बाग्मती प्रदेशमा सत्तारूढ गठबन्धन निर्वाचित हुने निश्चित

काठमाडौं । १२ माघमा हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बाग्मती प्रदेशमा २ सिटका लागि ६ जनाबीच प्रतिस्पर्धा हुन गइरहेको भए पनि सत्तारूढ गठबन्धनका उम्मेदवार नै निर्वाचित हुने निश्चित देखिएको छ । मतभारका आधारमा सत्तारूढ गठबन्धनको जित सुनिश्चित देखिएको छ ।

मतभारका आधारमा प्रमुख प्रतिपक्षी दल एमाले थोरै मतभारले पराजित हुने देखिएको छ । निर्वाचनमा सत्तारूढ पाँच दलीय गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले बाग्मती प्रदेशमा साझा उम्मेदवारी दर्ता गराएका छन् । प्रमुख प्रतिपक्षी एमाले र नेमकिपाले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् ।

बाग्मती प्रदेशमा दलहरूको मतभार
एमालेः ४१३४
कांग्रेसः २२६२
माओवादीः १७१६
एकीकृत समाजवादीः ९३०
विवेकशील साझाः १४४
नेमकिपाः १३२
राप्रपाः १३२
जसपाः ४८
सत्तारूढ गठबन्धनः ४९५६
सत्ताइतरः ४५४२

प्रतिपक्षी दल कमजोर भए पनि एकआपसमा तालमेल गरेका छैनन् । प्रतिपक्षी दलले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गर्दा सत्तारूढ दललाई विजयी बन्न सहज हुने देखिन्छ । यद्यपि, प्रतिपक्षी सबै दल मिल्दासमेत सत्तारूढ गठबन्धनका उम्मेदवारलाई पराजित गर्न कुनै भने सम्भावना छैन । उता, उम्मेदवारहरू मत माग्न व्यस्त छन् ।

बाग्मती प्रदेशमा महिलातर्फ एक र अन्य समूहतर्फ एक गरी दुई सिटका लागि ६ जना प्रतिस्पर्धामा रहेका छन् । महिलातर्फको एक सिटका लागि सत्तारूढ गठबन्धनबाट एकीकृत समाजवादीकी गोमादेवी तिमिल्सिना, एमालेकी निरकुमारी कुँवर र नेमकिपाकी गीता काफ्लेले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, अन्य समूहतर्फको एक सिटका लागि सत्तारूढ गठबन्धनबाट कांग्रेसका कृष्णप्रसाद पौडेल, एमालेबाट गोपाल शाक्य र नेमकिपाबाट कृष्णबहादुर तामाङले उम्मेदवारी दर्ता गराएका छन् ।

कसको मतभार कति ?
संघीय राजधानीसमेत रहेको बाग्मती प्रदेशमा १ सय ९ प्रदेशसभा सदस्य रहेका छन् । यस्तै प्रमुख, उपप्रमुख २ सय ३७ जना रहेका छन् । यिनीहरूले नै राष्ट्रियसभा सदस्यका उम्मेदवारलाई मतदान गर्ने कानुनी व्यवस्था रहेको छ । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभार १८ हो । बाग्मती प्रदेशमा जम्मा मतभार ९ हजार ४ सय ९८ रहेको छ । प्रदेशसभाका सदस्यको ५ हजार २ सय ३२ र स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभार ४ हजार २ सय ६६ हो ।

सत्तारूढ गठबन्धनमा रहेको कांग्रेसको बाग्मती प्रदेशमा सांसद संख्या २२ र स्थायी तहको प्रमुख, उपप्रमुखको संख्या ६७ रहेको छ । जसको मतभार २ हजार २ सय ६२ हुन्छ । माओवादी केन्द्रको सांसद संख्या २३ र स्थानीय तहको प्रमुख, उपप्रमुखको संख्या ३४ रहेको छ । जसको मतभार १ हजार ७ सय १६ हुन्छ । एकीकृत समाजवादीको सांसद संख्या १३ र स्थानीय तहको प्रमुख, उपप्रमुखको संख्या १७ रहेको छ । जसको मतभार ९ सय ३० हुन्छ । जसपाको सांसद संख्या १ मात्रै रहेको छ । बाग्मती प्रदेशमा जसपाको स्थानीय तहको प्रमुख र उपप्रमुखको संख्या शून्य रहेको छ । जसपाको मतभार ४८ रहेको छ ।

प्रमुख प्रतिपक्षी दल एमालेको बाग्मती प्रदेशमा सांसदको संख्या ४३ र स्थानीय तहको प्रमुख, उपप्रमुखको संख्या १ सय १५ रहेको छ । यस आधारमा एमालेको मतभार ४१ सय ३४ हुन्छ । यस्तै विवेकशील साझा पार्टीको सांसद संख्या ३ रहेको छ । प्रमुख, उपप्रमुखको संख्या शून्य रहेको विवेकशीलको मतभार १ सय ४४ छ । नेमकिपाको सांसद संख्या २ र प्रमुख, उपप्रमुखको संख्या पनि २ रहेको छ ।

यस आधारमा नेमकिपाको मतभार १ सय ३२ हुन्छ । यस्तै राप्रपाको सांसद संख्या २ र प्रमुख, उपप्रमुखको संख्या पनि २ नै रहेको छ । यस आधारमा राप्रपाको मतभार १ सय ३२ हुन्छ । बाग्मती प्रदेशमा सत्तारूढ गठबन्धनको मतभार ४ हजार ९ सय ५६ हुन्छ । सत्तारूढबाहेकका दलले समेत गठबन्धन गर्दा उनीहरूको मतभार ४ हजार ५ सय ४२ मात्रै हुन्छ ।

आफ्नो दलबाट उम्मेदवारी दर्ता नगराएका तर केही मतभार रहेका विवेकशील र राप्रपाले कसलाई समर्थन गर्ने भन्ने निर्णय अझै गर्न सकेका छैनन् । यद्यपि, यिनीहरूले एमालेलाई समर्थन गर्ने निर्णय गर्दा समेत सत्तारूढ गठबन्धनलाई केही फरक पर्ने देखिँदैन ।

तपाइको प्रतिक्रिया
(Visited 331 times, 1 visits today)

epaper

ताजा समाचार

१७ असार २०८३