व्यक्तिमा भ्रष्ट आचार भएपछि भ्रष्टाचार हुने गर्छ । भ्रष्टाचार भ्रष्ट आचारसँग जोडिएको हुनाले पद र शक्तिको दुरुपयोग गरी पैसा कुम्ल्याउने कार्य मात्र भ्रष्टाचार होइन । भ्रष्ट आचारबाट सिर्जित हरेक अनियमिता, ठगी, बेइमानीजस्ता कार्यहरू भ्रष्टचारसँग जोडिएका हुन्छन् । भ्रष्टाचार कोभिड वा अन्य रोग जस्तै एक्कासि उत्पन्न हुने महामारी होइन । यो मानव निर्मित आचारसँग जोडिएको सामाजिक रोग हो । अहिले मुलुकमा एकपछि अर्कोगरी आर्थिक अनियमितताका घटना आउने गरेका छन् । यसको पछिल्लो प्रकरण बतास अर्गनाइजेसनसँग जोडिएको काण्ड हो । यसरी हेर्दा मुलुकमा जताततै भ्रष्टाचार, अनियमितता, कमिसन, सेटिङको सञ्जाल यत्र, तत्र, सर्वत्र फैलिएको अवस्था छ ।
नेपालमा भ्रष्टाचार धेरै पुरानो रोग हो । अझै संघीय राज्य व्यवस्था भएपछि त यसको क्षेत्र व्यापक भएर गएको पाइन्छ । अहिले सिंहदरबारभित्र रहेको भ्रष्टाचारको सञ्जाल यत्र, तत्र, सर्वत्र फैलिएको जानकार बताउँछन् । तथ्यांकहरूले पनि यही पुष्टि गर्छन् । हाम्रो देश दक्षिण एसियाका २७ वटा देशमा बंगला देश र पाकिस्तान पछाडि तेस्रो भ्रष्टाचार हुने मुलुकमा थियो । अहिले तिनीहरूलाई पनि पछाडि पार्दै भ्रष्टचारको अगुवाइ गरेको छ । भ्रष्टाचारको अंक बढेर अर्बैंमा पुगेको छ । अझै पछिल्लो समयमा त सरकारी जग्गा, गुठी, धर्मशाला, वनबाटिका, ताल, तलैया आदि इत्यालीमा संस्थागत भ्रष्टचार हुने गरेका छन् । न्यायालय, शिक्षालय वा कुनै पनि कार्यालय भ्रष्टाचारबाट मुक्त भएको भेटाउन गाह्रो छ ।
भ्रष्टाचार दुरुपयोग निवारण आयोगमा बर्सेनि १९–२० हजारसम्म भ्रष्टाचारसम्बन्धी उजुरी पर्ने गरेको तथ्यांक छ । तथापि, भ्रष्टलाई कारबाही भएको पाइँदैन । कालेकाले मिलेर खाऔं भालेको संस्कृति राजनीतिक उच्चतहदेखि, जनप्रतिनिधि, प्रशासन प्रमुख हुँदै कतिपय सरकारी अड्डाहरूमा टप टु डाउन सञ्जालका रूपमा व्याप्त छ । एकातिर दलका शीर्ष भनिनेहरू भ्रष्टचारमा संलग्न भएको समाचार आउने गरेका छन् भने अर्कोतिर उनीहरूको भ्रष्ट आचारको फाइदा लिँदै बिचौलिया, ठेकेदार तथा सेवाग्राही पनि आप्mनो फाइदाका लागि भ्रष्टहरू खोज्दै हिँड्ने गरेको पाइन्छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको दिव्य उपदेशमा घुस लिन्या र दिन्या दुवै देशका शुत्र हुन् भन्ने छ । यिनीहरू विकास र सुशासनका शत्रु नै हुन् । यी शत्रुलाई सामाजिक बहिष्कार गर्न सक्ने चेतनाको स्तरमा नेपाली समाज पुगेको छैन । कहिले पुग्ला ?
संघीय राज्य व्यवस्था आएपछि भ्रष्टाचारको क्षेत्र अझ व्यापक भएर गएको छ
ट्रास्परेन्सी इन्टरनेसनलको तथ्यांकअनुसार भ्रष्टाचार नहुने देशहरूको सूचीमा पहिलो नम्बरमा डेनमार्क छ । यसैगरी क्रमशः न्युजिल्यान्ड, फिनल्यान्ड, सिंगापुर एवं स्विडेनलगायतका देश पर्छन् । यी राष्ट्रका राज्य प्रमुख, उच्चपदस्थ कर्मचारीलगायत सचेत नागरिकहरूले देश र जनताप्रति गर्नुपर्ने कर्तव्य र सामाजिक दायित्वप्रति इमानदार भएकाले भ्रष्टाचार नभएको हो । त्यहाँको राज्य नागरिकप्रति जवाफदेही भई विधिको शासनमा राज्य सञ्चालन भएकाले भ्रष्टाचार नभएको हो । त्यहाँको सामाजिक चेतनाको स्तर उच्च रहेकाले यसो भएको हो । यसरी हेर्दा भ्रष्टाचार न्यूनीकरण गर्न सामाजिक सचेतनाको पनि ठूलो भूमिका रहने गर्छ ।
हाम्रो देशमा भ्रष्टाचारको सञ्जाल सिधा, टेडो, घुमाउरो, सांकेतिक, संस्थागत अनेक रूपमा सञ्चालित छ । यसको नेतृत्व राजनीतिक संयन्त्र र प्रशासनतन्त्रले गरेको छ । सेवाग्राहीलाई हैरान पारेर आर्थिक फाइदा लिने कार्यशैली प्रशासनतन्त्रको पुरानो नै संस्कृति हो । लोकतन्त्र भनिए तापनि अहिलेसम्म देशको कर्मचारीतन्त्रमा कुनै पनि परिवर्तन भएको छैन । कर्मचारीतन्त्रमा लालफिदाशाहीको प्रभाव व्याप्त छ । माथिको आदेश भन्ने, फाइल लुकाउने, रहस्यमय बनाउनेजस्ता कार्य प्रशासनतन्त्रको संस्कृति जस्तै बनेको छ । ससाना कुरामा पनि टिप्पणी उठाउने, अनावश्यक रूपमा फाइल घुमाउने, आवश्यक नपर्ने प्रशासनिक शाखा र प्रशाखाको राय, सल्लाह लिनुपर्ने झन्झट अहिले पनि उस्तै छ । प्रशासकहरूमा प्रभुत्ववादी चिन्तन झन् बढेर गएको पाइन्छ । यो पट्यार लाग्दो प्रक्रिया ढिलासुस्ती र भ्रष्टाचारसँग जोडिएको प्रस्ट हुन्छ ।
राज्यले बनाएका नीतिनियम, कानुनलाई कार्यान्वयन गरी जनतालाई सेवासुविधा उपलब्ध गराउने दायित्व कर्मचारीतन्त्रको हो । सरकारका नीति तथा निर्णयलाई कार्यान्ययन गर्ने संयन्त्र पनि कर्मचारीतन्त्र हो । जनताले प्राप्त गर्ने सेवासुविधा र विकास निर्माणका कार्यहरूका आधारमा सरकारको सफलता र असफलताको मापन हुन्छ । कर्मचारीतन्त्र चुस्त, दुरुस्त, विकासमुखी, सेवामैत्री नबनेसम्म न त सेवाग्राहीले समयमा सेवा पाउन सक्छन् न त विकास निर्माणका कार्य नै सम्पन्न हुन सक्छन् । मन्त्रालयमा आउने विभागीय मन्त्री र उनीहरूलाई नियन्त्रण गर्ने प्रधानमन्त्री सक्षम, स्वच्छ चरित्रको भएमा यी संयन्त्र इमानदार हुने थिए । अभिभावक नै भ्रष्ट भएपछि त्यसअन्तर्गतका निकाय भ्रष्ट हुनु अस्वाभाविक होइन । केही अपवाद छाडेर हालसम्म नेतृत्वमा पुग्नेहरूको आचार भ्रष्ट भएकाले हरेक निकाय कमजोर भएको अवस्था छ ।
सुशासनबिना देशमा गुणस्तरीय विकास सम्भव हँुदैन । जसले सुशासन स्थापना गर्नुपर्ने हो उही व्यक्ति वा निकायले कुशासनलाई बढावा दिने गरेकोले दण्डहीनता बढेको हो । अहिले सेटिङ मिलाएर देशलाई खोक्रो बनाउने काम भइरहेको छ । राज्यको बागडोरमा पुगेकाहरू नै सेटिङमा संलग्न भएका समाचार आइरहेका छन् । हाम्रा नेतागणहरू आप्mनो पद, पदीय मर्यादा, देश र जनताप्रतिको गैरजिम्मेवार बन्दै गएकोे महसुस हुन्छ । देशको प्रधानमन्त्री स्वच्छ एवं निष्पक्ष भएमा ऊअन्तर्गतका विभागीय मन्त्री र प्रशासनतन्त्र अनुशासित हुनेमा दुईमत नै छैन । दृष्टान्तका लागि सिंगापुरका राष्ट्रनिर्माता लि क्वान युले आफ्नै सहकर्मीमित्रलाई गैरजिम्मेवार काम गरेकाले जेलमा कोचेर भनेका थिए, उनका लागि एउटा मित्रभन्दा सिंगापुरका जनता र देशको समृद्घि ठूला हुन् । यस्तो चिन्तनबाट प्रशिक्षित राजनेता नहुनु नेपाल र नेपालीहरूको दुर्भाग्य हो । देशमा नेतृत्वमा पुगेकाहरूमा देश र जनताभन्दा उनीहरूको आप्mनो दल, आप्mना मान्छे र अनियमितता नै प्रिय छ । त्यसैले यत्र, तत्र, सर्वत्र अनियमितता छ । जनआक्रोश छ ।
नीति नियम बनाउने र कार्यान्वयन गर्नेको मति नै भ्रष्ट भएको आजको अवस्थामा समाज सचेत हुन जरुरी छ
राजनीतिमा सक्षम र राम्रा मान्छेभन्दा पनि जस्ता भए पनि हाम्रा मान्छे राम्रा भन्ने नातावाद, कृपावाद र झोलावाद र आफन्तवाद नै राजनीतको ठूलो समस्या हो । संस्थान, प्राधिकरण, निगम, नियोगलगायतका राजनीतिक नियुक्ति हुने कार्यालयमा भागबन्डा गर्ने र आफ्नो मान्छे नियुक्ति गर्ने कार्यले सक्षम व्यक्ति पाखा लगाइएका छन् । मेरिटोव्रmेसीको कुनै गुन्जायस छैन । सक्षम, अनुभवी एवं योग्यभन्दा आफ्ना राजनीतिक आस्था भएका वा पैसाले आप्mना बनाइएकाहरूको वर्चस्व व्याप्त छ ।
कुनै पनि देशको राजनीतिले हरेक क्षेत्रमा प्रभाव पार्दो रहेछ । नेपाली जनताले प्रजातन्त्र वा लोकतन्त्र जे भनेता पनि सक्षम व्यक्तिलाई निर्वाचित गर्न पाएका छैनन् । दलको चुनाव चिह्नमा मत दिएर सक्षम व्यक्तिको चयन नहुँदो रहेछ । दलभित्र राजनीतिको माथिल्लो तहमा पुग्न लागि अध्ययन, अनुसन्धान, कार्ययोजना, देश विकासको मार्गचित्र नभए तापनि दलको शीर्ष नेता हुन केहीले छेक्दो रहेनछ । उमेर, ज्येष्ठता, जेलमा बसेको अवधि, युद्घको नेतृत्व, दलमा समूहगत गुटबन्दीमा अब्बल, जालजेलजस्ता कुराले नेतृत्वमा पुग्ने राजनीतिक अभ्यासका कारण देशले राज नेता पाउन सकेन ।
विश्व प्रख्यात कवि कार्ल कोरसले भ्रष्टाचार अत्यन्तै खराब कार्य भएकाले यसले भ्रष्टहरूलाई नैतिक पतन गराउनुका साथै देशको नैतिकता नै ध्वस्त पार्ने कुरा भनेका छन् । अहिले देशको नैतिकता अन्तर्राष्ट्रियस्तरमा गिराउने काम भ्रष्टहरूले गरेका छन् । यस सन्दर्भमा कार्ल कोरसले भनाई मेल खाएको देखिन्छ तर भ्रष्टहरू नैतिक पतन हुन बाँकी छ । भ्रष्टहरूले आपूmलाई नैतिक पतन सम्झेका छैनन् । उनीहरूलाई नैतिक रूपमा पतन गराउनका लागि नागरिक सचेत भई यिनीहरूलाई सामाजिक बहिष्कार गर्न जरुरी छ ।
अन्त्यमा भ्रष्टाचार या त शुद्घ आचार विचारको बलमा निर्मूल हुन्छ । या त भ्रष्टचारमा संलग्नलाई कडा दण्डको व्यवस्था र निर्ममतापूर्वक कार्यान्वयनले नियन्त्रण गर्न सकिन्छ । नीति नियम बनाउने र कार्यान्वयन गर्नेहरूको मति नै भ्रष्ट भएको आजको अवस्थामा समाज सचेत हुन जरुरी छ । भ्रष्टाचारविरुद्घमा सबै नागरिक एक जुट हांै । भ्रष्टहरूलाई सामाजिक बहिष्कार गरांै । समाजबाट लघारौं । भ्रष्टहरूको सञ्जाल तोड्ने काम गरौं ।






