मध्यपहाडी लोकमार्ग समयमै सम्पन्न गर

राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण सुरु गरिएको पुष्पलाल राजमार्ग अर्थात् मध्य–पहाडी लोकमार्ग निर्माण कार्यमा निकै ढिलासुस्ती हुँदै जानथालेपछि यसले सम्बन्धित सबैलाई प्रश्नको घेराभित्र उभ्याएको छ । कोरोना महामारीका बेला कहिले प्राविधिक त कहिले जनशक्तिका कारण हुन जाने सानातिना कमी कमजोरी र ढिलाइ त हुन सक्छन्, तर चरम लापरबाही र ढिलासुस्ती भने स्विकारयोग्य हुन सक्दैनन् । त्यसमा पनि आयोजना निर्माण कार्य सम्पन्न गरिसक्ने म्याद केवल डेढ वर्ष मात्र बाँकी रहँदा कुल निर्माण कार्यको ४० प्रतिशत भाग निर्माण गरिन बाँकी रहनु आफंैमा चरम लापरबाही हो । आयोजनाले हालसालै प्रस्तुत गरेको निर्माण कार्यमा हाल प्राप्त भौतिक प्रगति ५९ दशमलव ४२ प्रतिशत मात्र रहनुले पनि यस कुरालाई पुष्टि गर्दछ । काम समयमा कमी रहेको होइन, तर कामका लागि जिम्मा लिने ठेकेदार, कामको ठेक्का दिने निकाय, यसको अनुगमन, निरीक्षण तथा सुपरीवेक्षण गर्ने विभाग तथा प्रधानमन्त्रीको प्रत्यक्ष मातहतमा रहेको राष्ट्रिय गौरवका आयोजना हेर्ने निकाय समेतको यसमा चरम लापरबाही देखिन आएको छ ।

निर्माण प्रक्रियागत कुरा त यतिसम्म पनि बाँकी छ कि अझै पनि दुई दर्जन पुल तथा करिब साढे २ सय किमी सडक ठेक्का दिनसमेत कानुनी प्रक्रिया अघि बढाइएको छैन ।

निर्माण कार्य आर्थिक वर्ष २०६४÷६५ मा सुरु भएको दिनदेखि गणना गर्दा अहिले १२ वर्ष नाघिसकेको छ । नेपालीमा उखान छ, १२ वर्षमा खोलो पनि फर्कन्छ । तर, मध्यपहाडी लोकमार्ग पूरा हुन सकेन । आर्थिक वर्ष २०७९÷८० मा सम्पन्न भइसक्नुपर्ने राष्ट्रिय गौरवको यो आयोजना अहिले पनि कछुवाको गतिमा घिस्रिइरहेको छ । यसको गति र अवस्था देख्दा नेपालमा हाल भइरहेका राष्ट्रिय गौरवका आयोजना यही हालतमा छन् भन्ने एकीन हुन आउँछ । देशभरका राष्ट्रिय गौरवका निर्माण कार्य यस्तो हालतमा रहँदा यसले राष्ट्रिय लज्जाको परिचय दिइरहेको छ । यस्ता कछुवा गतिमा हुने विकास निर्माण कार्यले नेपालमा अघि बढाइएका कुनै पनि विकास निर्माणका कार्य यही गतिमा तन्कने गरिरहेका छन्, जहाँ समय र बजेटको अनाश्यक खर्च भइरहेको छ । यस्ता गतिहीन कामले गर्दा नेपालमा आशातीत विकास निर्माणका प्रतिफल हात लाग्ने देखिँदैन । नेपालमा लोकतन्त्र आएका बेला उत्साहपूर्ण राजनीतिक वातारण बनिरहँदा मध्यपहाडी लोकमार्ग निर्माणको नीति तथा योजना तय गरी कार्यान्वयनको शिलान्यास गरिएको थियो ।

यो बेलामा नेताले नेपाललाई रातारात विकास गरेर देखाइदिने भाषण गर्न उछिनपाछिन गरिरहेका थिए । राजनीतिक क्रान्ति सकिएको र अबका दिनमा विकास निर्माणको क्रान्तिले मात्र जनता र देशको मुहार फेरिदिने दाबा गरिरहेका थिए । मध्यपहाडी लोकमार्गले महेन्द्र राजमार्गले झैं सिंगो पहाडी भूभागलाई एउटै मेरुदण्डमा जोड्ने र त्यहाँका जनताको आर्थिक–सामाजिक उत्थानका लागि ठूलो टेवा पु¥याउने सोच राखिएको थियो । तर, भनेको समयमा काम सम्पन्न हुन नसक्दा यसले जनतामा निराशा ल्याउन थालेको छ । निर्माण कार्य त समयभित्रै हुन सकिरहेको छैन नै, अझै पनि २५ वटा पुल र २ सय ३६ किलोमिटर सडकको ठेक्का दिन बाँकी छ । कहिले ठेक्का दिने र काम सम्पन्न हने हो जब कि पूर्वयोजनाअनुसार यो काम अबको एक–डेढ वर्षभित्रमा सम्पन्न भइसक्नुपर्छ । त्यसैले यसमा कुनै ढिलाइ नगरी तोकिएको समयभित्र मध्यपहाडी लोकमार्गको निर्माण कार्य सम्पन्न गर ।

तपाइको प्रतिक्रिया
(Visited 1,193 times, 1 visits today)

epaper

ताजा समाचार

असोजमा भित्रियो कीर्तिमानी २ खर्ब ६७ अर्ब रुपैयाँ रेमिटेन्स