सप्तरीको महादेवा गाउँपालिकामा मामाघर गएकी १३ वर्षीया बालिकाले विष सेवन गरेर आत्महत्या गरेकी छन् । तीन दिनअघि मात्रै सोही जिल्लामा एकै दिन तीनजनाले आत्महत्या गरेको घटना सार्वजनिक भएको थियो । दिनैपिच्छे आत्महत्याका घटना घट्दै जानु गम्भीर समस्या हो । आत्महत्या व्यक्ति स्वयंको निर्णयमा हुने भए पनि यस्ता घटनाले परिवार, समाज, समुदायमा समेत शोक, आघात, क्रोध, अपराध, चिन्ताका लक्षणहरू वृद्धि हुने र यस्ता घटना दोहोरिरहने भएकाले यस विषयलाई गम्भीर रूपमा लिएर समयमा नै उपचार खोजिनुपर्छ ।
राजविराजमा नै पछिल्ला तीन महिनामा ३१ जनाले आत्महत्या गरेको घटना सार्वजनिक भएको छ । एउटा जिल्लामा महिनामा १० वटा आत्महत्याका घटना घट्नु अत्यासलाग्दो तथ्य हो । अन्य जिल्लाहरूमा समेत पछिल्लो समय आत्महत्याका घटनामा वृद्धि भएको तथ्य सार्वजनिक भएको छ । तर, किन यस्ता घटना बढिरहेका छन् ? यस विषयमा सम्बन्धित निकायले चासो दिएको पाइँदैन । आत्महत्याको घटना घटिसकेपछि बेरोजगारी, आर्थिक समस्या, पारिवारिक तनाव भनेर आफूखुसी व्याख्या गर्ने चलन छ । पछिल्लो दिन आत्महत्याको ग्राफ किन यसरी बढिरहेको छ भन्नेमा अहिलेसम्म राम्रोसँग अध्ययन नै भएको छैन ।
त्यति मात्रै होइन आत्महत्या गम्भीर समस्या हो भन्नेमै कतिपय व्यक्ति गम्भीर छैनन् । कोरोनाको माहामारीपछि मानसिक समस्या महामारीका रूपमा आउने प्रक्षेपण विभिन्न प्रतिवेदनले उल्लेख गरिसकेको छ । तर, नेपालले त्यस विषयमा खास चासो राखेको छैन । मानसिक समस्या, आत्महत्याजस्ता विषयमा सामान्य अध्ययनले निष्कर्षमा पुग्न सकिँदैन । नेपालले पनि किन भइरहेछ भनेर अध्ययन त गर्नुपर्छ तर तत्काल के गरेर यस्ता घटनामा कमी ल्याउन सकिन्छ भन्नका लागि डब्लूएचओलगायतका संघसंस्थाले अध्ययन गरेर सार्वजनिक गरेका प्रतिवेदनहरू हेरेर तिनै प्रतिवेदनका आधारमा पनि आंशिक कार्यक्रम बनाउन सकिन्छ ।
नेपालमा आत्महत्याको घटनाले भयावह रूप लिँदै छ भन्नका लागि विभिन्न जिल्लामा घटेका घटना नै काफी छन् । किन के कारणले यस्ता घटना भइरहेको छ ? भनेर खोजी गर्न जरुरी छ । सामान्यतय मानसिक समस्याकै कारण हो, मान्छे आत्महत्याको निर्णय लिन बाध्य हुने । मानसिक समस्याले मान्छे किन यति धेरै ग्रस्त भए ? यस’boutमा खोजी गरिनुपर्छ । नेपाली समाजले आत्महत्याका घटना घट्ने बित्तिकै गरिबी, बेरोजगारीका सन्दर्भ जोड्ने गरेको छ ।
यो मात्रै मुख्य कारण हुँदै होइन । मानिसलाई आत्मसन्तुष्टिका लागि योग, ध्यानमा जोड्नु जरुरी छ । आफ्ना कतिपय मौलिक संस्कार भुल्दै गएको नेपाली समाज अहिले मानसिक रूपमा विचलित छ । हामी अत्यधिक भौतिकवादी समाजमा बाँचिरहेका छौं । जसका कारण आस्था, आशा, भरोसा, स्वयंसेवाको विषय गौण भएको छ । फलस्वरूप मानसिक समस्याहरू वृद्धि भइरहेका छन् । त्यसैले, यसका लागि विद्यालय तहदेखि नै मनोपरामर्शको अनिवार्य व्यवस्था गर्ने, संस्कृति र नैतिक शिक्षालाई प्राथमिकता दिनेतर्फ सरकारको ध्यान केन्द्रित होस् । यदि, यसलाई बेवास्ता गर्दै गएका खण्डमा आत्महत्याले महामारीको रूप लिन नसक्ला भन्न सकिँदैन । त्यसैले, बेलैमा सचेत होऔं ।






