राजनीतिमा युवा अझै पछाडि

यतिबेला नेकपा एमाले, नेपाली कांग्रेसलगायत राजनीतिक दलका केन्द्रीय अधिवेशन सकिएका छन् । नेकपा माओवादीको भने यो आलेख तयार पार्दासम्म अधिवेशन सञ्चालन हुँदै थियो । आजसम्म उसको पनि नेतृत्व चयनसम्बन्धी स्पष्ट खाका आइसकेको हुनुपर्छ । सबैजसो दलमा मुख्य नेतृत्व पुरानै अनुहार दोहोरिएको पाइन्छ । सबै दलले राजनीतिमा युवालाई महत्व दिएको भने पनि आजसम्मको अवस्थालाई हेर्दा युवा नेतृत्व पुस्तान्तरण (प्रौढबाट युवामा सर्ने) त धेरै परको विषय भयो हस्तान्तरण (समकक्षीलाई नेतृत्व छाडने)सम्म पनि सहजै हुन सकेको छैन । यसले गर्दा सबैजसो राजनीतिक दलमा युवाको उपस्थिति नगण्य नै देखिन्छ । राप्रपामा उमेरगत हिसाबले नेतृत्वमा युवा अनुहार आए पनि विचारका हिसाबले भने ती अनुहारले पुरातन पन्थकै अनुुसरण गर्ने देखिन्छ । यसर्थ नेतृत्वसँगै विचार र दृष्टिकोणमा पनि युवापन (नवीनता) आउन जरुरी छ ।

नेपाली कांग्रेसभित्र गगन थापा र विश्वप्रकाश शर्माको उदय परम्परावादी नेतृत्वको चाहनाविपरीत आफ्नै पहलको प्राप्ति मात्र हो । सो पार्टीभित्र प्रदीप पौडेलको युवा जोस र हिम्मत अन्य युवाहरूका लागि पनि अनुकरणीय छ । नेकपा एमालेमा त पुस्तान्तरणभन्दा हस्तान्तरणका लागि समेत कार्यकर्ता इच्छुक देखिएनन् । गत अधिवेशनमा भीम रावलको झिनो मतविरुद्ध पार्टी अध्यक्षमा केपी शर्मा ओलीले पाएको प्रचण्ड मतले यही कुराको संकेत गर्छ । यद्यपि, सो दलमा जिल्ला तथा प्रदेश तहका लागि भने युवाहरूको प्रतिनिधित्व उल्लेख्य रूपमा भएको छ । केही दिनपछि जिल्ला नेतृत्वको निक्र्योल हुँदा वास्तविक युवा कति भित्रिए त्यतिबेला मात्र समीक्षा गर्न सकिएला । पुस्तान्तरण नचाहे पनि नेपाली कांग्रेसभित्र हस्तान्तरण चाहनेहरू अधिक रहेछन् भन्ने कुरा पार्टी सभापतिमा शेरबहादुर देउवाविरुद्ध शेखर कोइरालाले पाएको प्रतिस्पर्धी मतले पुष्टि गर्छ ।

युवाहरू जिन्दावाद र मुर्दावादको नारामा माइतीघर मण्डलामा मात्र कैद हुने कि सानदार रूपमा सिंहदरबार पनि छिर्ने

नेकपा माओवादीभित्र भने नेतृत्व न पुस्तान्तरण न हस्तान्तरणको अवस्था देखिन्छ । विगतभन्दा पृथक केही हुनेजस्तो देखिँदैन । युवालाई नेतृत्व हस्तान्तरणको प्रसंगमा सो दलका नेता मातृका यादवले अधिवेशनको उद्घाटन सत्रमा नै अनुुभवी नेतालाई पन्छाएर अनुुभवविहीन युवामा नेतृत्व हस्तान्तरणको सोच पुँजीवादी सोच हो भन्दै अध्यक्ष प्रचण्डले नेपाली क्रान्तिको बाँकी अभिभारा पूरा नगरी धर नपाउने भनेर प्रचण्डकै निरन्तरताको संकेत गरिसकेका छन् । तैपनि १५ पदाधिकारीसहित २ सय ९९ केन्द्रीय समितिका लागि निर्वाचन कार्यतालिका भने सार्वजनिक गरेको छ ।

युवाशक्ति
हरेक देशको तागत त्यस देशका युवासँग निहित हुन्छ । यसैले युुवाशक्तिलाई राष्ट्रको पुँजी पनि मानिन्छ । सामान्यतया शारीरिक र मानसिक विकासका दृष्टिले किशोर र वयस्क अवस्थाबीच उमेर समूहलाई युवा भन्ने चलन छ । यो जनसंख्याको सर्वाधिक सक्रिय, ऊर्जावान् र गतिशील समूह पनि हो । संसारभर युवाको परिभाषा उमेरका आधारमा फरकफरक रूपमा गर्ने गरिएको पाइन्छ । नेपालका सन्दर्भमा राष्ट्रिय युवा परिषद् ऐन २०७२ तथा राष्ट्रिय युवा नीति २०७२ ले १६ देखि ४० वर्षको उमेर समूहभित्रको जनशक्तिलाई युवा मान्ने गरेको छ । नेपालको कुल जनसंख्यामध्ये यो उमेरको जनसंख्यालाई हेर्दा कुल १ करोड ७ लाख युवा रहेको देखिन्छ ।

कुल जनसंख्याका हिसाबले हेर्दा ४०.३५ प्रतिशत यो समूहमा पर्छन् । युवा विकास सूचकांकमा नेपाल विश्वमा ७७औं स्थानमा छ । १९.२ प्रतिशत युवा आज पनि पूर्ण बेरोजगार छन् । ३६ प्रतिशतभन्दा बढी युवा अर्धबेरोजगार रहेका छन् । कृषिमा संलग्न युवा ५०.२ प्रतिशत छन् । २६.१ प्रतिशत युवा स्नातक भइकन पनि बेरोजगार छन् । प्रतिवर्ष ५ लाख ३८ हजार युवा बिदेसिने गरेको पाइन्छ । यो दर हेर्दा लगभग प्रतिदिन १ हजार ५ सयको हाराहारीमा युवा बिदेसिने गरेको तथ्यांकले देखाउँछ । यसरी बिदेसिनेमध्ये ७४ प्रतिशत युवा अदक्ष छन् । उनीहरू विदेशमा गएर यही काम गर्ने भन्ने कुनै टुंगो छैन । जे पायो त्यही गर्ने सर्तमा विदेश गएका हुन्छन् । २४ प्रतिशत अर्धदक्षसम्म छन् । २ प्रतिशत मात्र दक्ष छन् ।

मातृका यादवले अधिवेशनको उद्घाटन सत्रमै अनुुभवी नेतालाई पन्छाएर अनुुभवविहीन युवामा नेतृत्व हस्तान्तरणको सोच पुँजीवादी भएको भनेका छन्

हाम्रो रेमिट्यान्समा यिनै विभिन्न खाले युवाहरूको महत्वपूर्ण देन छ । राष्ट्रिय अर्थतन्त्रमा २९ प्रतिशत योगदान यिनै युवाको रेमिट्यान्सले पुु¥याएको छ । दुःखको कुरो स्वदेशमा काम नपाएर खाडी मुलुकसमेत जान बाध्य यिनै युवाहरूमध्ये प्रतिदिन सरदर ३ देखि ४ वटा बाकसमा उनीहरू स्वदेश फर्कने गरेको विकराल अवस्थासमेत हामीसँग छ । जनसंख्याको ४० प्रतिशतभन्दा बढी संख्या रहेको, अत्यधिक ऊर्जावान् जनसंख्याभित्र पर्ने यो वर्गलाई बाहिर पलायन हुनबाट जबसम्म रोक्न सकिँदैन, तबसम्म मुलुकले गति लिन सक्दैन । आजका युवा नै भोलिका राष्ट्रका कर्णधार हुन् । उनीहरूलाई उचित शिक्षादीक्षा, रोजगारको व्यवस्था गरी नेपालको शान्ति र समृद्घिमा सरिक गराउनु आजको आवश्यकता हो । पूर्ववर्ती ओली सरकारले अघि सारेको ‘समृद्ध नेपाल र सुखी नेपाली’को परिकल्पना साकार पार्न पनि यिनै जोस, जाँगर र क्षमतावान् युवाकै जरुरी पर्छ र यसका लागि युवालाई राजनीतिमा सक्रिय रूपमा अगाडि बढाउनुपर्ने देखिन्छ ।

असमान्य राजनीतिक अवस्थामा युवा
विगत एक वर्षको अवस्था हेर्दा नेपालको राजनितिक स्थिति कुन दिशामा जाँदै छ हामी देख्न सक्छौं । संसद् विघटन र पुनर्जीवित भएपछि अन्योलमा परेको राजनीतिक अवस्था कस्तो होला भन्ने चिन्ता सबैमा छ । युवाहरू जिन्दावाद र मुर्दावादको नारामा माइतीघर मण्डलामा मात्र बस्ने कि सानदार रूपमा सिंहदरबार पनि छिर्ने ? अब हरेक युवाले सोच्नुपर्ने बेला आएको छ । यसका लागि आफ्नो पार्टीमा नै विद्रोह गर्नुपर्ने भएको छ । आजका युवा उमेरका हिसाबले मात्र होइन विचारका हिसाबले पनि युवा हुन सक्नुपर्छ । पुरानो विचार बोक्ने, अग्रगमनको मार्गमा हिँड्न नखोज्ने युवाहरू युवा भएर पनि राजनीतिमा सहयोगी हुँदैनन् । यसर्थ उमेर, विचार र सोचले नितान्त नवीनपना भएका, खारिएका र परिवर्तनका संवाहक युवावर्गको राजनीतिमा सहभागिता आजको आवश्यकता हो । हरेक दलले यसका लागि सानै अवस्थादेखि युवालाई राजनीतिक संस्कार दिन जरुरी छ । देशले खोजेको पनि संस्कारी युवा नै हो ।

बीपी कोइराला त्यत्रो राणाशासनविरुद्ध कमान्डर बन्ने बेलामा ३५ वर्षका मात्र थिए । राजनीतिमा उत्कर्षमा आउँदा मदन भण्डारी युवा नै थिए । उनले जुन राजनीतिक उचाइ पाएँ, युवा हुँदा नै पाए । आज पनि चिलीका राष्ट्रपति गाब्रियल बोरिच ३५ वर्षका छन् । उतिबेला नेपाली कांग्रेसभित्र गणतन्त्रको बहस चलाउने गगन थापा कान्छा कार्यकर्ता थिए । ‘राजनीतिमा होमिन नचाहनेले आपूmभन्दा असक्षमबाट शासित हुने सजाय पाउँछन्’ भनेर प्लेटोले भनेका थिए । यसकारण अब युवाहरू पनि राजनीतिमा विद्रोह गरेर भए पनि देखिनुपर्छ । नेपाली कांग्रेसभित्र प्रदीप पौडेलको उम्मेदवारी, नेकपा माओवादीभित्र लेखनाथ न्यौपानेको उपस्थिति र फरक मत दर्जजस्ता घटनाले यही कुराको संकेत गर्छ ।

हरेक पार्टीमा बोल्दा युवा चाहिन्छ भन्ने तर व्यवहारमा युवालाई पिछट्ने परिपाटी राजनीतिक वृत्तमा सहजै देखिन्छ । युवाहरूले मूलधारमा आउन अनेकौं चुनौती सामना गर्नुपरेको छ । आगामी दिनहरूमा युवा प्रवेशका लागि राजनीतिमा तेस्र्याइएका व्यवधान क्रमशः हटाउँदै जानुपर्छ । युवाका लागि नीति, कार्यक्रम तथा युवा टिकाउका उपाय अवलम्बन गर्दै जान सकेमा मात्र राजनीतिमा युवाको सार्थक उपस्थिति सम्भव देखिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 792 times, 1 visits today)

epaper

ताजा समाचार

असोजमा भित्रियो कीर्तिमानी २ खर्ब ६७ अर्ब रुपैयाँ रेमिटेन्स