काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार कार्यभार सम्हालेका छन् । मन्त्रिपरिषद्को मंसिर १३ गतेको निर्णयानुसार घिसिङ सदस्य–सचिवमा नियुक्त भएका थिए । राखेपका तत्कालीन सदस्य–सचिव रमेशकुमार सिलवालले आफूलाई जिम्मेवारीमुक्त गरेको र नयाँ सदस्य–सचिव नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
सो रिटउपर मंसिर ३० गते न्यायाधीश हरि फुयाँलको एकल इजलासले सदस्य–सचिव नियुक्ति प्रक्रिया यथास्थितिमा राख्न अल्पकालीन आदेश जारी गरेपछि सदस्य–सचिव घिसिङ राखेपमा अनुपस्थित थिए । मन्त्रिपरिषद्को कात्तिक १ गतेको निर्णयले सदस्य–सचिव सिलवाललाई जिम्मेवारीमुक्त गरेको थियो । चैत २२ गते सर्वोच्चका न्यायधीशद्वय अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले सिलवालको रिट खारेज गरेपछि सदस्य–सचिव घिसिङलाई काममा फर्कन बाटो खुलेको हो । ३ महिना ३ हप्तापछि सदस्य–सचिव घिसिङ काममा फर्केका हुन् ।
कार्यभार सम्हालेपछि सदस्य–सचिव घिसिङले भने, ‘नेपाल खेलकुदका लागि यो अवधि सकसपूर्ण र पीडादायी भो । यसले खेलकुद क्षेत्रमा अपूरणयीय क्षति पुगेको छ । यो बीचमा नेपाली खेलकुद जति तीव्र रूपले अगाडि बढ्नुपर्ने हो त्यसमा अवरोध भएको छ । अब त्यो अवरोधलाई चिर्दै खेलकुदलाई चलायमान बनाउन अगाडि बढ्नेछु ।’ त्यसअघि राखेपका उपाध्यक्ष शिव कोइराला, निमित्त सदस्य–सचिव कुलबहादुर थापा, विभागीय प्रमुख, शाखा प्रमुख, खेलाडी, प्रशिक्षक, कर्मचारीलगायतले सदस्य–सचिव घिसिङको स्वागत गरेका थिए ।
थापाको राजीनामा
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का वरिष्ठ अधिकृत कुलबहादुर थापाले राजीनामा दिएका छन् । उनले घरायसी कारण जनाउँदै बुधबार राखेपमा राजीनामाको निवेदन दिएका हुन् । थापाले राखेपमा सदस्य–सचिवको अनुपस्थितिमा निमित्त सदस्य–सचिवको कार्यभार सम्हालेका थिए । थापालाई गत फागुन ४ गते युवा तथा खेलकुद मन्त्रालयले कार्यकारी अधिकारसहित निमित्त सदस्य–सचिवको जिम्मेवारी दिएको थियो ।
त्यसबेला तत्कालीन सदस्य–सचिव रमेशकुमार सिलवालको बर्खास्ती र नवनियुक्त सदस्य–सचिव टंकलाल घिसिङको नियुक्तिका सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा थापाले निमित्त सदस्य–सचिवको जिम्मेवारी पाएका हुन् । त्यसअघि थापा राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख थिए । करिब २६ वर्षअघि (२०५२ साल भदौ ८ गते) थापा राखेपमा अधिकृत तृतीय श्रेणीमा राखेप सेवामा प्रवेश गरेका थिए । थापाले राखेप मातहतका प्रशासन विभाग, खेलकुद विकास विभाग र खेलकुद प्रतियोगिता तथा योजना विभागमा प्रमुख भई कार्य गरेका थिए ।
प्रचारप्रसार शाखा, कर्मचारी प्रशासन शाखालगायत विभिन्न शाखामा पनि प्रमुख भइ काम गरेको अनुभव थापासँग छ । समारोह विज्ञका रूपमा परिचित अधिकृत द्वितीय श्रेणीका थापाले पाँचौंदेखि आठौं राष्ट्रिय खेलकुदको समारोह उपसमितिको महत्वपूर्ण जिम्मेवारीमा रही काम गरेका छन् । नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा थापाले समारोह निर्देशकको महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।






