काठमाडौं । बलरहरू कप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र कमलसिंह ऐरीको उत्कृष्ट प्रदर्शनमा नेपालले आईसीसी टी–२० विश्वकप ग्लोबल छनोट ‘ए’मा घरेलु टोली ओमानमाथि ३९ रनको सानदार जित हात पारेको छ । ब्याटिङमा कमजोर प्रदर्शन गरे पनि नेपालले बलिङमा उत्कृष्ट प्रदर्शन गरेपछि सानदार जितसहित विजयी सुरुवात गर्न सफल भएको हो । यो जितसँगै समूह ‘बी’मा रहेको नेपालको शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्ने सम्भावना बलियो बनाएको छ ।
१ सय १८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको ओमान १७ ओभरमा ७८ रनमा अलआउट हुन पुग्यो । ओमानका विकेटकिपर नसिम सुखीले सर्वाधिक २४ रन बनाए पनि अन्य ब्याटर नेपालको धारिलो र कसिलो बलिङसामु निरीह बन्यो । तीव्र गतिका बलर कमलसिंह ऐरीले पहिलो ओभरको तेस्रो बलमै ओपनर कस्याप प्रजापतिलाई शून्यमा दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट गराए । दोस्रो ओभरको पाँचौं बलमा जितेन्द्र मुखियाले अयान खानलाई ३ रनमा आसिफ शेखबाट क्याच गराउँदै नेपाललाई उत्कृष्ट सुरुवात दिलाए ।
छैटौं ओभरको दोस्रो बलमा दीपेन्द्रले ओमानका प्रमुख ब्याटर जितेन्द्र सिंहलाई ९ रनमा रन आउट गराएपछि नेपालले खेलमा हाबी बनेको थियो । त्यसपछि नेपालले लगातार विकेट लिँदै जितलाई सहज बनायो । सन्दीप लामिछानेले खवर अलीलाई सातौं ओभरको चौथो बलमा ७ रनमा बोल्ड आउट गरेपछि ओमानलाई ३१–४ को कमजोर अवस्थामा पुगेको थियो ।
दीपेन्द्रसिंह ऐरीको आठौं ओभरको पाँचौं बलमा कप्तान जिशान मकसुद कुशल भुर्तेलबाट २ रनमा क्याच आउट भए । सोएब खानलाई अभिनाश बोहराले १ रनमा आसिफ शेखबाट क्याच गराउँदा ओमान ८.५ ओभरमा ३५–६ को दयनीय अवस्थामा पुगेको थियो । अभिनाश बोहराको ११औं ओभरको दोस्रो बलमा आसिफले विकेटकिपर नसिम खुसीको सामान्य क्याच २ रनमा ड्रप गर्दै जीवनदान दिएका थिए । १३औं ओभरको पहिलो र चौथो बलमा सन्दीपलाई खुसीले छक्का प्रहार गर्दै ओमानलाई आशा दिलाएका थिए ।
तर, पाँचौं बलमा उनलाई २४ रनमा बोल्ड हुन पुग्दा नेपाल जिततर्फ अघि बढ्यो । दीपेन्द्रले आमिर कलिमलाई ९ रनमा एलबीडब्लू आउट गर्दै नेपालको जित सहज बनाए । नेपालका कमलसिंह ऐरीले ३ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । अभिनाश बोहरा र जितेन्द्र मुखियाले समान १–१ विकेट लिए ।
त्यसअघि ओमानको मस्कटमा रहेको अल अमरेत क्रिकेट ग्राउन्ड–१ मा शुक्रबार टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १७ रन बनाएको थियो । नेपालका आरिफ शेखले ३७ बलमा २ चौकासहित सर्वाधिक ३८ रन बनाए । कप्तान सन्दीप लामिछाने ७ बलमा समान १ चौका र छक्कासहित १६ रनमा अविजित रहे । नेपालका ओपनर आसिफ शेख र कुशल भुर्तेल सुरुवातमै आउट भए हुन पुगे ।
बिलाल खानको पहिलो ओभरको अन्तिम बलमा आसिफ ४ रनमा क्याच आउट भए । बिलालकै तेस्रो ओभरको चौथो बलमा अर्का ओपनर कुशल ५ रनमा क्याट आउटकै सिकार भए । दुवै ओपनर आउट हुँदा नेपालले १२ रन मात्र बनाएको थियो । ज्ञानेन्द्र मल्ल सातौं ओभरको पाँचौं बलमा १५ रनमा बोल्ड हुँदा नेपाल ३३–३ को अवस्थामा पुगेको थियो । ज्ञानेन्द्र आउट भएको दुई ओभरपछि प्रमुख ब्याटर दीपेन्द्रसिंह ऐरी पनि ११ रनमा आउट भएपछि नेपाल समस्यामा परेको थियो । १४औं ओभरको दोस्रो बलमा लोकेश बम १६ रनमा क्याच आउट भए ।
अलीको १६औं ओभरको अन्तिम बलमा विवेक स्विच हिट सट खेल्नेक्रममा फैज बटबाट ७ रनमा क्याच आउट भए । कमलसिंह ऐरी १ रनमा आउट भए । ओमानका स्पिनर खवर अलीले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । बिलाल खानले ३ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । फैज बट र जिशान मकसुदले १–१ विकेट लिए । नेपालले दोस्रो खेलमा शनिबार फिलिपिन्ससँग खेल्नेछ ।
विश्वकप छनोटमा नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह ‘बी’ र टेस्ट टोली आयरल्यान्ड, यूएई,
बहराइन र जमर्नी समूह ‘ए’मा छन् । हरेक समूह शीर्ष दुई दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । ८ देशबीच हुने प्रतिस्पर्धाबाट फाइनल पुग्ने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा अस्ट्रेलियामा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् ।





