भानुभक्तको सम्झना र वर्तमान

असारे भाका रोपाइँको जोशसँगै हामी आइपुगेका छौं, भानु उत्सव मनाउन । २९ असार भानु जयन्तीको सेरोफेरोमा नेपाली साहित्यमा हामीले भानुभक्तको जति चर्चा गरे पनि कम नै हुन्छ । दुई थुँगा पूmल र दुई–चार शब्दले आदि कवि भानुभक्तको सम्झना गरेर हाम्रो काम त कसरी पूरा होला र ? जीवनभर नेपाली भाषाको सेवा र साधना गर्ने भानुभक्तका समयमा आजको जस्तो सुविधा, साधन र सञ्चार थिएन । तैपनि, रामायणजस्तो गहन संस्कृत साहित्यलाई नेपालीमा उल्था गरेर भानुभक्तले नेपालीहरूका जनजिभ्रोसम्म पु¥याउन जे प्रयत्न गरे, त्यो निकै सराहनीय थियो र छ । हरेक देशको आप्mनै राष्ट्रियता हुन्छ, राष्ट्रियताका मूल चार खम्बा हुन्छन् । ती भनेका देशका आफ्नै धर्म, संस्कृति, भूगोल र भाषा नै हुन्, जुन हामी अहिले बिस्तारै बिर्संदै छौैं ।

मानिसलाई प्रेरणाको आवश्यकता पर्छ । एउटा घाँसीले भानुभक्तलाई ऊर्जा दियो । घाँस बिक्री गरेर कुवा खनाउने व्यक्तिको प्रेरणाले भानुभक्त कवि भए र भने ‘भर्जन्म घाँसतिर मन् दिई धन् कमायो, नाम् क्यै रहोस् पछि भनेर कुवा खनायो, घाँसी दरीद्र घरको तर बुद्धि कस्तो, मो भानुभक्त धनी भइकन आज यस्तो ।’

आदिकवि भानुभक्तले अध्यात्मको गहिरो अध्ययन गरे । अध्यात्म रामायणका मूल लेखक त स्वयं श्री शिव नै हुन् । शिवको आदिम क्षेत्र नेपालमा रहनेहरूका लागि सगरमाथामा पहिलो घामको झुल्का झुल्केझैं अध्यात्मको खोजी यहीँबाट हुनुपर्नेमा दुईमत रहेन र त पश्चिमाहरू यहाँ आउन लालयित देखिन्छन् । अध्यात्ममा संसार छ, शरीर छ, हाम्रो जीवनी छ, भौतिकवाद जो विज्ञान छ । त्यो पनि अध्यात्मलाई सँगसँगै लिएर अगाडि बढ्दा सुनमा सुगन्ध हुन्छ, नत्र लँगडो । सृष्टिको उषाकाल वेदबाटै त सुरू हुन्छ, रामायणको मूल जरो त वेद नै हो, जहाँ संसार अटाउँछ ।

हिन्दूत्वको जन्म पनि यसैबाट भएको हो, संहिता, अरण्यक, उपनिषद्, अठारै पुराण, रामायण, महाभारतदेखि समग्र वैदिक, लौकिक वाङ्मय, पालि साहित्य वेद राशिकै त उपज हुन् । तिनकै शाखा प्रशाखाबाट पल्लवित् छन् । भाषाको दृष्टिले संस्कृत, पालि, प्राकृत हुँदै समग्र एसिया महाद्वीपका र युरोपेली परिबारका भाषाका शाखा प्रशाखामा पैmलिँदै आएका छन् । हिब्रु, ल्याटिन, आजका कम्प्युटरका अंग्रेजी भाषाका जननी त संस्कृत भाषा नै त हो । हामीले पूर्वज, अग्रज, चिन्तकहरूलाई बिर्सेर कोठाभित्रै विज्ञानको बत्ती बलेको सम्झी त्यसको स्रोत पानी अध्यात्मको खोजी नगरेर, त्यो आँखाले देख्ने प्रयास नगरेर हो । साँच्चै विज्ञानको बिजुलीको तारमा आँखाले करेन्ट देखिँदैन, अनुभूति मनले गर्ने हो ।

कवि भानुभक्तले रामायण नेपाली भाषामा उल्था गरेर नेपाली भाषाको एकीकरण गरे

भाषाको अध्ययन गर्दा यसका चार प्रकार तत्सम, तद्भव, अपभ्रंश र स्थानीय देखिएका छन् । सबैको मूल तत्सम संस्कृत नै हो, जहाँ धर्म, संस्कृति, संस्कार पनि जोडिएको हुन्छ, वरत्र र परत्रको चर्चा हुन्छ, जीवन र जिउने कला पनि हुन्छ, यसमा । भौगोलिक भेदले अन्तर हुनु स्वाभाविक हो । व्यापक अनुसन्धान गर्ने क्रममा प्रसिद्ध पाश्चात्य विद्धान् मेक्समूलरले समेत यसलाई स्विकारेको देखिन्छ । कवि भानुभक्तले यसलाई बुझेर नेपाली भाषाको एकीकरण गर्ने प्रयास गरे, नेपाली जनजीवनमा नैतिकता, इमान्दारिता, निष्ठा, सच्चरित्रताको संकेत गर्ने रामायणको पाठ पढाए, परिवारमा पति, पत्नीको प्रेमभाव, दाजुभाइको सम्बन्ध, पितृ आज्ञा भनौं परिवारमा हुनुपर्ने सबै गुण देखाइदिए । आधुनिक समाजको उच्छृंखल भीडमा बधु शिक्षाको बाढी नअटाए पनि तत्कालीन परिवेशमा त्यो असहज थिएन । समयको भेलसंगै विषयवस्तुहरू परिवर्तन हुँदै जानु स्वाभाविक हो । हो, पवित्र मनसायले गरिएका सबै कर्म अनन्तसम्म अमर नै हुन्छन् । भक्ति अनि वेदान्तको रस चखाउनु सजिलो काम थिएन र पनि उनले जे प्रयास गरे उनका अनुयायीले पछि त्यसमा खाँमा, खम्बा जोड्दै गए र त हामी त्यसमा फलेको वृक्षबाट फल चाख्न पुगेका छौं, आज ।

स्वभावैले कलियुगका मानिसहरू धर्म, कर्मप्रति बेवास्ता राख्छन् । खान मात्रै जन्मिएका प्राणी पशुपन्छीजस्तो हुँदै होइन मान्छे, उसले त ‘स्व’को खोजी, स्वाध्याय, इहलोकको सुखका साथै परत्रको मोक्षको पनि उपाय खोज्नुपर्ने हुन्छ र भक्ति साहित्य, वेदान्तको दर्शन त्यो पनि जीवन दर्शनसँग प्रत्यक्ष सरोकार राख्ने रामायणको खोजी गर्नुपर्ने हुन्छ । रामायणको गहन खोजी गर्ने व्यक्ति अधार्मिक हुनै सक्तैन । जसले रामायणका विषयमा कलम चलाउँछ, ऊ स्वयं कवि बनिहाल्छ, स्रष्टा, साहित्यकार बनिहाल्छ, यसमा कला साहित्य छ र त यसको अध्येता स्वयं कलाकार भइहाल्छ । कलिका मानिस खासगरी अल्प बुद्धिका, अज्ञानी हुन्छन्, विषयाशक्त र काम लम्पट हुन्छन्, मानको भोको, दुव्र्यसन र मदिरामा व्यस्त हुन्छन् । र त नीतिले भनेको छ, सकेसम्म काव्य शास्त्रमै लागेको व्यक्ति पवित्र हुन्छ अर्थात् खोलाझैं बगिरहने समयलाई काव्य शास्त्रको अध्ययनबाट बग्न दिनुपर्छ । लोकहित हेतु अनवरत प्रयत्नशील हुनुपर्छ र भानुभक्तको रामायण नै ‘एक दिन नारद सत्यलोक पुगि गया लोकको गरौं हित भनी’ भनेर सुरू हुन्छ । हरेक व्यक्तिको उत्साह र प्रगतिमा उसले पाएको संगति र प्रेरणा बलियो हुन्छ । तनहुँका घाँसीबाट प्रेरणा पाएका भानुभक्तले जीवन अमर गराउनसके ।

घाँस बिक्री गरेर कुवा खनाउने घाँसी एकजना व्यक्तिको प्रेरणाले भानुभक्त कवि भए

रामायणमै रामगीता तयार हुन्छ, जो हरमानवको अमूल्य निधि बन्न पुग्छ । यसैमा लक्ष्मण गीता तयार हुन्छ, जुन ज्ञान र विज्ञानले भरिपूर्ण हुन्छ । रामगीताको माहात्म्य स्वयं शंकरजी मात्र जान्न सक्नुहुन्छ, हामीजस्ता असहाय जीवको के प्रयास हुन्छ र ? संसारमा जिन्दगीभर घुमेर, खोजेर नपाइने विषय रामगीतामा पाइन्छ । संसारकै कष्ट र पापनाशक छ, यो । रामगीता सम्पूर्ण मानवको सर्वस्व हो । स्वयं माता पार्वतीले पनि रामगीताको अध्ययन गर्ने प्रयास गरेको शास्त्रीय मान्यता छ । खराब बोल्दा, खराब खाना खाँदा, खराब दान लिँदा, दिँदा जुन पाप भोग्नु पर्छ, तुलसीबाट वा शालिग्राम शिलासामु बसेर एक आवृत्ति रामगीताको पाठ गर्दा यी सबै पापरहित हुन्छ, व्यक्ति । त्यति मात्रै होइन दुस्वप्न, कष्ट, पितृ श्रापबाट समेत मुक्ति पाउँछ, धनीमानी हुन्छ, कुशल व्यवस्थापक, कुशल सञ्चारकर्मी, कुशल उद्यमी, राष्ट्रसेवक र देशकै कुशल नेतृत्व लिन चाहनेले रामगीताको अध्ययन, चिन्तन र मनन गर्नुपर्छ । विधर्मी भएपछि समस्याको ओइरो त आइलाग्छ नै ।

अध्यात्म सागरमा डुब्दा भेटिन्छ, अथाह ज्ञान । अध्यात्मक्षेत्रमा संसार छ, अथाह ज्ञानको भण्डार छ । बुद्धि र चिदाभासको ऐक्य भन्नु नै जीव हो, हामी हौं । बुद्धिको साक्षी ब्रह्म हो, निर्विकार पूर्णआत्मामा अज्ञानताले गर्दा सम्पूर्ण प्रपञ्च भएको हो । हिरण्यगर्भ ईश्वरको शरीर हो, यो विराटमा संसार हो भने सूक्ष्ममा शरीर, स्थूल शरीर बाहिरी आँखाले देखिन्छ, भोक प्यासको हुन्छ । भित्री अर्को शरीर कारण शरीर हो । त्यो आत्मा हो देखिँदैन, सूक्ष्मदर्शक यन्त्रले पनि । तर, त्यो बिना अन्य शरीरको कुनै काम आउँदैन । आत्मा र मनको आवरण भएर बाह्य शरीर बसेको हुन्छ । जन्मने र मर्ने हुन्छ, आत्मा अमर तर साक्षीस्वरूप हुन्छ । देखिने विभिन्न लोकालोकहरू ईश्वरका अंगहरू हुन् ।

पैताला पाताल हो भने गोलीगाँठो रसाताल, दुई घुँडा तलातल, जाँघ सुतल, कम्मरमुनिको भाग वितल, अतल र सम्पूर्ण पृथ्वी कम्मर, नाइटो भूर्लोक, छाती स्वर्गलोक, घाँटी महलोक, मुख जनलोक, ललाट तपोलोक, मस्तिक सत्यलोक, हातहरू इन्द्रादि लोक्पाल, कान दिशाहरू, सूर्य आँखा, चन्द्रमा मन, काल भू्रविलास, बुद्धि वृहस्पति, रूद्र अहंकार, वेद बोली, यम दाह्रा, नक्षत्र दन्तपंक्ति, मोहिनी माया मुस्कान, सृष्टि कटाक्ष, धर्म शरीरको अग्र भाग, अधर्म यसको पछिल्लो भाग, सात समुद्र कोखको भाग, नदीहरू नाडीहरू, निमेष आँखा उघार्नु, चिम्लनु दिन र रात, रौंहरू वृक्ष र वनौषधि, वीर्य वर्षा आदि । विराट ईश्वरमा जे छ, सूक्ष्म मानव शरीरमा पनि त्यही छ, आवश्यता छ केवल पहिचानको । यही बुझेर महाकवि देवकोटाले भने ‘हाडहरूका सुन्दर खम्बा मांसपिण्डका दिवार, नसा नदीका तरल तरंग मन्दिर आफैं अपार, कुन मन्दिरमा जाने यात्री कुन मन्दिरमा जाने हो ? कुन देवताको पूजा गर्ने साथ कसोरी लाने हो ? भानुजयन्तीको पावन अवसरमा शब्द पुष्पाञ्जली यति नै अस्तु परिपूर्णम् ।

तपाइको प्रतिक्रिया
(Visited 207 times, 1 visits today)

epaper

ताजा समाचार

१४ बैशाख २०८३