सरकारको आह्वानपछि पनि हलमा दर्शक

काठमाडौं । शनिबार काठमाडौंको बालाजुस्थित गोपीकृष्ण मुभिज (सिनेमा हल)मा आधाभन्दा बढी दर्शक थिए । अहिले मुलुकमा कोरोना भाइरस पीडित नदेखिएको र आफूहरू सचेत रहेर सिनेमा हेर्न आएको दर्शकले राजधानीलाई बताए ।

काठमाडौं गोपीकृष्ण मात्र हैन, अन्य सिनेमा हलमा पनि शनिबार दर्शकको उपस्थिति राम्रै रह्यो । कोरोनाको सन्त्रासले केही दिन यताबाट सिनेमा हलमा दर्शकको उपस्थिति घटे पनि शुक्रबारबाट दर्शकको आगमनमा केही सुधार आएको हल सञ्चालकले राजधानीलाई बताएका छन् ।

बालाजु बाइपासको अष्टनारायण सिनेमा हल र ग्वार्कोको गुण सिनेमा हलमा पनि शनिबार दर्शकको उपस्थित अरू दिनको तुलनामा राम्रो रह्यो । तर, अधिकांश दर्शक मास्क लगाएर सिनेमा हलमा आएका थिए ।

यता कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै बिहीबार नेपाल सरकारले १९ वटा निर्णय गरेको थियो । यो निर्णयले सिनेमा हललाई पूर्णप्रभाव पार्ने डर हल सञ्चालकलाई थियो । किनकी १९औं नम्बरको निर्णयले नेपाली फिल्म क्षेत्रमा संकट उत्पन्न हुने अवस्था देखिएको थियो । १९औं नम्बरको निर्णयमा सरकारले ठूलो संख्यामा मानिसको भेला हुने सिनेमा हलमा नजान सबैलाई आह्वान गरेको थियो ।

सरकारले गरेको निर्णयमा यस्तो भनिएको छ, ‘कोरोना भाइरसको संक्रमणबाट जोगिन ठूलो संख्यामा मानिस भेला हुने सिनेमा हल, सभा समारोह, सामाजिक कार्य एवं मेला महोत्सव सहभागी नहुन आमजनसमुदायलाई आह्वान गरे । ’

यसरी सरकारले सिनेमा हललाई कोरोनाको जोखिम उच्च हुने स्थानका रूपमा हेरेको छ । सरकारले यो आह्वान गरेपछि सिनेमा हलमा दर्शकका संख्या निकै घट्ने डर हल सञ्चालकलाई थियो । तर, शुक्रबार र शनिबार सिनेमा हलमा दर्शक देखिएका छन् । शुक्रबारबाट नयाँ फिल्म अंग्रेजी मिडियम रिलिज भएको छ । यो सिनेमामा शनिबार मल्टी प्लेक्समा ६० प्रतिशतभन्दा बढी दर्शक देखिए ।

सिनेमा हलमा दर्शकको अवस्था’bout काठमाडौं चावहिलस्थित गोपीकृष्ण मुभिजका प्रबन्ध निर्देशक तीर्थ पौडेलले राजधानीसँग भने, ‘सरकारको आह्वानपछि दर्शक हलमा नआउने हुन कि भन्ने हामीलाई लागेको थियो । तर, त्यस्तो भएको छैन र दर्शक पूर्णसचेत भएर सिनेमा हलमा आउनुभएको छ ।’

उनले अगाडि थपे, ‘दर्शक पूर्णसचेतना अपनाएर सिनेमा हलमा आउनुभएको छ । नेपालमा कोरोना भाइरसका बिरामी देखिएको खण्डमा र सरकारले हल बन्द गर्न निर्देशन दिएको खण्डमा हामी सिनेमा हल बन्द गर्नेछौं ।’

हल सञ्चालकको संस्था नेपाल चलचित्र संघले अहिलेको अवस्थामा सिनेमा हल नै बन्द गर्नु नपर्ने बताएको छ । संघका उपमहासचिब गोपालकाजी कायस्थाले राजधानीसँग भने,‘गत पुष र माघ महिनाभन्दा सिनेमा हलमा दर्शकको उपस्थिति राम्रो छ । नेपालमा कोरोनाको संक्रमण देखिएको खण्डमा र सरकारको हल बन्द गर्ने निर्देशन आएको खण्डमा हामी तत्कालै बन्द गर्छौं र हामी दर्शकको स्वास्थ्यप्रति पूर्णसचेत छौं ।’ आफूहरूले दर्शकलाई सिनेमा हलमा आउँदा मास्क लगाएर पूर्णसुरक्षित भएर आउन आह्वान गरेको पनि कायस्थले बताए । स्वास्थ्य अवस्था ठिक नभएको, ज्वरो आएको बिरामी दर्शकलाई आफूहरूले गेटबाटै फर्काउने गरेको पनि उनले बताए ।

चलचित्र संघका निवर्तमान अध्यक्ष प्रदीपकुमार उदयले पनि मोफसलमा दर्शक पहिलाको तुलनामा घटे पनि सोचेजस्तो निराश हुनुपर्ने अवस्था नआएको बताए । बुटबलका द्वारिकाज सिनेमामा गत साता रिलिज भएको फिल्म बागी ३ मा शनिबार पनि दर्शकको उपस्थिति राम्रो रहेको उनले जानकारी गराए । नेपाली सिनेमा रिलिज नभएको अवस्थामा शुक्रबार रिलिज भएको अर्को हिन्दी फिल्म अंग्रेजी मिडियमभन्दा बागी ३ को व्यापारमाथि भएको पनि उनले बताए । कोरोनाप्रति आफूहरू सचेत रहेको र यसको बिरामी देखिनासाथ हल बन्द गर्न आफुहरू पछि नपर्ने पनि उनले जिकिर गरे ।

 

 

तपाइको प्रतिक्रिया
(Visited 185 times, 1 visits today)

epaper

ताजा समाचार

इलाममा ग्यास नपाएपछि पढाइ छाड्दै विद्यार्थी