शिक्षकले विद्यार्थीमाथि यौन दुर्व्यवहार गर्दा लेटाङ बन्यो रणभूमि

झडपमा महिला प्रहरीको मृत्यु, एस्पीसहित ३६ घाइते, कफ्र्यू आदेश जारी


विराटनगर । मोरङको लेटाङमा शिक्षकले विद्यार्थीमाथि यौन दुब्र्यवहार गरेको भन्दै आक्रोशित समूह र प्रहरीबीच आइतवार राती झडप हुँदा एक महिला प्रहरीको मृत्यु भएको छ । आक्रोशित स्थानीयबासीले छुरा प्रहार गर्दा प्रदेश प्रहरी गणमा कार्यरत महिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको हो ।

घटनामा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एस्पी जनार्दन जिसीसहित ३६ जना घाइते भएका छन् । घाइते हुनेमा २९ प्रहरी र ७ स्थानीय छन् । विराटनगरको कोशी अस्पताल र नोबेल शिक्षण अस्पतालमा उनीहरुको उपचार भइरहेको विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एस्पी नविनराज राईले जानकारी दिए । ‘झडपमा एक प्रहरीको मृत्यु भयो, प्रहरी र स्थानीयबासी गरी ३७ जना घाइते हुनुहुन्छ,’ एस्पी राईले भने, ‘धेरै जनालाई चोटपटक लागेको छ । त्यस्तो चिन्ताजनक अवस्था कसैको छैन ।’

लेटाङ नगरपालिका–५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक ५६ वर्षीय मनोज पौडेलले सोही विद्यालयकी १२ वर्षीया छात्रामाथि यौन दुब्र्यवहार गरेको भन्दै स्थानीयबासी आक्रोशित बनेका हुन् । लेटाङ नगरपालिका–३ घर भएका पौडेल निमावि तहको सामाजिक बिषयका शिक्षक हुन् । गत शुक्रबार होलीको विदाका दिन ती छात्राको घरमै पुगेर शिक्षक पौडेलले उनीमाथि दुब्र्यवहार गरेको घटना सार्वजनिक भयो । आइतवार सो बिषयमा स्कूलमा छलफल राखियो । घटनाको जानकारीपछि प्रहरी पनि शिक्षक पौडेललाई नियन्त्रणमा लिन स्कूलमै पुग्यो । तर, आक्रोशित विद्यार्थी र पीडित पक्षले शिक्षक पौडेललाई प्रहरीको जिम्मा लगाउँन मानेनन् । शिक्षक पौडेललाई प्रहरी कार्यालय लैजान खोज्दा आक्रोशित समूहले रोकेर उनलाई कालोमसो र जुत्ताको माला लगाउने अडान राख्यो । तर, प्रहरीले थप अप्रिय घटना हुन नदिनका लागि रोक्दा स्थिती तनाबपूर्ण बन्यो ।

आक्रोशित स्थानीयले शिक्षक पौडेलको २७ प १९२१ नम्बरको मोटरसाइकल जलाए । उनीहरुले विद्यालय र एउटा एम्बुलेन्समा पनि तोडफोड गरे । प्रहरीले शिक्षकलाई बचाउँन खोजेको भन्दै आक्रोशित स्थानीयबासी प्रहरीमाथि नै खनिए । दिनभर स्थिती तनाबपूर्ण रह्यो । अन्ततः साँझ प्रहरीले बल प्रयोग गरेर शिक्षक पौडेललाई लैजान खोज्दा लेटाङ रणभूमि बन्यो । स्थानीयबासी हिसांत्मक रुपमा आक्रमणमा उत्रिएपछि स्थिती नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड हवाई फायर र १५ सेल अश्रुग्यास प्रहार गरेको छ ।

स्थानीयले घाँटीसहित शरीरका बिभिन्न भागमा छुरा प्रहार गर्दा प्रहरी जवान श्रेष्ठ गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि अचेत अवस्थामा राती नै विराटनगरस्थित कोशी अस्पताल ल्याइयो । तर, उनको ज्यान बचेन ।

उदयपुर घर भएकी २६ बर्षीय उर्मिला २३ बर्षको उमेरमा २०७६ सालमा प्रहरी सेवामा प्रवेश गरेकी थिइन् । गत बर्षमात्र विवाह बन्धनमा वाँधिएकी उर्मिलाका श्रीमान र दाई पनि प्रहरी सेवामै छन् । मृतक उर्मिलाको शवलाई सोमबार दिउँसो कोशी अस्पतालमा पोष्टमार्टम गरी अन्त्येष्टिका लागि उदयपुर लगिएको छ । त्यसअघि कोशी अस्पताल परिषरमा प्रहरीले उनको पार्थिव शरिरमा श्रद्धाञ्जली अर्पण गर्दै शलामी दिएको छ । १ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी अरुण कुमार बिसीले मृतकको पार्थिव शरीरमा झण्डा ओढाए । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, डिआइजी बिसीसहित उच्चपदस्त प्रहरीहरुले उर्मिलाको पार्थिव शरीरमा फुलमाला चढाई श्रद्धाञ्जली अर्पण गरेका छन् ।

कफ्र्यू आदेश जारी

शिक्षकले विद्यार्थीमाथि यौन दुब्र्यवहार गरेको घटना पश्चात उत्पन्न परिस्थितीले उग्ररुप लिएपछि मोरङको लेटाङमा सोमबार विहानबाट कफ्र्यू आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले बिहान ७ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि लेटाङ क्षेत्रमा कफ्र्यू लगाएको हो ।

दक्षिणमा लेटाङ नगरपालिका वडा नं.३ र ४ को गंगेचोक र कमलपुर क्षेत्र, उत्तरमा लेटाङ–६ को वडा कार्यालय, पूर्वमा मोरङे खोला, पश्चिममा चिसाङ खोलासहित लेटाङ वडा नं.५ को सम्पूर्ण क्षेत्रमा कफ्र्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । घटनाले उग्ररुप लिएर लेटाङ क्षेत्र तनाबपूर्ण बनेकाले स्थिती नियन्त्रणमा लिन कफ्र्यू आदेश जारी गर्नुपरेको प्रशासनले जनाएको छ । कफ्र्यू आदेश जारी गरिएको क्षेत्रमा अत्यावश्यक काममा बाहेक मानिसहरु आवतजावत र भेला हुँन प्रतिवन्ध लगाइएको छ ।

‘उक्त घटना दोहोरिन नदिन र जनधनको थप क्षति हुनबाट रोक्न अत्यावश्यक सेवा बाहेक मानिस आवतजावत, भेला गर्न नपाउँने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ क बमोजिम अर्को आदेश नभएसम्मका लागि कफ्र्यू आदेश जारी गरिएको छ,’ प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जारी गरेको कफ्र्यू आदेशमा भनिएको छ, ‘यो आदेशको बर्खिलाप भएमा कानून बमोजिम कडा कारबाही हुँनेछ ।’

दोषीलाई कारबाही गरिन्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले मोरङको लेटाङमा प्रहरीको ज्यान जाने गरी भएको हिंसात्मक घटनाका दोषीलाई कानूनी कारबाही गर्ने बताएका छन् । सोमबार मोरङको सुन्दरहरैँचा नगरपालिकाको प्रशासनिक भवन उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै प्रधानमन्त्री देउवाले दोषीलाई कारबाहीको दायरमा ल्याइने बताएका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 515 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु