संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिकामा किर्ते कागज गरेर जग्गा जालसाजी गरेको आरोपमा वडाध्यक्ष र मालपोतका नायव सुब्बा सहित ७ जनालाई पक्राउ गरेको छ । भोटखोला गाउँपालिका–४ का वडाध्यक्ष किन्साङ भोटे सहितको टोलीले स्थानीय दलबहादुर तामाङको २७ रोपनी जग्गा जालसाजी गरी आफन्तको नाममा पास गरेको खुलेको छ । वडा अध्यक्ष भोटे, मालपोत कार्यालयका कर्मचारी सहित ७ जनाको टोलीले मृतक तामाङमाको नाममा रहेको जग्गा अर्काको नाममा पास गरेको अभियोगमा पक्राउ गरी सार्वजनिक गरेको हो ।
जग्गा जालसाजी गरेको आरोपमा पक्राउ परेका सात जनालाई शनिवार जिल्ला प्रहरी कार्यालय संखुवासभाले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा वडा नम्बर ४ अध्यक्ष भोटे, सोही वडाका सुरेन्द्र तामाङ, कप्पना भोटे, ङिमा लाजुङ भोटे, खाँदबारी–१ का हाल मालपोल कार्यालय खाँदबारीमा कार्यरत महेन्द्रकुमार पराजुली, मकालु गाउँपालिका–४ घर भाई खाँदबारीमा लेखापढी व्यवसाय गर्ने अनिष गुरुङ र चैनपुर नगरपलिकाका पासाङ शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएपी लालध्वज सुवेदीले बताए । पक्राउ परेका वडा अध्यक्ष एमालेबाट निर्वाचित भएका थिए । दलबहादुरको मृत्युपछि उनको जग्गाको हकवाला एक मात्र सन्तान बिममाया तामाङ हुन् । उक्त जग्गा ७५ वर्षिय छोरी बिममाया नाममा यही फागुन २ मा नामसारी भएको खुलेको छ । तर, विममायालाई आफ्नो नाममा जग्गा नामसारी भएको कुनै जानकारी दिइएन । प्रहरीका अनुसार मृतकको नाममा रहेको जग्गा नामसारी गर्न आवश्यक पर्ने कागजतहरु नागरिकताको प्रतिलिपी, घरबाटो सिफरिस तथा जग्गा नामसारी गर्ने सिफारिस समेत वडा अध्यक्षले भोटेले खाँदबारीमै बसेर तयार पारेका थिए ।
प्रहरीका अनुसार उनीहरुले अपर अरुण जलविद्युत् आयोजनास्थलको मुआब्जा क्षेत्रमा पर्ने जग्गा स्थानीय ७५ वर्षीय वृद्धालाई ललाईफकाई गरेर रजिस्ट्रेसन पास गरेको खुलेको छ । मुआब्जाभित्र पर्ने २७ रोपनी जग्गा एक लाख दिएर पास गरेको अनुसन्धानले देखाएको छ । २७५ कित्ताको जग्गा पासाङ शेर्पाको एकल नाममा र २८० कित्ताको जग्गा कल्पना भोटे र डिमालाजुङ भोटेको नाममा संयुक्त रजिस्ट्रेसन पास गरिएको छ । बिक्री भएको दुई कित्तामध्ये २७५ नम्बरको जग्गा फागुन १६ गते पासाङ शेर्पाको नामबाट कविता पराजुलीको नाममा रजिस्ट्रेसन पास गरिएको छ ।
वडा अध्यक्ष भोटे लगायतले वृद्धा भत्ता मिलाई दिन्छौ भनि बिममायालाई खाँदबारी ल्याएका थिए । फाल्गुन २ मा ७५ वर्षिय तामाङलाई आँखा कम देख्ने, कान कम सुन्ने र अनपढ भएकाले झुक्याएर पक्राउ परेकाहरुले जग्गा आफ्न्तको नाममा नामसारी गरेको प्रहरीले जनाएको छ । जग्गा पास गरेको राती ति वृद्धालाई घर पु-याई वृद्धभत्ता बापतको पैसा भनी २० हजार रुपौयाँ र लालपूर्जा दिएको पिडतले बताएको प्रहरीले जनाएको छ । हाल खाँदबारी बस्दै आएका सुरेन्द्र तामाङले उक्त जग्गाको हकवाला नाताले आफ्नो फुपु पर्ने बिममायाको रहेको र उक्त जग्गा रजिष्ट्रेसन पास गर्ने कुरामा उनी र वडा अध्यक्षको छलफल गरी योजना बनाएर पास गर्न लागि परेको खुलेको छ ।
उक्त जग्गा नामसारी गर्न वडा अध्यक्षले मालपोत कार्यालय खाँदबारीका कर्मचारी महेन्द्रकुमार पराजुलीको सहयोग लिएको पाइयो । योजना अनुसार बिममाया को नाममा पास गरिएको जग्गा मध्ये कित्ता नं.२८० (११७३५ वर्गमिटर) को जग्गा वडा अध्यक्ष किन्साङकाृ तर्फबाट कल्पना भोटे र सुरेन्द्रको तर्फबाट उनकै श्रीमती ङिमालाजुङ भोटेको नाममा संयुक्त रजिष्ट्रसन पास गरेको खुलेको छ । बिममायाको नाममा रहेको २७५(१८३० वर्गमिटर) को जग्गा पासाङ शेर्पाको नाममा पास गरेका छन् । पासाङको नाममा रहेको सोही जग्गा पुनः कर्मचारी पराजुलीको श्रीमतीको नाममा फाल्गुन १६ मा नामसारी भएको प्रहरीले जनाएको छ ।
वडा अध्यक्षले जग्गा पास गरिदिए वापत उक्त जग्गा आफुलाई दिएको पराजुलिएले बयानमा बताएको प्रहरीले जनाएको छ । कागजत लेखापढी गरे वापत अनिषलाई वडा अध्यक्षले नौ हजार रुपैयाँ दिएका थिए । कल्पनाको हकमा रजिष्ट्रसन पास लेखापढी व्यवसायी अनिषको नाममा वारेस पास भएको खुलेको छ । भोटखोला–२, ४ र ५ का बिभिन्न स्थानमा अपर अरुण जलविधुत् आयोजना(१०६८ मेघावार्ट) निर्माणका लागि अध्ययन भई जग्गा सर्वे तथा जग्गा प्राप्तीको कार्य भएरहेकाले उत्त जग्गा महंगोमा विक्रि हुने लोभले उनिहरुले उक्त जग्गा जालसाजी गरी पास गरेका हुन् । पक्राउ परेकाहरुलाई ठगी र किर्ते मुद्दा चलाउने प्रहरीले जनाएको छ ।






