काठमाडौं । उच्च अदालत पाटनले बूढानीलकण्ठ ‘हिट एन्ड रन’ प्रकरणमा पृथ्वी मल्ललाई दोषी ठहर गर्दै चार वर्ष कैद र ४० हजार जरिमाना गर्ने फैसला सुनाएको छ । जिल्ला अदालतले मल्ललाई दोषी ठहर गरे पनि ६ महिना मात्रै कैद सजाय सुनाएको थियो । जिल्ला अदालतको फैसला उल्टाउँदै उच्चले आइतबार मल्ललाई चार वर्ष कैद सजाय निर्धारण गरेको हो ।
न्यायाधीशद्वय राजेन्द्र घिमिरे र जगदीश खरेलको इजलासले सवारी ज्यान मुद्दामा मल्ललाई कसुरदार ठहर गर्दै यसअघि गरेको ६ महिना कैदको फैसला बदर गर्दै सजाय थप गरेको हो । काठमाडौं जिल्ला अदालतले बूढानीलकण्ठको हिट एन्ड रन मुद्दामा पृथ्वी मल्ललाई मादकपदार्थ सेवन गरी सवारी चलाएर लापर्बाहीपूर्ण रूपमा पैदल यात्रीलाई ठक्कर दिएर ज्यान लिएको अभियोगमा दोषी ठहर त गरेको थियो तर मागदाबीभन्दा अघि बढेर अर्कै दफामा टेक्दै ६ महिना कैद हुने फैसला सुनाएको थियो ।
बूढानीलकण्ठ ‘हिट एन्ड रन’ प्रकरणमा
२०७८ चैतमा जिल्ला न्यायाधीश सूर्यप्रसाद अधिकारीको इजलासले उनलाई पुर्पक्षका क्रममा थुनामा बसेको अवधि बराबर हुनेगरी सजाय सुनाएको थियो । २०७६ मंसिर २८ गते सडकपेटी हिँडिरहेकी ४० वर्षीय लीला देवकोटालाई मल्लले चलाएको कारले ठक्कर दिँदा मृत्यु भएको थियो । सो मुद्दामा यसअघि काठमाडौं जिल्ला अदालतले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ को उपदफा ३ बमोजिमको कसुर गरेको भन्दै ६ महिना कैद र २ हजार रुपैयाँ मात्रै जरिमाना गरेको थियो ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ को उपदफा ३ मा ‘कसैको ज्यान मर्न सक्छ भन्नेजस्तो नदेखिएको अवस्थामा कसैले कुनै सवारी चलाउँदा सवारी दुर्घटना हुन गई सवारीमा रहेको वा सवारीबाहिर जुनसुकै ठाउँमा रहे बसेको कुनै मानिसको मृत्यु हुन गएको रहेछ भने त्यसरी सवारी चलाउने व्यक्तिलाई एक वर्षसम्म कैद वा २ हजार रुपैयाँसम्म जरिमाना वा दुवै सजाय हुनेछ’ भन्ने व्यवस्था गरिएको छ ।
सरकारी वकिलले मल्लको मुद्दामा जिल्ला अदालतको फैसला त्रुटिपूर्ण भएको भन्दै उच्च अदालतमा पुनरावेदन गरेका थिए । मुलुकी फौजदारी संहिताअनुसार तीन वर्षभन्दा धेरै सजाय हुने मुद्दामा दोषी ठहर गर्ने र सजाय निर्धारण अलगअलग हुने अभ्यासअन्तर्गत फैसला भएको करिब एक महिनापछि सजायको फैसला सुनाएको हो ।
अभियोगपत्रमा मल्ललाई १० वर्ष कैद र सोहीअनुसार जरिमाना हुनुपर्ने मागदाबी गरिएको थियो । तर, जिल्ला न्यायाधीश अधिकारीको एकल इजलासले आंशिक दाबी पुग्ने फैसला सुनाउँदै उन्मुक्ति दिएको थियो । यो फैसलालगत्तै अधिकारी न्यायपरिषद् छानबिनमा तानिएका थिए ।
फैसलामा चालकले लापर्बाहीपूर्वक सवारीसाधन चलाएको कुरा आंशिक मात्र पुष्टि भएको उल्लेख थियो । यो मुद्दामा सरकारी पक्षले भवितव्य नभई जानाजान ज्यान मार्ने कार्य भएको दाबी गरेको थियो । तर, फैसला गर्दा न्यायाधीशले भवितव्यमा रूपान्तरण गरेर सजाय तोकेपछि विवाद भएको थियो । उनको उमेर हदका कारण अवकाश भइसकेको छ ।
के थियो घटना ?
काठमाडौं गोठाटार घर भएका पृथ्वी मल्ल अध्ययनका लागि अमेरिका बस्दै आएका उनी नेपाल केही समयका लागि बिदामा आएका थिए । २१ वर्षीय पृथ्वी मल्ल २३ मंसिर २०७६ मा स्वदेश फर्केका थिए । त्यसको तीन दिनपछि २७ मंसिरमा उनी आफैंले बा१४च ६१२३ नम्बरको कार चलाई साथी करिश मास्केलाई लिएर नक्साल नारायणचौरमा जिम गर्न पुगेका थिए । त्यहाँ केही समय बिताएर उनी बालुवाटारमा रहेको पलञ्चे गार्डेनमा गएर रेस्टुरेन्टमा गएर खाना खाए ।
त्यहाँबाट रातको साढे १ बजे एलओडी क्लबमा पुगे । त्यसपछि बिहान साढे ४ बजे ठमेलस्थित सेनेठ क्लबमा करिशका दुई जना केटी साथी परमिता राणा र मनीषालाई लिएर त्यहाँबाट बूढानीलकण्ठको ग्रिनभ्याली रिसोर्टमा पुगे । मदिराले मातिएका मल्लले त्यहाँ गएर पनि निरन्तर मदिरा सेवन गरेकाले उनीहरू चढेको कारले त्यहाँबाट पुनः घरतर्फ फर्किंदा सडकको विपरीत दिशामा फुटपाथमा हिँड्दै गरेकी लीला देवकोटालाई ठक्कर दिएर ज्यान लिएको थियो ।
प्रहरीमा मल्लले रातभरको अनिद्राले झ्याप्प निदाएपछि आफूले चलाएको कार अनियन्त्रित भई सडकको पल्लोछेउमा हिँडिरहेकी बटुवालाई ठक्कर दिन पुगेको बयान दिएका थिए । यसरी पल्लो पेटीमा रहेको व्यक्तिलाई ठक्कर दिएर हत्या गरेको घटनालाई गम्भीर रूपमा लिँदै मुद्दा दायर भएर पुर्पक्षको बहसका क्रममा थुनामा पठाइएको थियो ।






