ओमिक्रोन संक्रमणको ग्राफ उकालो लागिरहेका बेला सरकारले सार्वजनिक स्थानमा हिँडडुल गर्न खोप कार्ड अनिवार्य रूपमा साथमा राख्नुपर्ने आदेश जारी गरेपछि यसले खोप लगाउन अटेरी गर्नेहरूलाई एउटा सीमाभित्र ल्याउन सहयोग गर्ने देखिएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले यस्तो निर्णय गरेपछि सबैको ध्यान खोपतिर डोरिएको छ । पछिल्लो समयमा ओमिक्रोनको संक्रामक र भयावह अवस्थालाई सबैले महसुस गरेपछि खोप लगाउनेहरूको संख्या पनि बढेर गएको छ । माघ ७ गतेदेखि नै सार्वजनिक स्थानमा हिँडडुल गर्दा खोप कार्डको अनिवार्यताले सबैलाई सचेत मात्र होइन, व्यवहारतः बाध्य पनि बनाउन पुगेको छ । यसको कार्यान्वयन पनि बेलैमा हुन जाने भएकाले यसले सकारात्मक परिणाम दिने स्वास्थ्यविद्हरूको विश्वास देखिन्छ । व्यवहारतः मानिसले के गर्छ भन्नेभन्दा पनि उसको सोच कस्तो रहेको छ भन्ने कुरा प्रमुख हो । जीवनमा गरिने हरेक काम उसको सोचबाट निर्देशित र परिचालित हुन्छन् । यस्तो अवस्थामा व्यवहारतः अनिवार्य गरिएको खोप कार्डले मानिसलाई समयमै खोप लिनुपर्ने सोचको निर्माण गर्न र तदनुरूपको कार्य गर्न सघाउ पु-याउँछ ।
जनताको स्वास्थ्यका लागि गरिएको यो पहलले सरकारलाई पनि केही कुरामा सतर्क रहन तथा तदारुकताका साथ कदम चाल्न निर्देशन गरेको छ । सीसीएमसीको निर्णय कार्यान्वयन गर्दा सरकारले अहिलेसम्म अभाव रहेको खोपको आवश्यक मात्रा समयमै पूरा गर्न सक्नुपर्छ । सहर तथा गाउँगाउँमा खोपको आवश्यक मात्रा समयमै पु¥याउनुपर्छ । किनकि, जनताको ठूलो हिस्सा अझै पनि खोपको सुविधाबाट वञ्चित छ । यसका लागि खोप दिइने पुरानो तरिकामा पनि सुधार ल्याउनु जरुरी छ । वडा र सरकारी कार्यालयमा मात्र पहुँच भएको खोपलाई विशेष व्यवस्थासहित चोक चोकमा पु¥याउनुपर्छ । अर्कोतिर खोप लिनकै लागि दिनहुँ लाइन कुर्नुपर्ने बाध्यता र झन्झटको अन्त्य गरिनुपर्छ । यसका लागि सरकारले जनताको घरदैलो नजिक खोप कसरी पु¥याउने भन्ने कुराको पनि हेक्का राख्नुपर्छ । मानिस बिहानदेखि दिउँसोभर लाइमा लाग्नुपर्ने र खोप लगाउने पालो आउला भन्ने बेलामा आजको खोप सिद्धियो भनेर गेट बन्द गरिदिने नियमित नियतिको अन्त्य गरिनुपर्छ । यति मात्र गराउन सकियो भने पनि मानिस खुसीका साथ खोप लिने र खोप कार्यमा सहभागी हुने देखिन्छ ।
यिनै कुरालाई ध्यानमा राखेर सरकारले अझै पनि जनमैत्री खोप अभियान अघि बढाउनुपर्छ । रातदिन भिर, पखेरा र नदीनालाको जोखिममाा काम गर्ने नेपाली जनताले यो कोभिड महामारी भन्ने पनि पचाएपछि पच्दो त रहेछ भन्ने भान परिसकेको छ । तर, उनीहरूलाई यदि हामीले खोप लिएनौ भने हाम्रा कारणले अरूलाई असर गर्छ भन्नेसम्मको लामो सोच राखेको देखिँदैन । अर्कोतिर सरकारले यदि असमान रूपमका खोप वितरण गरिरहने हो भने यसले जति खोप लगाए पनि काम गर्ने देखिँदैन । यसका लागि समान रूपमा खोप वितरणका लागि चुस्त समयतालिका निर्माण गरिनुपर्छ । होइन भने पहुँच हुने ठाउँ र सहरमा बुस्टर डोज लगाइसक्ने तर छेउमा बसेकालाई पहिलो डोज पनि नदिने हो भने रोग त सर्छ नै, त्यसमा पनि सरकारको खोप खर्च बेकारमा जान्छ ।






