खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले निर्माण गरेको चिल्ड्रेनपार्क भाडामा नलाग्दा उपयोग विहिन बनेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबजारको रत्नपार्कमा निर्माण गरिएको चिल्ड्रेनपार्क उद्घाटन गरेको वर्ष दिन बित्दा समेत भाडामा लाग्न सकेको छैन । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र नगरपालिकाको साझेदारीमा चार करोड ३७ लाख ८४ हजार ७५१ रुपैयाँको लागतमा निर्माण गरिएको सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्क २०७८ फागुन ३ गते उद्घाटन गरिएको थियो ।
व्यवसायीक प्रयोजनका लागि निर्माण गरिएको सपिङ कम्प्लेक्सको तल्लो तलामा १४ वटा सटर र माथिल्लो तलामा रेष्टुरेण्ट हल, विभिन्न स्टल सञ्चालन गर्न मिल्ने संरचना बनाइएको छ । सपिङ कम्प्लेक्सको माथिल्लो तलाको पछाडिपट्टि चिल्ड्रेनपार्क निर्माण गरिएको छ । चिल्ड्रेनपार्कमा केटाकेटी खेल्ने स्वीमिङ पुल, कोलम्वस राईड (पिङ), स्वीङराईड, पिङ, बगैंचा लगायतका संरचना तयार पारिएको छ ।
सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्कलाई पाँच वर्षका लागि भाडामा दिन नगरपालिकाले २०७८ साल फागुनमै न्यूनतम दुई लाख ९७ हजारको ठेक्का आव्हान गरेको थियो । त्यो बेला तल्लो तलाको सटरहरु भाडामा लाग्दा माथिल्लो तलाको चिल्ड्रेनपार्क, रेष्टुरेन्ट हल र पाँच वटा स्टलको ठेक्का हालसम्म लाग्न नसकेको मेयर तीर्थराज भट्टराईले बताए । भाडा दर घटाएर सुचना आव्हान गर्दा पनि व्यक्ति वा इजाजत प्राप्त फर्म, संस्था वा कम्पनी चिल्ड्रेनपार्क सञ्चालनमा इच्छुक नदेखिएको नगरपालिकाले जनाएको छ ।






