कपिलवस्तु । स्वदेशमा रोजगारी नपाएपछि विदेश गएका कपिलवस्तुको वाणगंगा नगरपालिका–४ का एकराज अधिकारीले अजरबैजान र भारतको विभिन्न स्थानका होजियारी उद्योगमा २५ वर्ष काम गरे । त्यसपछि उनको मन विदेशी भूमिमा रम्न सकेन र फर्किए आफ्नै देश । स्वदेश फर्किएपछि पनि उनी चुप लागेर बसेनन् । विदेशी भूमिमा जानेको सिप आफ्नै देशमा प्रयोग गर्ने सोचाइ बनाए । र, बराह होजियारी उद्योग दर्ता गरी काम सुरु गरे ।
‘अर्काको मुलुकमा काम गर्नुभन्दा स्वदेशमै उद्यम गर्ने सोच आयो,’ एकराजले भने, ‘विदेशी भूमिमा लामो समयसम्म सिकेको सिप र अनुभव आफ्नै ठाउँमा सदुपयोग गर्न भाइ खिमलाल अधिकारीसँग मिलेर उद्योग खोलें ।’
अधिकारी दाजुभाइले २०७३ सालमा उद्योग दर्ता गरे । त्यसको दुई वर्षपछि मात्रै उनीहरूले मोजा उत्पादन सुरु गरे । सो उद्योगले सुरुवाती चरणमा तीनवटा उपकरण प्रयोग गरी दैनिक ६० दर्जन मोजा उत्पादन ग¥यो । उत्पादन कम तर खर्च बढी भएपछि १३ वटा मेसिन थपे उनीहरूले । अहिले सो उद्योगले रामै्र गति लिएको छ । वैदेशिक रोजगारीको मोह छोडेका एकराज अहिले स्वदेशमै आफ्नै उद्यममा जमेका छन् । अधिकारी दाजुभाइको सो उद्योगले स्थानीय २० जनालाई पनि रोजगारी दिएका छन् ।
त्यसो त एकराजमा विषयगत दक्षता भए पनि उत्पादित सामान बिक्री गर्न उनलाई धौधौ भयो । बिक्रीका लागि सामान बजार पु¥याइए पनि कसैले चासो दिएनन् । नाइक, एडिडासजस्ता विदेशी नाम भए बिक्री गर्न सजिलो हुने भन्ने व्यापारीको भनाइले त उनी थप चकित भए ।
‘विदेशी ट्याग लगाए मात्र नेपालीले किन्ने रहेछन् । त्यसपछि हामीले ‘बिएचयु’ नाम राखेर बेच्न थाल्यौं,’ एकराजले भने, ‘उद्योग सुरु गरेको दुई वर्षसम्म बेच्न सकस भए पनि त्यसपछि भने केही सहज भयो ।’
ग्राहकले विदेशी नाम रोज्ने, व्यापारीले महँगोमा बेच्न सक्ने भएकाले गुणस्तरीय नेपाली ब्रान्ड ओझेलमा परेको उनको अनुभव छ ।
डेढ करोड रुपैयाँको लागतमा कोरियन प्रविधि (निटिङ सक्स मिसिन)को प्रयोग गरी अधिकारी दाजुभाइले बराह होजियारी उद्योग सञ्चालन गरेका हुन् । भारतको होजियारी उद्योगमा फोरम्यान (सुपरभाइजर) भई काम गरेको अनुभव स्वदेशमा प्रयोग गरेको खिमलाल अधिकारीले बताए ।
स्वदेशी उत्पादन भनेपछि व्यापारीले खरिद गर्न आनाकानी गर्दा दुई वर्षसम्म बजार नपाएको एकराजले बताए । बजारमा विदेशी नाम राखेका उत्पादन ग्राहकले रोज्दा तीभन्दा गुणस्तर नेपाली ब्रान्डले पहिचान नपाएको खिमलालले बताए । उनले आफ्नो नामको ट्रेडमार्क दर्ता गर्ने तयारीसमेत भएको बताए ।
उत्पादित मोजालाई लुम्बिनी प्रदेशलगायत अन्य ठुला सहरमा समेत पठाउने गरेको उनीहरूको भनाइ छ ।
१६ वटा मेसिनबाट दैनिक ४ हजार जोर मोजा उत्पादन गर्ने सो उद्योगको क्षमता रहेको छ । आर्थिक मन्दी र भारतबाट अवैध रूपमा मोजा भित्रिँदा त्यसको असर सो उद्योगमा पनि परेको छ । त्यसैले दैनिक क्षमताभन्दा आधा २ हजार जोर मोजा उत्पादन गरिएको एकराजको भनाइ छ ।
उद्योगबाट स्पोर्ट, अफिसियल, नेपाली सेना, विद्यालय, फ्ल्याट, एंगल, हाफ एंगल, लेडिज, ट्रेकिङ् गरी १५ थरीमा मोजा उत्पादन भएको खिमलाले बताए । आफ्नो कम्पनीबाट उत्पादन भएका मोजा १ सातासम्म प्रयोग गर्दासमेत दुर्गन्ध नआउने उनीहरूको दाबी छ ।
कामको खोजीमा बिदेसिनेलाई स्वदेशमै उद्यम गर्न अधिकारी दाजुभाइको सुझाव छ । ‘विदेशमा अर्काको काम गर्नुभन्दा स्वदेशमै आफ्नै उद्यम गर्नु उपयुक्त छ,’ उनले भने, ‘सरकारले तालिम, बजार व्यवस्थापन तथा स्वदेशमै उद्यम गर्ने युवालाई सहुलियत ब्याजमा ऋण उपलब्ध गराए धेरै सहज हुने थियो ।’
‘लगानी नहुँदा बैंकबाट ऋण लिनुपर्छ, त्यसमा ब्याजदर चर्को हुनाले समस्या हुने गरेको छ,’ उनले भने, ‘कम ब्याजमा ऋण पाइए युवा लगानी गरेर स्वदेशमै रोजगारीसँग जोडिन सक्थे ।’






