखापरे । सम मातहत रहँदा मल्लले उनकै निर्देशनमा ‘भीमसेनको अन्त्य’, ‘प्रल्हाद’, ‘राजेन्द्रलक्ष्मी’सहित विभिन्न नाटकमा अभिनय गरे ।
नाटकमा अझ पोख्त हुन मल्ल २०२४ सालमा रुसको मस्को गए । त्यहाँ नाटक अध्ययन गरे । रुसको आधुनिक थिएटरसम्बन्धी शिक्षा लिएर नेपाल फर्किएपछि नाटकका सम्पूर्ण विधामा होमिए, उनी । यसपछि उनको नाटक निर्देशन यात्रा सुरु हुन्छ । उनले लेखन तथा निर्देशनमध्ये ‘गंगालालको चिता’, ‘तिलगंगा’जस्ता केही नाटक लोकप्रिय छन् ।
‘अमरसिंह’बाट नाट्य यात्रा सुरु गरेका मल्लले जीवनकालमा तीनभन्दा बढी नाटकमा अभिनयसँगै लेखन तथा निर्देशनसमेत गरे । आधुनिक नाटकको स्टेज निर्माण, संयोजनदेखि प्रस्तुतिसम्ममा उनको विशेष दख्खल थियो । मल्लले नेपाली तथा अन्तर्राष्ट्रिय रंगमञ्चसम्बन्धी नै आधा दर्जन पुस्तकसमेत लेखे । ‘नेपाली रंगमञ्च’, ‘भ्रातृप्रेम’, ‘तिलगंगाः ऐतिहासिक नाटकसंग्रह’ ‘पश्चाताप’लगायत उनका प्रकाशित कृति हुन् ।
मल्लले नेपाल प्रज्ञा प्रतिष्ठान नाट्य विभागमा रहेर लामो समय काम गरे । प्रारम्भिककालमा बालकृष्ण सम पनि प्रतिष्ठानमै थिए । समपछि प्रतिष्ठानले दिने नाट्यसम्बन्धी प्रशिक्षणमा मुख्य प्रशिक्षक भएर उनले कैयौं नाट्यकर्मी जन्माएका छन् ।
प्रज्ञा प्रतिष्ठान मात्र नभएर अन्यत्र हुने नाटक मञ्चनका लागि स्टेज सज्जा, प्रकाश व्यवस्थानदेखि मञ्च निर्माणसम्ममा मल्ललाई बोलाएर अरू नाट्यकर्मीले सल्लाह लिन्थे । काठमाडौंका अधिकांश नाट्य मञ्च डिजाइन मल्लले नै गरेका थिए । प्रज्ञा प्रतिष्ठान कमलादी, राष्ट्रिय नाचघर, राष्ट्रिय सभागृह, पुलिस क्लब, सेनाको मञ्च तथा भृकुटीमण्डप मञ्चसमेत उनैले निर्माण गरेका हुन् । प्रज्ञा प्रतिष्ठानबाट अवकाशप्राप्त भएको केही वर्षपछि उनी नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा उपकुलपति भएर चार वर्ष सेवा गरेका छन् ।
मल्लको शुक्रबार साँझ पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । उनको परिवारमा एउटी छोरी छिन् ।






