साढे चार महिनामा २९ अर्ब ८५ करोड रूपैयाँ वैदेशिक लगानी

काठमाडौं । चालू आर्थिक वर्षको बितेका साढे चार महिनामा २९ अर्ब ८५ करोड रूपैयाँको वैदेशिक लगानी भित्रिएको छ । सो लगानी चालू आवको बितेका चार महिना गत १५ मंसिरसम्मको हो । यस अवधिमा भएको कुल विदेशी लगानीमध्ये चीनको हिस्सा सबैभन्दा धेरै देखिएको छ । कुल विदेशी लगानीमध्ये चीनबाट मात्रै ७९ प्रतिशत लगानी भित्रिएको छ ।

उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको १५ मंसिरसम्ममा २९ अर्ब ८५ करोड रूपैयाँको वैदेशिक लगानी भित्रिएको छ । जसमध्ये चीनबाट मात्रै २३ अर्ब ५४ लाख रूपैयाँ बराबरको लगानी आएको छ । कुल वैदेशिक लगानीमा चीनको हिस्सा ७८.८६ प्रतिशत छ ।

सो अवधिमा कुल १ सय २० उद्योगमा विदेशी लगानी आएको छ । यसमध्ये चीनबाट मात्रै १ सय १ उद्योगमा लगानी आएको छ । चीनबाट आएको लगानीमध्ये ठूलो हिस्सा सेवामूलक क्षेत्रमा बढी छ ।

सबैभन्दा धेरै चीनबाट भित्रियो, प्राथमिकतामा सेवाक्षेत्र

उद्योग विभागका अनुसार चालू आर्थिक वर्षमा चीनबाट सेवामूलक क्षेत्रका ३४ उद्योगका लागि ११ अर्ब १० करोड रूपैयाँ बराबरको लगानी आएको छ । सेवामूलक क्षेत्रका ३५ उद्योगमा विदेशी लगानी आएकोमा अर्काे एउटा उद्योगको लागि स्पेनबाट ४ अर्ब ८५ करोड रूपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको हो । सेवामूलक क्षेत्रका ३५ उद्योगका लागि कुल १५ अर्ब ९५ करोड रूपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।

यसैगरी, कृषि तथा वन पैदावारमा आधारित उद्योगमा चीनबाट चारवटा लगानी प्रतिबद्धता आएको छ । प्रतिउद्योगमा १५ करोडका दरले ४ उद्योगमा ६० करोड लगानी प्रतिबद्धता आएको विभागको तथ्यांकमा उल्लेख छ । सो अवधिमा ऊर्जामूलक उद्योगमा नेदरल्यान्डबाट एक उद्योगमा ५ करोड ६० रूपैयाँ, सूचना, सञ्चार तथा प्रसारण प्रविधिमा आधारित ६ उद्योगमा ४५ करोड लगानी आएको छ । जसमा चीनबाट दुई उद्योगमा २५ करोड, बेलायतबाट एक उद्योगमा ५ करोड र अमेरिकाबाट ३ उद्योगमा १५ करोड लगानी प्रतिबद्धता आएको छ ।

त्यसैगरी, उत्पादनमूलक १९ उद्योगमा ३ अर्ब २४ करोड रूपैयाँ लगानी प्रतिबद्धता आएको छ । जसमा चीनबाट १४ उद्योगमा २ अर्ब, भारतबाट ३ उद्योगमा २४ करोड र सिंगापुरबाट एक उद्योगमा १ अर्ब र जापानबाट ५ करोड रूपैयाँ लगानी प्रतिबद्धता आएको छ ।

यसैगरी, पर्यटनसँग सम्बन्धित ५५ उद्योगमा ९ अर्ब ५५ करोड रूपैयाँ प्रतिबद्धता आएको छ । जसमा सबैभन्दा धेरै चीनबाट ४७ उद्योगमा ९ अर्ब १५ करोड लगानी प्रतिबद्धता आएको छ । त्यस्तैगरी, भारतबाट एक उद्योगमा ५ करोड, अमेरिकाबाट तीन उद्योगमा १५ करोड, स्विट्जरल्यान्डबाट, इटाली, फान्स र भितनामबाट एक÷एक उद्योगमा ५÷५ करोड लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 408 times, 1 visits today)

epaper

ताजा समाचार

बस्ती छाड्दै मनोहराका सुकुमवासी, आज साँझदेखि डोजर चलाउने तयारी