वादी समुदायलाई रोगभन्दा भोकको चिन्ता

दैलेख । ज्याला मजदुरी गरेर जीवनयापन गर्दै आएका वादी समुदायलाई रोगभन्दा पनि भोकको चिन्ताले सताउने गरेको छ । ट्रक, ट्याक्टर मिनिट्रकमा समान लोड अनलोड गरेर जहान परिवार पाल्दै आएका बादी समुदायमा कोरोना त्राससँगै लकडाउन हुँदा बिहान बेलुका के खाने भनेर चिन्ता बढेको हो ।

मजदुरी गरेर चार जनाको परिवार पाल्र्दै आएकी नमुना बस्तीकी तारा बादीलाई रोगभन्दा पनि भोकको चिन्ता लागेको बताइन् । ‘हामी साहुको महाजनकहाँ काम गरेर खाने मान्छे छोराछोरीले भोक लाग्यो भन्छन् । खाने गाँस छैन । केही दिन त आफन्तबाट पैँचो चामल ल्याएर खुवाए,’ उनले भनिन्, ‘हामीले त घरबाट बाहिर काममा नगए छोराछोरी भोकै रहन्छ । कसरी पाल्ने ?’

लकडाउनसँगै बजार बन्द हुँदा बादी समुदायले काम गर्न नपाएपछि छाक टार्न समस्या भएको कलम बादीले बताए । ‘बजार खुला हुँदा साँझ बिहान काम गरेर १ किलो चामल ल्याउँथ्यौं,’ उनले भने, ‘बजार बन्द भएपछि काम नहुँदा हामी गरिबलाई कसैले उधारो दिँदैन । काम गरेर तिर्छौं भन्दा दिन्थे, काम नहँुदा पत्याउदैन ।’

तारा र कलम मात्र होइनन्, ६० वर्षीया धनकला बादीको पनि उस्तै पीडा छ । बजार खुला हुँदा बजारमा आएका मालवाहक गाडीमा समान झारेर दैनिक २ सय देखि ५ सय कमाउने उनी अहिले बिहान खाए बेलुका के खाने भन्ने चिन्तामा हुन्छिन् ।

विश्वव्यापी फैलिएको कोरोना भाइरसबाट बच्न मुलुकभरि लकडाउन लगाउँदा प्रत्यक्ष मारमा ज्याला मजदुरी गरेर जीविका चलाउने परिवारमा परेको पत्रकार कृष्णबहादुर अधिकारीले बताए । मजदुरी गरेर खाने समुदायले कसरी परिवार पालेका होलान् ? एक त उनीहरूसँग बचत पैसा हुँदैन । अर्को बचत भए पनि सदरमुकाम सुनसान छ । दैलेखको नारायण नगरपालिकाको गणेश चोकनजिकै बसोवास गरिरहेका यो समुदाया दोहोरो मारमा परेको सोही समुदायका अगुवा पवा बादीले बताइन् ।

नमुना बस्तीका वादी समुदायलाई नारायण नगरपालिकाले राहत वितरण गर्ने तयारी गरेको नगरप्रमुख रत्नबहादुर खड्काले जानकारी दिए । ‘हामी लगत संकलन गरिसकेका छौं,’ उनले भने, ‘एक दुई दिनभित्र नै त्यो समुदायले राहत पाउँछ । भोकै बस्नुपर्देन ।’

तपाइको प्रतिक्रिया
(Visited 223 times, 1 visits today)

epaper

ताजा समाचार

बलिङ चम्किँदा यूएईमाथि नेपालको ३७ रनको जित