चमत्कारको अर्को नाम नै शिक्षा

शिक्षालाई आविष्कारको जननी भनिन्छ । विकासको पूर्वाधार र चेतनाको संवाहक मानिन्छ । प्रसिद्घ दार्शनिक एरिस्टोटलको शब्दमा व्यक्ति, समाज र राष्ट्रको आर्थिक समृद्घिको आधार हो शिक्षा । चाल्र्स रंगेलका अनुसार मानिसलाई अज्ञानता र गरीबीसँग लड्न योग्य बनाउने माध्यम हो शिक्षा । शिक्षाको परिभाषा एउटै छैन । यसको कार्य पनि व्यापक छ । उपलब्धि आश्चर्यजनक छ । चामत्कारिक छ । आज शिक्षाको कारणले विश्व हाम्रा पूर्खाले कल्पना नै नगरेको विकास र जीवनशैलीमा परिणत भएको छ । विशेष गरेर प्रथम विश्वका देशहरूले गरेको विज्ञानको विकासले संसारलाई एउटा गाउँ जस्तो बनाएको छ । सञ्चार र यातायातले विश्वलाई जोडेको छ ।

पाँच दशक यता मानव जीवनको समस्त क्षेत्रलाई प्रभाव पार्न सफल विज्ञान शिक्षा चमत्कारको एउटा उपलब्धि हो, कम्प्युटर र यसभित्र विकास भएको नेटवर्क सञ्जाल । कम्प्युटरमा जडित इन्टरनेटको सुविधाले आज हरेक भूगोलमा भएका हरेक विषयको अध्ययन गर्न पाइने भएको छ । गुगल हरेक विषयको गुरु भएको छ । गुरुको पनि गुरु हो गुगल । आजको आधुनिक समाजमा कम्प्युटरको प्रयोग व्यापक छ र यसको उपयोगले मानिसको रहन, सहन, कार्यशैली, उद्योग, व्यापार, शिक्षा, यातायातलगायत हरेक क्षेत्रमा परिवर्तन ल्याएको छ । आज विमान उडाउनेदेखि लिएर गाडी गुडाउने काममा कम्प्युटरको प्रयोग भएको पाइन्छ । अन्तरिक्षमा जाने रकेट, कृत्रिम भू–उपग्रह, र अन्तरिक्षयानको गति नियन्त्रण गर्न समेत कम्प्युटरको प्रयोग गरिएको छ । यो विज्ञान शिक्षाको चमत्कार हो । आश्चर्य जनक उपलब्धि हो ।

आज विज्ञान र प्रविधिको विकासले पृथ्वीलोक मात्र साँघुरिएको छैन । पृथ्वीलोकबाहिर अन्तरिक्षमा रहेको सौर्यमण्डलका ग्रहहरूमा मानिस परिक्रमा गरिरहेका छन् । पृथ्वीलोकबाहिर अन्तरिक्षमा भएका अन्य लोकहरू मानिसको नियन्त्रणमा आउन थालेका छन् । विकसित देशले शिक्षाको जगमा टेकेर मंगल, बृहस्पति एवं शुक्रग्रहमा मानवबस्तीको अध्ययन गरिरहेका छन् । यसका लागि मानवसहित र रहितका यानहरू खोजी कार्यमा व्यस्त छन् । अमेरिकाले बृहस्पतिमा पानी भेटिएको र भविष्यमा यो ग्रह मानव बस्तीका लागि उपयुक्त हुनसक्ने भनाइ बाहिर ल्याएको छ ।

यसैगरी विकसित देशले एकपछि अर्को अन्तरिक्षयानको उडान गर्दै आएका छन् । भविष्यमा पृथ्वीको कक्षमा अरू ग्रहमा पठाइने यानको भीड हुने अवस्था सिर्जना हुने देखिएकाले केही समय अगाडि विकसित देशले अन्तरिक्षका स्थानको भागबन्डा गर्न अस्ट्रियाको राजधानी भियनामा सम्मेलन गरेका थिए । कस्तो आश्चर्य विश्व जगत्का उल्लेखित अविष्कार एवं उपलब्धि शिक्षाको चमत्कार त हुन् नि । शिक्षाको चमत्कारको कुरा गर्दा अर्को एउटा आश्चर्य जनक उपलब्धि हो, यन्त्रमानवको विकास र यसको उपयोग । यन्त्रमानवलाई रोबोट भन्ने गरिन्छ । आज विकसित देशले घरयासी कामदेखि औद्योगिक क्षेत्रमा यन्त्रमानवको प्रयोग गर्दै आएका छन् ।

राज्यले शिक्षाको चामत्कारिक तागतलाई बुझ्न सकेन

मानिसले जस्तै अझै इमानदारीका साथ काम गर्ने यन्त्रमानवको निर्माण भएका छन् । मानिसले गर्न नसक्ने दुसाध्य कामहरू गर्न यन्त्रमानवको प्रयोग गरिएको छ । यन्त्र मानवका क्रियाकलापहरू पनि कम्प्युटरबाट नै नियन्त्रित हुन्छन् । यिनीहरूको कार्य क्षमताको कुरा गर्दा समुन्द्रको गहिराइमा गएर अराएको आवश्यक काम गर्नेदेखि बलिरहेको आगोमा समेत काम गर्नसक्ने क्षमता छ यिनीहरूसँग । यसका साथै घरयासी काममा पनि यन्त्रमानवले मानिसलाई सहयोग गरेका छन् ।

कुचो लगाउन, चिया ल्याउन, भाँडा माभ्mन, चौकीदारी गर्न, पाहुनाको स्वागत गर्न, बालबालिकाको हेरचाह गर्न, घाँस काट्न, गमलामा पानी हाल्न, रुखबाट पाकेका फलहरू टिप्न, अस्पतालमा रोगीको कुरुवा बस्न, अन्धालाई बाटो देखाउन आदि कामहरू गर्न मगज, मुटु र रगतबिनाका यन्त्रमानवहरू सञ्चालित छन् । यस्तो आश्चर्य जनक उपलब्धि हासिल गर्ने माध्यम शिक्षा हो । चामत्कारिक उपलब्धि आविष्कार गर्नसक्ने वैज्ञानिक उत्पादनको स्रोत शिक्षा हो । आज अन्तरिक्षमा बसाइँसराइ गर्ने पर्खाइमा रहेका विकसित मुलुकको मूल ढोका त्यहाँको सिर्जनात्क शिक्षा हो । वैज्ञानिक शिक्षा हो । शिक्षा अनुसन्धानको माध्यम, उत्खननको सहयोगी र उपयोग गर्ने सीपको आधार हो ।

आज मानवलाई नयाँ ग्रहमा बसाइँसराइ गर्ने सम्भावनाको प्रतीक्षामा पु¥याउने अवस्थाको सिर्जना केवल राजनीति सिद्घान्तका आधारमा भएको होइन । शिक्षाको तागतले हो । यसरी हेर्दा शिक्षा राजनीति दर्शन र विकास निर्माणको कार्य क्षमताको पनि गुरु हो । शिक्षाले सामाजिक रूपान्तरण, आर्थिक विकास, सांस्कृतिक जागरण, धार्मिक चिन्तनको विकास र संशोधन एवं राजनीतिक सिद्घान्तको प्रतिपादन गर्दछ । यसले भौतिक विज्ञान र प्रविधिको क्षेत्रमा मात्र चमत्कार गरेको छैन । सामाजिक विज्ञानको क्षेत्रमा पनि यसको चमत्कारपूर्ण योगदान रहेको छ । एकातिर समाजका विश्वास, चालचलन, विचार र अनुभवबाट निर्माण भएका सामाजिक मूल्य र मान्यतालाई संरक्षण, संवद्र्धन र विकास गर्ने काममा शिक्षाको ठूलो भूमिका छ भने अर्कोतिर यिनीहरूलाई तर्कशास्त्रका आधारमा समयसापेक्ष बनाउने काम पनि गरेको छ ।

शिक्षाको चमत्कारबाट निर्मित यन्त्रमानवले मानिसलाई घरयासी काममा पनि सहयोग गरिरहेको छ

समाजमा रहेका परम्परागत, रूढीवादी, अन्धविश्वास र सामाजिक समस्या समाधानको उपाय पनि शिक्षा नै हो । शिक्षा हरेक धर्मको पनि गुरु हो । निर्देशक हो । शिक्षाले हिन्दु धर्मावलम्बीका लागि वैदिक शास्त्रीय ज्ञानका साथै देवीदेवताको प्रार्थना, आरधना, पूजा तथा उपसनाका विधिको ज्ञान दिलाउँछ भने बुद्घमार्गीका लागि बुद्घका उपदेशहरू सिकाउँदछ । मुसलमान समुदायमा कुरान धर्मग्रन्थका मूल्य र मान्यताहरू सिकाउँछ । इसाई, जैन, मुन्धुम, बोन, कन्प्mयुसियसलगायतका धार्मिक सम्प्रदायमा तत्अनुरूपका ज्ञान, उपदेश, संस्कार, चलन एवं व्यवहारलाई पुस्तान्तरण गर्न सहयोग गर्दछ । शिक्षाको अर्को नाम चमत्कार भए तापनि यसका चामत्कारिक उपलब्धि व्यवहारमा उपयोग गर्नका लागि तत्अनुरूपको शिक्षाको खाँचो हुन्छ । हाम्रो देशको सन्दर्भमा शिक्षाले चामत्कारिक काम गर्न सकेको छैन ।

हाम्रो शिक्षा वैज्ञानिक, अनुसन्धानमूलक, सिर्जनात्मक एवं व्यावहारिक नभएको सबैले स्वीकार गरिसकेको अवस्था छ । त्यसैले त समाज भोक, रोग, शोक, अशिक्षा, अन्याय, अत्याचार, शोषण, दमन उत्पीडन र पछौटेपनबाट ग्रस्त छ । यी सबै रोगको अचुक औषधि पनि शिक्षा नै हो । शिक्षाबिना न त सामाजिक चेतनाको विकास हुन्छ न त आर्थिक समृद्घि नै । जबसम्म देशमा गुणस्तरीय शिक्षाको अभाव हुन्छ, तबसम्म समाजको संमृद्घि राजनीतिक भाषणमा मात्र सीमित रहन्छ । जो भइरहेको छ । यो मुलुकमा आवश्यकभन्दा बढी राजनीतिक परिवर्तन भए, जनआन्दोलनहरू भए ।

राजनीति गर्नेहरूले विकास र संमृद्घिको आधार जनताको अधिकार भएको नारा घन्काए । समाजलाई उत्तेजित बनाए । समाजमा सबैको बराबर अधिकार भएपछि समाज बद्लिन्छ भने । नयाँ संविधान बनाएपछि देश सिंगापुर हुन्छ भने । सामाजिक रूपान्तरण र आर्थिक विकास हुन्छ भने, यस्तो भयो त ? भएन । यो नितान्त राजनीतिशास्त्रीको यान्त्रिक चिन्तन हो । वस्तुपरक सोचाइ होइन । समाजमा राजनीति बद्लियो, व्यवस्था फेरियो । किन समाज बद्लिएन ? किन सामाजिक चेतना फेरिएन ? किन आर्थिक समृद्घि भएन ? जवाफ एउटै हो, शिक्षाविना कुनै पनि क्षेत्रको चामत्कारिक विकास सम्भव नै छैन र हुँदैन पनि । हाम्रो देश प्राकृतिक स्रोत र साधनले सम्पन्न छ । जल, जमिन, जंगल प्रशस्त छ । प्रकृतिमा अथाह खनिज पदार्थ, पेट्रोलियम पदार्थ, जडीबुटी, उर्वर भूमि, जैविक विविधता, सांस्कृतिक, ऐतिहासिक सम्पदाहरू, पर्यटकीयस्थल लगायतका स्रोत र आधार यथेष्ट छन् । भू–गर्भमा सुन, चाँदी, हिरा, मोती, फलाम, पेट्रोलियम पदार्थहरू छन् ।

उल्लेखित खनिजहरू यी ठाउँहरूमा छन् भनेर अरू देशका वैज्ञानिकले सूचना दिनुपर्ने अवस्था छ । यसको पछाडि गुणस्तरीय एवं वैज्ञानिक शिक्षाको अभाव हो । राज्यले शिक्षाको चामत्कारिक तागतलाई बुभ्mन नसक्नु पर्छ । तसर्थ शिक्षाले चमत्कार गर्नुभन्दा अगाडि आजको शिक्षा पद्घतिलाई बदलेर गुणस्तरीय बनाउन चमत्कार गर्नुपर्ने आवश्यक छ । सबैलाई चेतना भया ।

तपाइको प्रतिक्रिया
(Visited 656 times, 1 visits today)

epaper

ताजा समाचार

मलेसियामा नेपालीको पीडादायी कथा : ६ वर्षमा २,२१४ जनाको मृत्यु