काठमाडौं । गायक रामकृष्ण ढकालले आफ्नो स्वरमा नयाँ गीत ‘नदी…’को भिडियो बजारमा ल्याएका छन् । यो गीतको भिडियो काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिएको छ । यो गीतलाई कार्यक्रममा गीतकार आनन्द अधिकारी, संगीतकार न्युह बज्राचार्य, पूर्व प्रधान सेनापति प्रज्ज्वल शमशेर जंगबहादुर राणा, सैनिक श्रीमती संघकी अध्यक्ष सुनिता शर्मालगायतले संयुक्त विमोचन गरे ।
विमोचित गीतमा सिन्धु राणाको शब्द, हरि लम्सालको संगीत रहेको छ । गीत देवेन्द्र नेवाले एरेन्ज गरेका हुन् । सागर ज्ञवालीको निर्देशनमा तयार गीतको भिडियोमा गायक रामकृष्ण स्वयंले पुनम भुषालसँग अभिनय गरेका छन् । जसमा नारायण जिसीको छायांकन, अमृत चापागाईँको सम्पादन छ । भिडियोलाई गायक रामकृष्ण ढकालकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
कार्यक्रममा गायक ढकालले आफ्नो नयाँ गीत नदी..र अन्य दुई गीत पनि सुनाए । गायक रामकृष्ण ढकालले ‘नदी’ आफूलाई हिजोका दिनमा चिनाउने धारको मेलोडिएर गीत भएको बताए, ‘म दर्शकलाई नचाउने, उफार्ने खालको गीत पनि गर्छु । योसुन्दा आनन्द आउने खालको मेलोडियस गीत हो,’ ढकालले भने ।
कार्यक्रममा भिडियो हेरेपछि गीतकार आनन्द अधिकारीले स्रोताले रामकृष्ण ढकालको शैलीको जस्तो गीत सुन्न चाहन्छन, नदी गीत त्यस्तै बनेको छ भने । संगीतकार न्युह बज्राचार्यले पनि आफूले धेरैपछि सुन्ने शैलीको यो गीत पाएको बताए, ‘कतिपयले गीत नाच्ने खालको भएन् भन्छन् । तर, गीत सुन्ने हो भन्ने लाग्छ । गीत कानले सुनेर आनन्द लिने हो ।’






